नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गरेको छ।
विराटनगर किङ्सले आईतवार पत्रकार सम्मेलनमार्फत नायक दयाहाङलाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो। उक्त कार्यक्रममा विराटनगरका मालिक वैङ्कटेस मुन्द्रा र नायक दायहाङले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता एक वर्षको हुनेछ।
सन्दीप लामिछाने विराटनगर किङ्सका मार्की खेलाडी हुन्। तर उनी ब्राण्ड एम्बासडर घोषणा कार्यक्रममा उपस्थित थिएनन्। सामाजिक सञ्जालमा लाखौंमा फलोअर्स रहेका सन्दीपले विराटनगरका कुनैपनि गतिविधि शेयर गरिरहेका छैनन्।
उनी र विराटनगर किङ्सबीच पारिश्रमिकका विषयलाई लिएर असमझदारी रहेको चर्चा पनि चलिरहेको थियो। आइतबार आफ्नो फ्रेन्चाइज टोलीको औपचारिक कार्यक्रममा पनि सन्दीप उपस्थित नभएपछि प्रश्न उठे। तर विराटनगरका मालिक मुन्द्राले आफ्नो मार्की सन्दीप बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको र केही दिनपछिका कार्यक्रममा आउने बताए। साथै मुन्द्राले कोशीमा क्रिकेटको विकासमा सघाउ गर्ने उद्देश्यले विरानगर किंग्सले काम गरिरहेको बताए। उनले कोशीको पाँच जिल्लामा ट्यालेन्ट हन्ट गरिएको र निकट भविष्यमा एकेडेमी पनि सञ्चालनमा ल्याउने उल्लेख गरे।
सो अवसरमा अभिनेता दयाहाङ राईले आफ्नै क्षेत्रसमेत रहेको विराटनगरसँग जोडिन पाउँदा धेरै खुशी रहेको उल्लेख गर्दै खेलले धैर्यता र अनुशासनमा रहन सिकाउने भएकाले आफूले नियमित रूपमा पछ्याउँदै आएको बताए। साथै उनले देशका उन्नति र विकास लागि कला र खेल क्षेत्रमा लगानी लगानी गर्न आवश्यक रहेको औंल्याए।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटप्रति चासो र समर्थन गर्दै आएका अभिनेता दयाहाङ राईलाई विराटनगर किङ्सले आफ्नो टोलीमा जोड्दा क्यानका लागि एक जित सरह रहेको बताए।
विराटनगरले यसअघि न्युजिल्याण्डका मार्टिन गप्टिल, ओमानका अकिब इलियास, वेस्ट इण्डिजका निकोलस किर्तन र स्कटल्याण्ड क्रिस सोललाई अनुवन्ध गरेको छ। आगामी मंसिर १५ गतेदेखि पुस ६ सम्म हुने एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन्। —न्युज एजेन्सी नेपाल