युएईमा आगामी जनवरी अन्तिम सातादेखि हुने टी-१० लिगमा नेपालका तीन जना क्रिकेटर आवद्ध भएका छन्।
विदेशी फ्रेञ्चाइज क्रिकेट लिगमा तीन जना नेपाली खेलाडी एकैचोटी आवद्ध भएको यो पहिलो पटक हो।
बिहीबार भएको ड्राफ्टमार्फत् तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी तथा अलराउन्डर कुशल मल्ल टी-१० टिममा आवद्ध भएका हुन्।
कुशल मल्ललाई टिम अबुधाबीले भित्र्याएको छ। यो टिममा क्रिस गेल, क्रिस मोरिसजस्ता विश्वस्तरीय खेलाडी छन्।
अबुधाबीबाट गत सिजनमा नेपालका पूर्वकप्तान पारस खड्काले खेलेका थिए। यो सिजन भने पारस टिम अबुधाबीको इमर्जिंङ ट्यालेन्ट मेन्टरको रूपमा आवद्ध भएका छन्।
टिम अबुधाबीले पारसलाई यो सिजन पनि खेल्नका लागि प्रस्ताव गरेको थियो। तर पारसले टिम व्यवस्थापकको रूपमा काम गर्ने इच्छा देखाएपछि अबुधाबीले उनलाई मेन्टरको भूमिका दिएको हो।
स्रोतका अनुसार पारसकै पहलमा कुशलले टिम अबुधावीमा स्थान पाएका हुन्।
पारस गत सिजन १० हजार अमेरिकी डलरमा अबुधाबीमा आवद्ध भएका थिए। कुशल पनि इमर्जिङ क्याटेगोरीमा रहेकाले १० हजार डलर पाउने छन्।
यता सोमपाल कामी मराठा अरेबियन्समा आवद्ध भए। उनले आफैंले ड्राफ्टका लागि फर्म भरेका थिए।
आफ्ना इन्डियन एजेन्टको सल्लाहअनुसार सोमपालले सी क्याटेगोरी (अलराउन्डर) मा आफ्नो नाम सामवेश गराएका थिए। यो क्याटेगोरीमा आवद्ध खेलाडीले २० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
सोमपालले गत सिजनको क्यानडाको ग्लोबल टी-२० खेलेका थिए। दोस्रो पटक विदेशी फ्रेञ्चाइज लिग खेल्न लागेका सोमपालको टिम मराठामा पाकिस्तानका सोएब मलिक, मोहमद हफिज लगायतका खेलाडी छन्।
करण केसी पुने डेभिल्समा आवद्ध भएका छन्। उनले पनि आफैंले फर्म भरेका थिए। करणले इमर्जिङ क्याटेगोरीमा आफ्नो नाम समावेश गरेका थिए। इमर्जिङको रूपमा आवद्ध हुने खेलाडीले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
करणले पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्। करण आवद्ध पुनेमा थिसरा परेरा, मोहमद अमीर, साम बिलिङ्ग्स लगायतका खेलाडी छन्।
यता टी-१० को ड्राफ्टमा रहे पनि सन्दीप लामिछानेलाई भने कुनै पनि टिमले आवद्ध गरेन।
अस्ट्रेलियाको बिग ब्यास लिगमा व्यस्त रहनु परेकाले सन्दीप टी-१० मा उपलब्ध हुन नसक्ने भएको बताइएको छ। बिग ब्यास लिग फेब्रअरी पहिलो साता सकिँदैछ। टी-१० लिग भने जनावरी अन्तिम साता सुरू हुनेछ।
लिगका लागि दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, शरद भेषवाकर, आरिफ शेखको नाममा पनि ड्राफ्टमा थियो। तर उनीहरूलाई कुनै पनि टिमले आवद्ध गरेनन्।
टी-१० लिग आगामी जनावरी २८ देखि ६ फेब्रुअरीसम्म हुनेछ। लिगमा अबुधाबी, पुने, मरठासहित बंगला टाइगर्स, डेकन ग्लाडिएर्टस, क्वालन्डर्स, दिल्ली बुल्स र नर्थन वारियर्सबीच प्रतिस्पर्धा हुनेछ। सबै खेल अबुधाबीस्थित जायेद क्रिकेट मैदानमा हुनेछ।
एक इनिङ्ग्स १० ओभरको हुने प्रतियोगितामा सुरूमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह 'ए' मा बंगला, दिल्ली, मराठा र नर्थन समावेश छन्। समूह 'बी' मा डेकन, पुने, क्वालन्डर्स र टिम अबुधाबी छन्।