सिद्धार्थ रंगशालाको डेढ करोड बजेट फ्रिज हुँदै


विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणमा ढिलाई हुँदा रुपन्देहीको सिद्धार्थ रंगशालाको लागि छुट्टाईएको डेढ करोड बजेट फ्रिज हुने अवस्थामा पुगेको छ ।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको लागि एक वर्षदेखि नै डिपीआर निर्माणको काम शुरु गरिए पनि १५ दिन अघि मात्र राष्ट्रिय खेलकुद परिषद्ले डिपीआर पास गरेको छ।

रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले डिपीआर निर्माणमा ढिलाई हुँदा यस वर्ष सरकारले छुट्टाएको डेढ करोड रकम फ्रिज हुने अवस्थामा पुगेको बताए। उनले रंगशालाको लागि सानो सानो कामहरू सम्पन्न भएको र डिपीआर पास नहुँदासम्म अब के गर्ने भन्ने अन्योलको कारण काम रोकिएको सेतोपाटीलाई जानकारी दिए।

‘डिपीआर पास नहुँदासम्म निर्माणको काम के गर्ने भन्ने अन्योल थियो अब डिपीआर पास भईसकेपछि रंगशाला वरिपरीको बाहिरी पर्खाल लगाउने सोँच रहेको छ,’ उनले भने ।

डिपीआर अनुरुप रंगशाला निर्माणको लागि ४० देखि ५० करोडको लागत लाग्नेछ।

 

२०६८ सालदेखि काम शुरु गरिएको रंगशाला निर्माणमा हालसम्म ५ करोड रकम खर्च भईसकेको छ।

पहिलो चरणमा २०६८ सालमा १ करोड १९ लाखको लागि पेभिलियन भवन निर्माण भएको छ भने दोस्रो चरणमा २०७१ सालमा ८९ लाखको लागतमा माटो हालेर मैदान सम्याउने काम सम्पन्न भएको थियो।

त्यस्तै सरकारले २०७२ सालमा छुट्टाएको ४० लाख रकमबाट रंगशाला वरिपरी तारजाली लगाईएको छ। वर्षायाममा पानीले डुबान हुने भएपछि २०७३ सालमा सरकारले छुट्टाएको १ करोड रकमबाट मैदान वरिपरी नाली निर्माण गरिएको छ। यस्तै जिल्ला खेलकुद संघले पनि आन्तरिक स्रोतबाट ६ लाखमा क्रिकेट पिच तयार पारेको छ ।

अध्यक्ष मल्लले सिद्धार्थ रंगशालालाई सरकारलेसमेत चासोको रुपमा लिएकोले बजेटको कुनै अभाव नहुने भए पनि रंगशाला निर्माणको कामलाई बहुवार्षिक योजनामा लैजान जरुरी रहेको बताए।

बहुवार्षिक योजनामा लैजान सके हरेक वर्ष सरकारले बजेट विनियोजन गर्ने र अघिल्लो वर्षको बजेट खर्च हुन नसके पछिल्लो वर्षमा सर्दै जाने उनले बताए ।

 

‘१२ हजार दर्शक क्षमताको प्याराफिटसहित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने सम्पूर्ण सुविधा यहाँ पनि हुनेछन्,’ त्यसको लागि हाल रहेको साढे ६ बिगाहको मैदानदेखि पश्चिम तर्फ रहेको ११ कट्ठा जग्गा अधिग्रहणको लागि पहल भईरहेको छ।

गुरूयोजना अनुरुप स्विमिङ पुल, चारैतिर प्याराफिट, पवेलियन, कार्यालय, क्रिकेट अभ्यास क्षेत्र, पार्किङ स्थल, लाईट कन्ट्रोल रुम, उपचार कक्ष, टिकट काउन्टर, भिआइपी प्याराफिट एरिया, प्रशिक्षक भवन, प्रशासनिक भवन, कन्फ्रेन्स हल, डोप टेस्ट एरिया लगायत भौतिक संरचनाहरु निर्माण हुनेछन्।

रूपन्देही क्रिकेट क्षेत्रको उर्बरभूमि रहेको र यो साखलाई जोगाई राख्न पनि रंगशालाको कामलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने रूपन्देही क्रिकेट संघको भनाई छ। रुपन्देही राष्ट्रियस्तरमा क्रिकेट खेलाडी उत्पादन गर्ने जिल्लामा अग्रपंक्तिमा छ।

सागर पुन, शक्ति गौचन, बसन्त रेग्मी, शंकर राना, भरत शर्मा, बसन्त शाही, जगत टमटा, सन्जय गुरुङ, संजिव जोशी, कृष्ण कार्की, अन्तीम थापा, अमृत भट्टराई, निश्चल चौधरी, भुवन कार्की, लाल बहादुर अधिकारीलगायतका दर्जनौं खेलाडी सिद्धार्थ रंगशालामै खेलेर उत्पादन भएका हुन्।

 

यहीकै खेलाडी अनुप थापा सर्वप्रथम २०४० सालमा अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको दिल्लीमा खेल खेलेका थिए भने विभिन्न उमेर समूहका गरी ९० बढी र्राष्ट्रियस्तरका खेलाडी उत्पादन भईसकेका छन्।

वर्षायाम बाहेक हरेक वर्ष कम्तिमा एउटा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको सिद्धार्थ रंगशालामा पछिल्लो ६ महिनामा मात्र राष्ट्रिय मारवाडी टी ट्वाण्टी क्रिकेट प्रतियोगिता सँगै ६ वटा प्रतियोगिता सम्पन्न भएका छन्।

रुपन्देहीमा २०४७ सालमा स्वर्णकार कप क्रिकेट शुरु भएपछि संस्थागत रुपमा क्रिकेट खेल शुरु भएको मानिन्छ।

जिल्ला क्रिकेट संघको स्थापना भएपछि २०५४ सालदेखि जिल्लास्तरीय सुपरलिगको शुरुवात भएको हो ।

स्तरीय खेलमैदान नहुँदा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको सिद्धार्थ रंगशालाले पूर्वधार सहितको रंगशाला तयार भए उत्कृष्ट खेलाडीहरु उत्पादन हुनसक्ने खेलप्रेमीहरुको विश्वास छ।

नेपाल सरकारको लगानीमा चरणबद्ध रुपमा गरी पाँच वर्ष भित्रमा रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

अगामी आर्थिक वर्षका लागि सिद्धार्थ रंगशालाका लागि बजेट विनियोजनको लागि आफूले पहल गरिरहेको र रंगशालाका लागि उपयुक्त बजेट विनियोजन हुनेमा आफू आशावादी रहेको अध्यक्ष मल्लले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.