काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको फ्रेन्चाइज क्रिकेट टोली काठमाडौं गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ का लागि अनुभवी इंग्लिस लेग स्पिनर नाथन सोउटरलाई टोलीमा भित्र्याएको छ।
नाथनले इंग्लिस घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। विशेष गरी टी-२० ब्लास्टजस्ता प्रतियोगितामा उनको प्रभाव राम्रो छ।
काठमाडौंका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले सोउटरको आगमनमा खुशी व्यक्त गर्दै भने, ‘नाथन सोउटरले हाम्रो टोलीमा अनुभव र रणनीतिक कौशल थप्नेछन्। दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने उनको क्षमता हाम्रो अभियानका लागि निकै महत्वपूर्ण हुनेछ। हामी उहाँलाई गोर्खाली परिवारमा स्वागत गर्न पाउँदा उत्साहित छौं।’
नाथन सोउटरले पनि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भनेका छन्, ‘काठमाडौँ गोर्खालीमा सामेल हुनु मेरो लागि सम्मानको कुरा हो। म नेपालका क्रिकेटप्रेमी प्रशंसकहरूका अगाडि उत्कृष्ट प्रदर्शन गर्न र टोलीको सफलतामा योगदान दिन उत्सुक छु। यो सिजनलाई अविस्मरणीय बनाऔं!’
अस्ट्रेलियामा जन्मिएका उनले न्यु साउथ वेल्सको यू-२३ टोलीबाट खेलेका थिए। ३२ वर्षे उनीसँग द हन्ड्रेड्स, भाइटालिटी ब्लास्ट, क्यारेबियन प्रिमियर लिग, इन्टरनेसनल लिग टी-२० खेलको अनुभव छ।
सोक्रममा उनले १४३ ट्वान्टी-२० खेलमा ७.६० को इकोनोमीमा १५४ विकेट र ११२.९० को स्ट्राइक रेटमा २ सय ४५ रन बनाएका छन्। उनले ओभल इन्भिसिबल्स, डेजर्ट भाइपर्स, डरहम र गुयाना अमाजोन वारियर्सबाट विश्वका विभिन्न लिग खेलेका छन्।
काठमाडौं गुर्खाजमा उनी पाँचौं विदेशी खेलाडी हुन्। अर्का दुई इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटसहित नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट र नामिबियाका कप्तान जेरोड इरसमसलाई टोलीले यसअघि नै अनुवन्ध गरिसकेको छ।