नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण प्रशारण भारतीय टेलिभिजन स्टार स्पोर्ट्स नेटवर्कबाट हुने भएको छ।
एनपिएलको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुसार भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कबाट एनपिएलका खेल प्रत्यक्ष प्रशारण हुने भएको हो।
यस्तै एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक हुने भएको छ। सिद्धार्थ बैंकले पाँच वर्षसम्म टाइटल स्पोन्सर गर्ने सम्झौता गरेको छ। सम्झौता रकम २० करोड छ।
एनपिएलमा आठ वटा टिमले प्रतिस्पर्धा गर्दैछ। सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुन लागेको हो।
नेपाल प्रिमियर लिग मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।
मंसिर १६ गते उपनिर्वाचन हुने भएकाले त्यो दिन खेल नहुने। एनपिएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यक्रम छ। मंसिर १६ गते कीर्तिपुर नगरपालिकासहित अन्य रिक्त स्थानीय तहमा निर्वाचन हुने भएकाले सो दिन खेल नहुने क्यानका सचिव पारस खड्काले बताए।