२०७४ पुस पहिलो साता, एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण चलिरहेको थियो।
सहभागी ६ टिममध्ये चितवन टाइगर्सको पहिलो खेल पोखरा राइनोजविरूद्ध थियो। खेलअघि चितवनले सामाजिक सञ्जालमा आफ्ना कप्तान पृथु बाँस्कोटाको जर्सी पोस्ट गर्दै भावुक पोस्ट स्टाटस लेख्यो–वि मिस यु पृथु।
कप्तान पृथु पहिलो खेलमा कीर्तिपुर मैदानमा थिएनन्। उनी टेकुस्थित अपराध महाशाखाको हिरासतमा थिए।
दरबारमार्गको ‘डेजा भू’ नाइट क्लबमा भएको तोडफोड घटनापछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो। किनभने उनी डेजा भूका लगानीकर्तामध्ये एक थिए।
त्यतिबेला पृथुसँगै प्रहरी हिरासतमै अन्तर्वार्ता लिने अवसर प्राप्त भएको थियो। पृथुले आफूलाई नियतबस प्रहरीले नियन्त्रणमा लिएको भन्दै आक्रोश पोखेका थिए।
२३ दिन हिरासतमा बसेपछि पृथु धरौटीमा छुटेका थिए। नेपालको यु-१९ टिमका कप्तान रहिसकेका पृथु घटनापछि क्रिकेट करिअरमा जम्न सकेनन्।
फ्रेञ्चाइज क्रिकेटका टिममा अनुबन्धन भए पनि उनको प्रदर्शन राम्रो हुन सकिरहेको थिएन।
कतिपयले पृथुलाई डेजा भू प्रकरणमा जोडेर आलोचना पनि गर्ने गरेका छन्। आलोचनाको खण्डन गर्दै फरक पाटोको घटना क्रिकेटमा जोड्दा दु:ख लाग्ने पृथु बताउँछन्।
'त्यतिबेलामा मानिसक रूपमा असर गरेको पक्का हो। जसले तत्कालका लागि क्रिकेटमा पनि असर गर्यो। तर त्यसकै कारण मेरो प्रदर्शनमा असर गरेको भने होइन,' उनले सेतोपाटीसँग भने।
पृथु त्यो घटनाले आफूलाई केही पाठ सिकाएको भने स्वीकार गर्छन्।
किनभने घटनापछि पृथुले क्रिकेटमै केन्द्रीत हुनेमा दृढ भए।
'मैले जानेको भनेको क्रिकेट खेल्न हो। किनभने १५ वर्षदेखि यही क्रिकेटमा छु। त्यसैले आफ्नो सम्पूर्ण ध्यान क्रिकेटमा लगाउँछु भन्ने लागेर अघि बढेँ,' उनले भने।
हातमा लागेको चोटका कारण पनि उनले पछिल्ला वर्षमा राम्रो खेल्न सकेनन्। तर बाल्यकालदेखि नै काठमाडौंको क्रिकेट वातावरणमा हुर्केका पृथुले अभ्यास गर्न कहिल्यै छाडेनन्।
उनी पछिल्ला वर्षमा गुमनाम रहे पनि अभ्यास भने गरिरहेका हुन्थे। क्रिकेटका नयाँ-नयाँ 'टेक्निक' सिक्थे। क्रिकेटरका प्रेरणादायी अन्तर्वार्तालाई पछ्याउँथे।
तीन वर्षपछि पृथु लयमा फर्कन सफल भए। काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सकिँदा पृथु सर्वाधिक रन प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा छन्।
बागमती प्रदेशबाट खेलिरहेका पृथुले चार इनिङ्ग्समा २१४ रन प्रहार गरिसकेका छन्। जसमा दुई अर्धशतक समावेश छन्।
पृथुसहितका खेलाडीको उच्च प्रदर्शनमा सेमिफाइनलमा पुगेको बागमती अन्तिम चारमा पुग्ने प्रदेशको एक्लो टिम बन्यो।
पृथुले नेपाल पुलिसविरूद्धको पहिलो खेलमा नटआउट ४८ रन, सुदूरपश्चिमविरूद्ध ८४ रन, बागमतीविरूद्ध नटआउट ५३ रन र लुम्बिनीविरूद्ध २९ रन जोडे। ७८.३८ को स्ट्राइक रेटमा रन प्रहार गरेका उनको औसत १०७ छ। उनीपछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका नेपाल पुलिस क्लबका सुनील धमलाले कुल १८७ रन प्रहार गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमबाट ६ 'लिस्ट ए'का र ९ टी-२० खेल खेलेका पृथु प्रधानमन्त्री कपका लागि छुट्टै तयारी गरेको बताउँछन्।
'प्रधानमन्त्री कपका लागि बालुवाटार क्रिकेट एकेडेमीमा गएर आफैं तयारी गरेको थिएँ,' उनले भने, 'त्यसअघि बागमती प्रदेश छनोटमा त्रिवि टिमबाट खेलेका दुबै खेलमा राम्रै प्रदर्शन गर्न सके। जुन कपका लागि वार्मअप खेलजस्तै भयो।'
उनले प्रधानमन्त्री कपमा प्रत्येक खेलमा राम्रो रन बनाउने लक्ष्य लिएका थिए।
'अब क्यामब्याक गर्छु भनेर खेलेको होइन। म प्रत्येक खेलमा रन बनाउन केन्द्रीत थिएँ। टिमलाई जिताउनका लागि आफ्नो क्षमताले भ्याएसम्म ब्याटिङ गर्छु भन्ने मेरो लक्ष्य थियो,' उनी भन्छन्,'अब टिमलाई सेमिफाइनलमा जिताएर फाइनल पुर्याउन चाहन्छु।'
बागमतीले बिहीबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
सन् २०१५ मा स्कटल्यान्डविरुद्ध खेलेपछि पृथुले राष्ट्रिय टिमको जर्सी लगाउने अवसर पाएका छैनन्। पछिल्लो पाँच वर्ष कहिले चोटले त कहिले आफ्नै प्रदर्शनले राष्ट्रिय टिमबाट टाढा रहेका पृथुले यो अवधिमा निकै खल्लो महसुस गरे। राष्ट्रिय टिमलाई निरन्तर 'मिस' गरिरहे।
पाँच वर्षपछि प्रधानमन्त्री कपले पृथुलाई राष्ट्रिय टिममा पुनरागमन गर्ने ढोका खोलिदिएको छ। कम्तिमा पृथु प्रारम्भिक टिममा पर्न सक्नेछन्।
'राष्ट्रिय टिममा पुनरागमन गर्ने सबै खेलाडीको लक्ष्य हुन्छ। प्रशिक्षक र छनोट समितिको आँखामा परे भने टिममा फर्कन सक्छु,' उनले भने।