एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीविरूद्ध भारतको कर्नाटक यू-१९ टोलीले चौथो खेलमा जित निकालेको छ।
पाँचको खेलको सिरिजको चौथो खेलमा कर्नाटक ५ विकेटले विजयी भएसँगै सिरिज २-२ को बराबरीको अवस्थामा पुगेको छ।
यसअघि आइतबार मुलपानीमा भएको तेस्रो खेलमा नेपाली टोलीले १ सय २१ रनको जित निकालेसँगै सिरिजमा २-१ को अग्रता लिएको थियो।नेपालले दोस्रो खेल जित्दा पहिलो खेलमा कर्नाटक विजयी भएको थियो।
अब बिहीबार हुने पाँचौं तथा अन्तिम खेल निर्णायक हुने भएको छ।
मंगलबार मुलपानीमा नेपालले दिएको १०६ रनको सामान्य लक्ष्य कर्नाटकले ५ विकेटको क्षतिमा ३७ ओभरमा पूरा गर्यो। उसका लागि शिव आर र प्रभावकरले २४-२४ रन जोडे। बलिङमा नेपालका सन्तोष यादवले ३ विकेट लिए भने बिपिन महतो र राजेश यादवले १-१ विकेट लिन सफल भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३५.१ ओभरमा १०५ रनमा अलआउट भयो। नेपालका लागि ओपनिङ ब्याटर मयन यादव ३५ रन जोड्दा रोशन विकले पनि नटआउट ३५ रन नै बनाए।
नेपालका अरू ब्याटर दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट भए।
बलिङमा कर्नाटकका प्रभाकरले ५ विकेट लिए। उनले १० ओभरमा ५ मेडन राख्दा १० रन मात्र दिए।
नेपालले एसिया कपको तयारीका लागि कर्नाटकसँग पाँच खेलको एकदिवसीय सिरिज खेलेको हो।
यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरू हुँदैछ। एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्।
नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन छन्। नेपाली टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी,दिलसाद अली र रन्जित कुमार छन्।
एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।