फोटो पत्रकार सुदर्शन रञ्जितले सन् २००७ मा खिचेको एउटा तस्बिरले अन्तर्राष्ट्रिय चर्चा खुब बटुल्यो।
रञ्जितले माछापुच्छ्रेको पृष्ठभुमीमा पोखरा रंगशाला परिसरमा चप्पल लगाएका एक ब्यक्तिले क्रिकेट खेल्दै गरेको तस्बिर खिचेका थिए। तस्बिरलाई त्यसवर्ष अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एसियाका उत्कृष्ट तस्बिरको रुपमा पुरस्कृत नै गर्यो। लाखौंले मन पराए।
क्रिकेट खेल्दै गरेको तस्बिरले अन्तर्राष्ट्रिय पुरस्कार पाउँदासम्म पनि पोखरामा व्यवस्थित क्रिकेट मैदान थिएन। दुई दशकअघि आइसिसीले प्रस्ताव गरेको सेन्ट्रल क्रिकेट एकेडेमीका लागि रंगशाला परिसरमा जग्गा छुट्याइएको थियो। तर विवादपछि काम अघि बढ्न सकेन।
२०६६ सालमा भने रंगशाला परिसरमा क्रिकेट मैदानको निर्माण थालियो। क्रिकेटले रंगशाला परिसरमा भिरालो जग्गा पायो। तर पोखरामा बन्दै गरेको भाटभटेनी कम्प्लेक्स निर्माण गर्दा निस्किएको माटोबाट मैदान तयार पारियो। त्यसपछि बल्ल क्रिकेट मैदानको स्वरुप देखिन थाल्यो। लगत्तै पोखराले महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनको अवसर पायो। त्यतिबेलासम्म पनि मैदान व्यवस्थित हुन सकेको थिएन।
दुई वर्ष यता भने पोखरा क्रिकेट मैदान स्वरुप फेरेको छ। गत वर्ष पोखरा प्रिमियर लिग (पिपिएल) को पहिलो संस्करणका लागि आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मैदानको स्वरुपलाई परिवर्तन गर्यो। पृष्ठभूमि देखिने माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृंखलाले मैदानलाई मनमोहक पारेको छ। खेलाडी र दर्शकलाई माछापुच्छ्रेको काखमा हुने खेलले लोभ्याएको छ।
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का पोखरा क्रिकेट मैदानलाई नेपालमा उपलब्ध मध्ये उत्कृष्ट मान्छन्।
पारस यो मैदान भारतको उत्तराञ्चलमा रहेको धर्मशाला मैदानसँग तुलना गर्छन्।
'भारतको हिमाञ्चल प्रदेशको धर्मशाला रंगशाला पर्यटकमा माझ चर्चित छ। त्यहाँको पृष्ठभूमीले गर्दा त्यहाँ पुग्ने पर्यटक फोटो खिचाइहाल्छन्,' पारसले भने, 'हामीसँग अझ ठूलो हिमालयन श्रृंखला अगाडि क्रिकेट मैदान छ। पूर्वाधार विकास गरेमा पोखरा क्रिकेट मैदान लोकप्रिय स्थल बन्न सक्छ।'
पोखरा क्रिकेट मैदानमा अहिले आउटफिल्ड र विकेट मात्र व्यवस्थित छ। खेलाडीका लागि चाहिने चेन्जिङ रुम, अम्पायर र अफिसियलको चेन्जिङ रुम, मिडिया सेन्टर लगायतका पूर्वाधार अस्थायी रुपमा खडा गरिएको छ। यी पूर्वाधार व्यवस्थित गर्न सके पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको सम्भावना हुने पिपिएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामा बताउँछन्।
'झन्डै २ सय रनसम्म बनेकाले यो यहाँको पीच एकदमै राम्रो छ,' लामा भन्छन्,'मैदानमा लेभलिङ, प्लेयर बक्स, चेन्जिङ रुम, टिभी लाइभका लागि व्यवस्था र नेचुरल प्यारपिट बनाउने हो भने पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिताको अत्याधिक सम्भावना छ। जसले क्रिकेटमार्फत पर्यटनको पनि सम्भवना बढ्नेछ।'
मैदानलाई व्यवस्थित बनाउन गत वर्ष क्विन्स इभेन्टले ४२ लाख खर्च गरेको थियो। यस्तै राष्ट्रिय खेलकुद परिषद्ले मैदानका लागि १० लाख बजेट उपलब्ध गराएको थियो।