नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समितिको निर्वाचन आगामी असोज ३ र ४ गते हुने भएको छ।
आइसिसीले गठन गरेको स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रका अनुसार प्रादेशीक समितिको निर्वाचन शनिबार सकिएसँगै अब केन्द्रीय समितिको निर्वाचन प्रक्रिया अघि बढाइने छ।
'प्रादेशीक समितिको निर्वाचन सकिएसँगै अब केन्द्रीय समितको प्रक्रिया अघि बढ्नेछ। हामीले आइसिसी र राष्ट्रिय खेलकुद परिषद्सँग अनुमति मागिसकेका छौं' क्षेत्रीले सेतोपाटीसँग भने, 'केहि अवरोध नआएको खण्डमा आगामी असोज ३ र ४ गते केन्द्रीय समितिको निर्वाचन हुनेछ।'
क्षेत्रीका अनुसार स्वतन्त्र समितिमा आइसिसीको तर्फबाट सदस्य रहेका अमर शेख, नितिश कोथारी र मोहमद अली निर्वाचनका लागि नेपाल आउने पक्का भइसकेको छ।
निर्वाचनका लागि आइसिसीको एसोसिएट समितिका अध्यक्ष इमरान ख्वाजालाई निमन्त्रणा पठाइएको छ।
क्यानको १७ सदस्यीय कार्यसमितका लागि ५९ जनाले भोट हाल्न पाउनेछन्। जसमा जिल्लाका १-१ प्रतिनिधि गरि ३९ र प्रदेशका २० जना हुनेछन्।
जसमा प्रदेश १ बाट ३ जना, प्रदेश २ बाट ४ जना, प्रदेश ३ बाट ३ जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश ५ र ६ बाट ४ जना र सुदूरपश्चिम प्रदेशबाट ४ जना प्रतिनिधि केन्द्रीय निर्वाचनका लागि छनोट भइसकेका छन्।
प्रदेश १ मा मिङ्माडन्डु शेर्पा, प्रदेश २ मा हरि भगत, प्रदेश ३ मा राजु बस्नेत, गण्डकी प्रदेशमा देवेन्द्र प्रजू र सुदूरपश्चिममा हरि रेग्मी प्रादेशी क्यानको अध्यक्षमा निर्वाचित भएका थिए।
यसैगरी प्रदेश ५ र ६ को अध्यक्षमा दुर्गाबहादुर थापामगर चयन भएका थिए। क्रिकेट संघसँग आबद्ध हाल एउटै मात्र जिल्ला रहेकाले यो निर्वाचन प्रक्रियाका लागि मात्र प्रदेश ६ लाई पनि प्रदेश ५ कै निर्वाचनमा सहभागी गराइएको थियो। प्रदेश ६ अन्तर्गत सुर्खेत जिल्लामा मात्र संघ रहेको छ।
केन्द्रीय कार्यसमितिमा पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष १–१ जना हुनेछन्। बाँकी १३ जना सदस्य हुनेछन्। राष्ट्रिय खेलकुद परिषद्ले आफ्ना २ जना सदस्यलाई पदेन सदस्यका रुपमा मनोनित गर्ने बाहेक सबै निर्वाचित हुनु पर्नेछ। परिषद्बाट आएका सदस्यलाईकेन्द्रीय कार्यसमिति र केन्द्रीय साधारण सभामा मतदान गर्ने वा निर्वाचनमा सहभागी हुने अधिकार हुनेछैन।
क्यानको केन्द्रीय कार्यसमितीको कार्यकाल ४ वर्षका लागि हुनेछ।
केन्द्रीय साधारणभामा केन्द्रीय कार्यसमितीका सदस्यहरु, प्रादेशिक कार्य समितीले पठाएका दुई जिल्ला बराबरका एक प्रतिनिधि, प्रत्येक जिल्लाबाट साधारण सभाका लागि निर्वाचित एक जना, खेलाडी संघ, निर्णायक तथा स्कोरर संघ तथा प्रशिक्षक संघबाट १–१ जनाको प्रतिनिधित्व रहने विधानमा व्यवस्था छ।
यसपटक भने जिल्ला र प्रदेशका प्रतिनिधिले मात्र भोटिङ गर्न पाउनेछन्। खेलाडी लगायतका संघलाई अर्को निर्वाचनदेखि मात्र मताधिकार हुनेछ।
केन्द्रीय समितिका लागि तीन पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ। जसमा निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द समूह, क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे र प्रदेश १ को अध्यक्षमा निर्वाचित भएका मिङ्ग्मा डण्डु शेर्पा समूहले नेतृत्वका लागि गृहकार्य गरिरहेका छन्।
क्यानको केन्द्रीय समितिको निर्वाचनपछि आइसिसीले निलम्बन फुकुवा गर्ने विश्वास गरिएको छ।
आइसिसीको बोर्ड बैठक आगामी अक्टोबर १३ मा बस्दैछ। सो बैठकमा क्यानमाथिको निलम्बन फुकुवाको प्रस्ताव पेश हुने विश्वास गरिएको छ। निलम्बन फुकुवाको प्रस्ताव पेश गर्न क्यानको निर्वाचित केन्द्रीय समितिले आइसिसीलाई अनुरोध गर्नु पर्नेछ।
आइसिसीले २०७३ वैशाखमा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको छ। त्यसयता नेपाली क्रिकेट अविभावकबिहीन छ।