गत शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको काठमाडौं मेयर्स कपको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भएको थियो।
दुवै क्लबमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीको बाहुल्यता भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा थियो।
तर खेल एकपक्षीय बन्यो। पहिले ब्याटिङ गरेको एपिएफ क्लबले कमजोर ब्याटिङ गर्यो। पुलिसका युवा बलर गुल्सन झा एपिएफका ब्याट्सम्यानमाथि हाबी बने।
पुलिसबाट दोस्रो खेल खेलेका १७ वर्षीय तीव्र गतिका बलर झाले खेलमा ४ विकेट लिए। सर्लाही मलगंवाका झाले एपिएफका सुरुवाती चार मध्ये तीन ब्याट्सम्यानलाई आफ्नो सिकार बनाए। उनले एपिएफका ओपनर शंकर रानालाई ४ रन, कप्तान शरद भेषवाकरलाई शून्य, भुवन कार्कीलाई पनि शून्य र कमलसिंह ऐरीलाई १ रनमा आउट गरे।
झा र सागर ढकालले समान ४-४ विकेट लिएपछि एपिएफ १०५ रनमै अलआउट भयो। १०६ रनको लक्ष्य पुलिसले २ विकेटको क्षतिमा २४.१ ओभरमा पार गर्दै ८ विकेटको जित निकाल्यो।
एपिएफका कप्तान शरदले पुलिसका बलर झाले उत्कृष्ट बलिङ गर्दा आफूहरुले कमजोर ब्याटिङ गरेको बताए। उनले झालाई 'सरप्राइज प्याकेज' को संज्ञा दिएका थिए।
६.१ इञ्च अग्ला झालाई पुलिसले मेयर्स कपदेखि टिममा भित्र्याएको थियो। त्यसअघि झाले प्रधानमन्त्री कपको छनोट प्रदेश २ बाट खेलेका थिए। त्यतिबेला उनी प्रदेश २ को बैकल्पिक खेलाडीमा परेपछि प्रधानमन्त्री कप खेल्न पाएनन्।
प्रधानमन्त्री कपका लागि टिममा नपरेकोमा झालाई कुनै चिन्ता थिएन। 'टिममा सिनियर खेलाडी थिए। त्यहीँ भएर टिममा स्थान पाइन,' झाले सेतोपाटीसँग भने,'कुनै दिन मौका पाउनेमा भने आसावादी थिए।'
त्यहिँ बेला पुलिसले टिममा तीव्र गतिका बलर खोजिरहेको थियो। पुलिसका प्रशिक्षक मनोज कटवालले झाबारे थाहा पाएपछि उनलाई ट्रायलका लागि काठमाडौं बोलाए।
ट्रायल र अभ्यास खेलमा राम्रो प्रदर्शन गरेपछि उनलाई पुलिसले टिममा आबद्ध गर्यो।
ढाँडमा समस्या भएपछि झाले मेयर्स कपको सुरुवाती खेल खेल्न सकेनन्।
काठमाडौं मेयर्स ११ विरुद्धको सेमिफाइनलमा भने उनले मौका पाए। तर सोचेजस्तो प्रदर्शन गर्न सकेनन्।
'पहिलो खेलमा राम्रो प्रदर्शन गर्ने सोच थियो। बलिङ र ब्याटिङ दुवैमा मौका पाए पनि राम्रो प्रदर्शन गर्न सकिनँ,' झाले भने।
काठमाडौंविरुद्धको खेलमा सुरुमा ब्याटिङ गरेका उनले ५ रन मात्र जोडे। उनी सन्दीप लमिछानेको एलबिडब्लूको धारापमा पर्दै आउट भएका थिए।
सो खेलमा ६ ओभर बलिङ गरेका उनले २ मेडन राखेर २२ रन खर्चिएका थिए। तर विकेट भने लिन सकेनन्।
डेब्यू खेलमा विकेट लिन नसकेका उनलाई पुलिसले फाइनलमा पनि मौका थियो। फाइनलमा भने उनले उत्कृष्ट खेले।
पहिलो ओभरको पाँचौ बलमै विकेट लिँदै सानदार सुरुवात गरे। खेलमा उनले ७ ओभर बलिङ गर्दा ३६ रन खर्चिए।
'फाइनलमा सोचे जस्तो प्रदर्शन गर्न सकेँ। टिममा सिनियर खेलाडी पनि रहेको अवस्थामा मौका पाउँदा निकै उत्साहित थिए। पाएको अवसरलाई सदुपयोग गर्ने सोचले मैदान उत्रिएको थिएँ,' उनले भने।
मेयर्स कपको फाइनलमा गरेको प्रदर्शनले सबैको ध्यान खिँचेका झा भारतको राँचीस्थित अरुणोदय क्रिकेट एकेडेमीमा चार वर्षअघि क्रिकेट प्रशिक्षणका लागि भर्ना भएका थिए। क्रिकेटक्रेजी बुबाले आफ्नै खर्चमा उनलाई एकेडेमीमा भर्ना गरिदिएका थिए।
राँचीमा क्रिकेट सिक्दा उनले बलिङमा निखारता ल्याए। त्यहाँ क्रिकेट सिक्दा उनले स्थानीय प्रतियोगिता खेलेका थिए। एकेडेमीमा सिकेका धेरैले भारतको प्रतिष्ठित रणजी ट्रफी खेलिरहेको झाको भनाइ छ।
राष्ट्रिय प्रतियोगितामा प्रभावशाली खेल देखाएका झाको अबको लक्ष्य नेपालको राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने छ।
'सबैको लक्ष्य राष्ट्रिय टिमबाट खेल्ने हुन्छ। म पनि भविष्यमा राष्ट्रिय टिममा पर्नका लागि मिहिनेत गर्नेछु,' झाले भने,'त्यसका लागि मैले बलिङमा अझ सुधार गरेर एकै प्रकारको प्रदर्शन गर्न जरुरी छ। यस्तै ब्याटिङ पनि सुधार गर्ने मेरो प्रयत्न हुनेछ।'