नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला तथा पुरुष क्रिकेटरको पुन:वर्गीकरणमा पनि गम्भीर त्रुटि गरेको छ।
गत शनिबार क्यानको बोर्ड बैठकले सन् २०२० का लागि केही क्रिकेटरको वर्गीकरण हेरफेर गरेको थियो भने केही क्रिकेटरको नाम थप गरेको थियो।
वर्गीकरणको स्पष्ट मापदण्ड नहुँदा केही खेलाडीका नाम छुटेका छन् भने वर्गीकरणमा परेका केही खेलाडीको औचित्य पुष्टि हुन सकेको छैन।
पुरुषतर्फको वर्गीकरण जुलाई २०१९ देखि खेलिएका आठ अन्तर्राष्ट्रिय प्रतियोगितालाई आधारमा मानिएको छ। सोमपाल कामीलाई ग्रेड 'बी' बाट 'ए' मा, अभिनास बोहरालाई 'सी' बाट 'बी' मा, ललितनारायण राजवंशीलाई 'बी' मा र सन्दीप जोरालाई ग्रेड 'सी' मा पुन:वर्गीकरण गरिएको छ।
ए ग्रेडमा परेका बसन्त रेग्मीले वर्गीकरणको आधार मानिएका आठ प्रतियोगितामध्ये दुई वटामात्र खेलेका छन्। सन् २०१९ को वर्गीकरणमा भने बसन्तलाई बी ग्रेडमा राखिएको थियो। त्यतिबेला बसन्तले नेपालले खेलेका अधिकांश खेलमा सहभागिता जनाएका थिए।
दुई वटा नै प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका कुशल भुर्तेल र इशान पाण्डे वर्गीकरणमा समावेश छैनन्। यद्यपी दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भएका रासिद खान र कमलसिंह ऐरी वर्गीकरणमा समावेश भएका छन्।
सन् २०१९ को वर्गीकरण बसन्त रेग्मीलाई बी ग्रेडमा राखिएकोमा विरोध भएपछि क्यानले सन् २०२० मा उनलाई ए ग्रेडमा बढुवा गरेको स्पष्ट छ। जुन निर्णय उल्टो भएको क्यानका एक केन्द्रीय सदस्य बताउँछन्।
'बसन्तलाई २०१९ मा ए ग्रेडमा राख्नु पर्नेमा कुनै दुई मत छैन। उनी नेपालका सम्मानित खेलाडी हुन्। उनलाई क्यानले अन्य सुविधा र सम्मान दिनु पर्छ। तर वर्गीकरणको मापदण्ड सबै खेलाडीमा लागू हुनुपर्छ,' ती केन्द्रीय सदस्यले भने,'उदाहरणका लागि भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई लिन सक्छौं। उनलाई गत वर्ष भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेकाले केन्द्रीय सम्झौताबाट हटायो। त्यतिबेला त्यहाँ सम्मानको कुरा त उठेन।'
महिला खेलाडीको वर्गीकरणमा पनि त्रुटि
महिला खेलाडीको वर्गीकरणमा पनि गम्भीर त्रुटि देखिएको छ। महिला खेलाडीको वर्गीकरणको आधार सन् २०१७ देखि २०१९ सम्म खेलिएका चार अन्तर्राष्ट्रिय प्रतियोगिता र वुमेन्स च्याम्पियन्स लिगलाई मानिएको छ। तर चार प्रतियोगितामा प्रतिनिधित्व नै नगरेका खेलाडी वर्गीकरणमा समावेश छन्।
सी ग्रेडमा राखिएका शोभा आले, अनुराधा चौधरी तथा बी ग्रेडमा समावेश कविता जोशीले चार वटै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन्। यस्तै बी ग्रेडमा समावेश ज्योति पाण्डे र रितु कनौजियाले चारमध्ये एक प्रतियोगितामा मात्र खेलेका छन्।
पहिलो पटकको वर्गीकरणमा नपरेका सरस्वती चौधरी ग्रेड 'बी' मा, ममता चौधरी र सुमन खतिवडालाई ग्रेड 'सी' मा राखिएको छ। ममताले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सुमन र ममताले एक-एक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएका थिए।
वर्गीकरणमा तीन जना खेलाडीको नाम थप गरिए पनि दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी आरती बिडारी भने फेरि पनि वर्गीकरणमा परिनन्।
पहिलो वर्गीकरण त्रुटि भएपछि महिला टिमकी कप्तान रुबिना क्षेत्री बेलाबासे तथा उपकप्तान सीता राना मगरले तीन जना खेलाडीको नाम थप गर्न क्यानको वर्गीकरण समितिलाई पत्र पठाएका थिए। तर कप्तान र उपकप्तानको नजरमा आरती पर्न सकिनन्।
कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका खेलाडी वर्गीकरणमा परेको विषयमा क्यानका एक केन्द्रीय सदस्यले गम्भीर आरोप लगाए।
'यहाँ खेलाडीको वर्गीकरण प्रदर्शनको आधारमा भएको छैन। जिल्ला र क्षेत्रको भागबन्डा गरिएको छ। यो खेलाडीप्रति गरिएको अन्यायमात्र होइन करिअरमाथि गरिएको खेलबाड हो' उनले भने।
गलत अभ्यास
खेलाडी वर्गीकरण समितिले स्पष्ट मापदण्ड बनाउन नसक्दा वर्गीकरणमा त्रुटि देखिएको छ। पहिलो चरणको वर्गीकरणको व्यापक विरोध भएपछि गत असोज १३ गते क्यानका कोषाध्यक्ष तथा खेलाडी वर्गीकरण समितिका संयोजक रोशन सिंहको संयोजकत्वमा बैठक बसेको थियो।
बैठकमा समितिका सदस्यहरू अमितविर पाण्डे र दुर्गाराज पाठकसहित केन्द्रीय सदस्य छुम्बी लामा, प्रमुख प्रशिक्षक जगत टमाटा, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको उपस्थिति थियो। सो बैठकले खेलाडीको वर्गीकरण परिमार्जन गर्ने निर्णय गर्दै बोर्ड बैठकमा पेश गर्ने निर्णय गरेको थियो। यद्यपी बैठकको निर्णयमा सदस्य अमितविरले हस्ताक्षर गरेका थिएनन्।
वर्गीकरण गर्दा खेलाडी र प्रशिक्षकको सल्लाह लिनु उचित हो। तर उनीहरूमाथि नै भर पर्नु वर्गीकरण समितिको लाचारीपन भएको ती केन्द्रीय सदस्यको भनाइ छ।
'वर्गीकरण समितिले सबैसँग सुझाव लिने हो। अन्तिम निर्णय गर्ने त क्यानले हो,' उनी भन्छन्,'तर यहाँ त उल्टो अभ्यास भएको छ। भविष्यमा पनि वर्गीकरण गर्दा खेलाडी र प्रशिक्षकमाथि भर पर्ने गलत अभ्यास नबसोस भन्ने चिन्ता हो।'
आरती र सुवासको पीडा
वर्गीकरणमा नपरेपछि महिला क्रिकेटर आरती बिडारीले दु:ख व्यक्त गरेकी छिन्। उनले फेसबुकमा आफ्नो विषयमा आएको समाचार सेयर गर्दै आफू हेपिएको महसुस गरेको बताएकी छिन्।
'मलाई थाहा छ अरुका लागि जसले बोल्यो मेरो लागि कसैले बोल्दैन। तर मलाई यहाँ हेपिएको महसुस भयो। मेरो टाउकोमा कसैको हात नभएको जस्तो लाग्यो। यहाँ त म क्रिकेट खेलाडीको रूपमा योग्य रहेनछु। २०१९ मा देशको लागि खेलेको साथी सूचीमा छन् तर म छैन,' उनले लेखेकी छिन्।
यस्तै विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले पनि क्रिकेटमा लागेर १२ वर्ष फालेको भन्दै स्पोर्ट्स अनलाइन नेप्लेजलाई अन्तर्वार्ता दिएका छन्। उनले क्यानले वर्गीकरणको आधारमा असन्तुष्टि जनाएका छन्।
वर्गीकरणको विषयमा क्यानलाई इमेल लेखेको तर चित्तबुझ्दो जवाफ नपाएको सुवासको भनाइ छ।
खेलाडीले प्रमाणित गर्न समय छ
खेलाडी वर्गीकरण समिति संयोजक तथा क्यानका कोषाध्यक्ष रोशन सिंहको पहिलो चरणको वर्गीकरणमा त्रुटि भएको स्वीकार गर्छन्।
'पहिलो पटक गरिएको वर्गीकरणमा असन्तुष्टि व्यक्त भएपछि हामीले कप्तान र प्रशिक्षकसँग सल्लाह गरेर सच्याएका हौं,' सिंहले सेतोपाटीसँग भने,'फेरि पनि असन्तुष्ट हुनु पर्ने कारण देख्दिनँ। किनभने हामीले यो वर्गीकरण ६ महिनाका लागि मात्र गरेका छौं। अब खेलाडीले वर्गीकरण गर्न आफूलाई प्रमाणित गर्नुपर्छ। अब हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रमाणित गरे वर्गीकरणमा पर्छन्।'
केही खेलाडीले सार्वजनिक रूपमै असन्तुष्टि जनाएको विषयमा उनले घुमाउरो शैलीमा अनुशासनको कुरा उठाए।
'राम्रो खेलेरमात्र पनि वर्गीकरणमा परिदैँन। खेलाडीको अनुशासनलाई पनि हामीले वर्गीकरणको आधार बनाएका छौ,' उनले भने।
पुरुष खेलाडीको वर्गीकरणको आधार मानिएका प्रतियोगिता
१- नेपाल भर्सेस मलेसिया सिरिज
२- आइसिसी विश्व टी-२० क्वालिफायर
३- नेपाल, सिंगापुर र जिम्बावेबीचको त्रिकोणीय टी-२० सिरिज
४- ओमान टी-२० सिरिज
५- एसिसी इमर्जिङ टिम्स कप
६- दक्षिण एसियाली खेलकुद
७- आइसिसी विश्वकप लिग-२
८- पूर्व क्षेत्रीय टी-२० प्रतियोगिता
महिला खेलाडीको वर्गीकरणको आधार मानिएका प्रतियोगिता
टी-२० क्वालिफायर २०१७
एसिसी टी-२० २०१९
टी-२० प्रतियोगिता २०१९ थाइल्यान्ड
दक्षिण एसियाली खेलकुद २०१९
वुमेन्स च्याम्पियनस लिग
पुरुष खेलाडी वर्गीकरण
(ग्रेड ए - मासिक ५० हजार, ग्रेड बी- मासिक ४० हजार, ग्रेड सी- मासिक ३० हजार)
ग्रेड ए- पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी,दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी (बी ग्रेडबाट बढुवा)
ग्रेड बी- सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अभिनास बोहोरा (सीबाट बटुवा), ललितनारायण राजवंशी (वर्गीकरणमा थप)
ग्रेड सी- सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहोरा, कमलसिंह ऐरी, सन्दीप जोरा (वर्गीकरणमा थप)
महिला खेलाडी वर्गीकरण
(ग्रेड ए- मासिक १५ हजार, ग्रेड बी- मासिक १२ हजार, ग्रेड सी- मासिक १० हजार)
ग्रेड ए- रुबिना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता राना मगर, करुणा भण्डारी
ग्रेड बी- ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दू रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी (वर्गीकरणमा थप)
ग्रेड सी- कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अन्जली चन्द, शोभा आले, ममता चौधरी (वर्गीकरणमा थप) र सुमन खतिवडा (वर्गीकरणमा थप)