आइसिसी टी-२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले खराब सुरूआत गरेको छ।
मंगलबार सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा भएको आफ्नो पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएपछि उपाधि जित्ने लक्ष्यमा रहेको नेपालको रणनीतिमा प्रश्न उठेका छन्।
नेपालले कतारविरूद्धको खेलमा नयाँ ओपनिङ जोडीलाई उतारेको थियो।
ओपनिङमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आएका थिए।
यसअघि ओपनिङमा अभ्यास गराइएका पवन सर्राफ र प्रदीप ऐरीलाई कतारविरूद्धको खेलमा आराम दिँदै नेपालले नयाँ प्रयोग गरेको थियो।
नेपालले खेलमा ५ जना विशेषज्ञ ब्याट्सम्यान (पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी) लाई खेलाउँदा ६ बलरलाई टिममा राखेको थियो।
तीव्र गतिका बलरहरू सोमपाल कामी, करण केसी र अभिनाष बोहरासँगै स्पिनर बसन्त रेग्मी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी टिममा थिए।
पवन र प्रदीपसँगै मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले टिममा ठाउँ पाएनन्।
पारस र प्रदीपले नेपालमा भएको बन्दसत्रका दौरान लामो समय ओपनिङको अभ्यास गरेका थिए।
यु-१९ टिमका ओपनर पवन सर्राफले यु-१९ पूर्वक्षेत्रीय प्रतियोगितामा राम्रो खेलेका थिए।
पवन र प्रदीपलाई मलेसियाविरूद्धको २ खेलको अन्तर्राष्ट्रिय टी-प्रतियोगितामा मौका दिइएको थियो। दुबै खेलाडीले दोहोरो अंकको रन बनाउन भने सकेका थिएनन्।
कतारविरूद्धको नयाँ प्रयोगमा पारस र ज्ञानेन्द्रको जोडी सफल देखिए पनि नेपालको मध्यक्रमले कमजोर ब्याटिङ गर्यो।
पारस र ज्ञानेन्द्रबीच पहिलो विकेटका लागि ४९ रनको साझेदारी भएको थियो। यो नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हो। पारस पहिलो विकेटको रूपमा १७ बलमा २८ रन जोडेर आउट भएका थिए।
कीर्तिमानी साझेदारीलाई यादगार बनाउन भने नेपाल सफल भएन। ५८ रन बनाउँदा ज्ञानेन्द्र मल्ललाई दोस्रो विकेटको रूपमा गुमाएको नेपालका बाँकी ८ विकेट ६४ रन बनाउँदा पतन भए।
तेस्रो नम्बरमा ब्याटिङमा भएका शरद भेषवाकर ७ रनमा आउट भएका थिए। पाँच जना ब्याट्सम्यान मात्र खेलाउँदा सोमपाल कामीले पाँचौं नम्बरमा ब्याटिङ गरेका थिए।
उनी ११ रनमा रनआउट भए। लगातार विकेट गुमाएपछि विनोद भण्डारी दबाबमा देखिएका थिए।
उनी लामो सर्ट हान्न खोज्दा आउट भएका थिए। ७ बल खेलेर उनले ३ रनमात्र जोडे। उनले छैटौं नम्बरमा ब्याटिङ गरेका थिए।
नेपालका लागि चौंथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले सबैभन्दा बढी ३४ रन जोडेका थिए।
पहिलो १० ओभरमा २ विकेटको गुमाउँदै ६७ रन जोडेको नेपालले बाँकी १० ओभरमा ८ विकेट गुमाउँदा ४५ रन जोडेको थियो। जसका कारण नेपाल २० ओभरमा १२२ रनको कमजोर स्कोरमा अलआउट भयो।
कतारविरूद्ध पाँच जनामात्र ब्याट्सम्यान खेलाएकोमा नेपालका पूर्वकप्तान तथा यु-१९ टिमका प्रशिक्षक विनोद दासले असन्तुष्टि पोखेका छन्। दासले ६ जना बलरलाई खेलाएकोबारे प्रश्न गर्दै ट्विटरमा प्रश्न गरेका छन्- २० ओभर बलिङ गर्न ६ बलर+पारस खेलाउने निर्णय सही हो?’
दासले पावर प्ले र डेथ ओभरमा खेलाइएका बलरको विषयमा पनि प्रश्न उठाएका छन्।
नेपालले पावर प्लेमा पाँच जना बलरलाई खेलाएको थियो। पहिलो ओभरमा सोमपाल कामीले २ चौकासहित १३ रन दिएका थिए। दोस्रो ओभरको पहिलो बलमा सन्दीप लामिछानेले विकेट लिँदै नेपाललाई राहत दिलाए।
सो ओभरमा नेपालले २ रनमात्र खर्चिएका थिए।
तेस्रो ओभरमा ललितनारायण राजवंशी आए। उनले १ चौका र १ छक्कासहित ११ रन दिए।
चौथो ओभरमा सन्दीपले १२ दिएपछि पाँचौ ओभर बलिङ गर्न करण केसी आए। कारणले पहिलो बलमा विकेट लिए। सो ओभरमा उनले १ रन खर्चिएका थिए। पावरप्लेको अन्तिम ओभरमा बसन्त रेग्मीले ६ रन खर्चिएका थिए।
सोमपाल कामीले १ ओभरमात्र बलिङ गरेका थिए। सन्दीप, करण, बसन्त र अभिनासले ४-४ ओभर बलिङ गरे। ललितले २.२ ओभर बलिङ गरे।
पूर्व कप्तान दासले पाँचको विषयमा पनि प्रश्न गरेका छन्। उनेको प्रश्न छ ‘पीच ब्याटिङ गर्न अप्ठ्यारो छ?’
यही पीचमा सोमबार आयोजक सिंगापुरले कतारविरूद्ध १८७ रन जोडेको थियो। मलेसियाले पनि कुवतेविरूद्ध १६२ रन प्रहार गरेको थियो।
पहिलो खेलमा पराजित भएपछि अब नेपालले विश्व छनोटमा पुग्न बाँकी रहेका तीन खेलमा जित निकाल्नु पर्नेछ।
नेपालले बुधबार मलेसियासँग खेल्नेछ। शनिबार कुवेतसँग खेल्ने नेपालले आइतबार अन्तिम खेलमा आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा सानदार जित निकालेका मलेसिया र सिंगापुर दुबै टिमले नेपाललाई कडा चुनौती दिने संकेत दिइसकेका छन्।