गत आइतबार नेपाली क्रिकेटका लागि महत्वपूर्ण दिन थियो। सिंगापुरलाई पराजित गरेको अवस्थामा नेपालले टी–२० विश्वकप खेल्ने लक्ष्यको एक खुड्किलो पार गर्थ्यो।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा भएको खेलमा नेपालले सोचेजस्तो नतिजा आएन। आइसिसी टी–२० विश्वकप एसिया छनोटको निर्णायक खेलमा आयोजक सिंगापुरसँग नेपाल ८२ रनले पराजित भयो। नतिजा नेपालका लागि अकल्पनीय थियो। प्रतियोगिताको दाबेदार मानिएको वरियतामा अघि रहेको नेपाल भाग लिएका देशमध्ये एक्लो एकदिवसीय टिम थियो।
नतिजा आएपछि नेपाली 'ड्रेसिङ' रूपमा धेरैबेर सान्नाटा छायो। कोही कसैसँग बोल्ने अवस्था थिएन। सबै खेलाडीको मुहार पीडाले छोप्यो। एसिया छनोटको च्याम्पियन बनेर विश्वकप छनोट खेल्ने अनि आगामी वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा भाग लिने खेलाडीको मिठो सपना क्षणभरमैं चकनाचुर भयो।
'सबै खेलाडीहरू दुखी थिए। सबै जना राम्रो खेल्न नसकेकोमा पछुताइरहेका थिए,' उपकप्तान ज्ञानेन्द्र मल्लले गत आइतबारको माहोल सम्झिए। आठ वर्षपछि विश्वकप छनोटमा पुग्न नसक्दा नेपाली खेलाडी बढी नै दुखी भएको ज्ञानेन्द्रले महशुस गरे।
पुरस्कार वितरण समारोह सकिएपछि भने नेपाली टिम केही सम्हालियो।
'जितेर बैठक गर्ने सोचेका थियौं, तर हारेर बस्नु पर्यो,' प्रशिक्षक उमेश पटवालको भनाइ ज्ञानेन्द्र सम्झिन्छन् ,'अब हामी यस्तो प्रदर्शनले धेरै अघि बढ्न सक्दैनौं।'
त्यसपछि प्रशिक्षकले अबको नेपाली क्रिकेटको यात्रा कस्तो हुनेबारे खेलाडीसँग निकैबेर छलफल गरे।
'खेलको क्रिकेटबारे व्याख्या गरियो। अनि अब कसरी अघि बढ्ने भनेर मन्थन पनि भयो,' ज्ञानेन्द्रले भने।
हुन त नेपालले प्रतियोगिताको सुरूआत हारबाटै गरेको थियो। पहिलो खेलमा कतारसँग अप्रत्याशित रुपमा पराजित हुँदा नेपाललाई सुरूमै झट्का लागेको थियो। सो खेलमा नेपालले ६ जना बलर खेलाएको भनेर व्यापक आलोचना भयो। तर ज्ञानेन्द्र त्यहाँको अवस्था हेरेर सही निर्णय गरेको दाबी गर्छन्।
उनले त्यो दिनको पिच हेरेर निर्णय लिइएको बताए। तर पछि अर्कै पिचमा खेल भएको पनि ज्ञानेन्द्रको भनाइ छ।
'क्रिकेटमा जहिले पनि 'यदि र तर' हुन्छ। नतिजा आएपछि त्यसलाई मूल्यांकन गर्न सजिलो हुन्छ,' ज्ञानेन्द्र तर्क गर्छन् ,'हामीलाई बाहिर बसेर भनिदिन सजिलो हुन्छ। तर मैदानभित्र निमेषमै निर्णय लिनुपर्छ।'
कतारसँगको हारले नेपालको यात्रामा असर गरेको मान्न उनी तयार छैनन्।
'हामीले राम्रो सुरूआत गर्न सकेनौं। तर, मलेसिया र कुवतेलाई हराएर छनोट हुने अवस्थामा पुग्न सक्यौं,' ज्ञानेन्द्रको भनाइ छ।
मलेसियाविरूद्धको खेलमा ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दा नेपालले जित निकालेको थियो। सो खेलमा उनले २० बलमा अर्धशतक प्रहार गरेर कीर्तिमान समेत बनाए। कुवेतविरूद्धको तेस्रो खेलमा कप्तान पारस खड्का चले। उनले ६८ रन प्रहार गरेका थिए।
त्यसअघि भने पारस घाइते हुँदा मलेसियाविरूद्धको खेल गुमाएका थिए। कतारविरूद्धको खेलमा ढाड सड्किएपछि पारस फिल्डिङमा उत्रन सकेका थिएनन्।
पारस घाइते हुँदा टिमलाई असर गर्यो कि?
'एक महत्वपूर्ण खेलाडी नहुँदा मिस त भइहाल्छ। तर टिमको नतिजा नै असर गरेको भन्न मिल्दैन,' ज्ञानेन्द्रको भनाइ छ, 'किनकि, हामीले पारस नहुँदा पनि मलेसियालाई हराउन सफल भयौं। कुवेतविरूद्ध खेलमा पारस मैदान फर्किएर उत्कृष्ट खेल्न सफल भयौं।'
खास के-कारणले नेपाल छनोट हुन असफल भयो त?
ज्ञानेन्द्र नेपाल विश्व छनोटमा पुग्न नसक्नुको कारण सिंगापुरविरूद्धको निर्णायक खेलमा राम्रो खेल्न नसक्नुलाई मान्छन्।
'त्यो दिन हामीले निकै खराब फिल्डिङ गर्यौं। बलिङमा पनि हाम्रो स्तरअनुसारको खेल प्रदर्शन हुन सकेन,' ज्ञानेन्द्रले हारको कारण खोतले, 'ब्याटिङ डेप्थ हुन नसक्दा समस्यामा पर्यौं।'
नेपालका लागि टी–२० खेलमा तीव्र अर्धशतक बनाउने कीर्तिमान राखेका ज्ञानेन्द्र नेपाल बाहिरिएकोमा बढी चिन्तित छन्।
'मैले सधैं टिमलाई बढी प्राथमिकतामा राखे। टिमलाई चाहिएको अवस्थामा जुन भूमिकामा पनि मैदानमा उत्रन तयार भएँ। अहिले टिमलाई आक्रमक खेल्नुपर्ने अवस्थामा प्रदर्शन गरेको हुँ,' ज्ञानेन्द्र भावुक भए, 'यदि टिमको लक्ष्य पूरा हुँदैन भने व्यक्तिगत रेकर्डको कुनै काम छैन। बरु मैले रन नै नहानेको अवस्थामा नेपाल विश्व छनोटमा पुगेको भए राम्रो हुन्थ्यो।'
नेपालको विश्वकप यात्रा यति चाँडै समाप्त होला भनेर उनले कल्पना समेत गरेका थिएनन्। त्यसैले आइतबारको सो खेल सम्झिएर उनलाई अहिले पनि नरमाइलो लागिरहेको छ।
'विश्वकप खेल्ने सपना यति छिटै सकिन्छ भन्ने सोचेको पनि थिइनँ,' उनले भने, '६ दिन हामीले जसरी खेल्यौं, डिजर्भ गर्ने प्रदर्शन थिएन।'
टी–२० विश्वकप खेल्ने सपना सकिए पनि नेपालले आगामी प्रतियोगिताका लागि राम्रो तयारी गर्नुपर्ने उनको तर्क छ।
'एक हारले जीवन सकिँदैन। हामीले अझ धेरै सफलता पाउन मिहिनेत गर्नुपर्छ,' ज्ञानेन्द्रको अठोट छ।'
अब नेपाली सिनियर टिमले तत्काल खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता विश्वकप लिग–२ हो। सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छनोटको रुपमा रहेको विश्वकप लिग–२ मा नेपालसहित ७ देशले त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछन्।
लिग–२ दौरान नेपालले आगामी साढे २ वर्षका बीचमा ३६ वटा एकदिवसीय खेल खेल्नेछ।
आगामी अगस्टदेखि सुरू हुने लिगमा नेपालको पहिलो सिरिज आगामी फेब्रुअरीमा खेल्नेछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपाल, अमेरिका र ओमनबीच प्रतिस्पर्धा हुँदैछ।
त्यसपछि नेपालले नामिबिया र स्कटल्यान्डका साथै पपुवान्यूगिनी र युएईसँग पनि त्रिकोणात्मक एकदिवसीयमा प्रतिस्पर्धा गर्नेछ। 'होम एन्ड अवे'का आधारमा हुने लिग–२ मा नेपालले ९ वटा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने तय छ।
यो प्रतियोगिता नेपाली क्रिकेटका लागि महत्वपूर्ण मानिएको छ। उपकप्तान ज्ञानेन्द्र पनि प्रतियोगिताका लागि तयार हुनुपर्ने बताउँछन्।
भन्छन्, 'हामीले अब सकारात्मक सोच्नुपर्छ। आगामी प्रतियोगिताका लागि तयार हुनुपर्छ।'