नेपालका तीव्र गतिका बलर करण केसीले कीर्तिपुरस्थित त्रिवि मैदानमा ह्याट्रिकसहितको कीर्तिमानी बलिङ गरेका छन्।
मलेसिया र पपुवा न्युगिनी (पिएनजी) विरूद्धको त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार पिएनजीविरुद्ध करणले ह्याट्रिकसहित पाँच विकेट लिएका हुन्।
नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा करणले २०औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा पिएनजीको लगातार विकेट लिए।
उनले पिएनजीका चाड सोपरलाई अन्तिम ओभरको दोस्रो बलमा २ रन, अताइलाई तेस्रो बलमा शून्य र पोकना चौथो बलमालाई शून्यमा आउट गरे। उनले सोपर र पोकनालाई क्याच गराउँदा अताइलाई बोल्ड गरे।
यो नेपाली बलरले टी-२० अन्तर्राष्ट्रियमा लिएको पहिलो ह्याट्रिक हो। यस्तै करणले एकै खेलमा पाँच विकेट लिने नेपाली बलरको कीर्तिमान समेत बनाए।
टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका करणले खेलमा ३.४ ओभरमा २१ रन खर्चिएका थिए।
करणले खेलमा टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट समेत पूरा गरेका थिए। उनी नेपालका लागि टी-२० मा पाँच विकेट पूरा गर्ने दोस्रो खेलाडी बने। यसअघि कप्तान सन्दीप लामिछाने नेपालका लागि टी-२० मा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए।
करणले कीर्तिमानी बलिङ गरेको खेलमा नेपाल ३७ रनले विजयी भयो। पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा २०३ रन जोड्यो। जवाफी ब्याटिङ गरेको पिएनजी २ बल खेल्न बाँकी छदा १६६ रनमै अलआउट भयो। जितसँगै नेपाल सिरिजको फाइनलमा समेत पुग्यो।
सबै तस्बिरहरू - निशा भण्डारी/सेतोपाटी