सन्दीपले दिल्ली उड्नुअघि भने- यो मेरा लागि ठूलो अवसर हो (भिडियोसहित)

आइपिएल खेल्न दिल्ली जानुअघि सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली युवा बलर सन्दिप लामिछाने। तस्बिरः नारायण महर्जन/सेतोपाटी


नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने भोलि इण्डियन प्रिमियर लिग(आइपीएल) खेल्न भारत प्रस्थान गर्दैछन्।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर १७ वर्षीय सन्दीपले आफू दिल्ली जान अत्यन्त उत्साहित भएको भन्दै आफ्ना लागि यो ठूलो अवसर भएको बताएका छन्। उनले कार्यक्रमा आफूले धेरै कुरा सिकेर नेपाल क्रिकेटमा लागू गर्ने बताए।

‘मैले अवसर पाएको छु । मैले राम्रो गर्न सकेँ र मेरो टिम दिल्लीले राम्रो गर्‍यो भने म भन्दा धेरै योग्य दाइहरू हुनुहुन्छ। उहाँहरूका लागि बाटो खुल्छ।’

गत माघको दोस्रो साता भएको आइपीएलको अक्सनमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा टिममा अनुबन्ध गरेको थियो।

उनले आफूलाई दिल्लीले सबै कुराको अवसर दिएको बताए। ‘मलाई दिल्लीले ठूलो अवसर दिएको छ। त्यहाँ धेरै कुराहरू हुन्छ सिक्ने। हाम्रै टिममा अमित मिश्रा जस्ता लिजेन्ड लेगस्पिनरहरू छन्। आइपीएलमा लामो समय खेलिसकेका र लिडिङ विकेट टेकर हुन्। उहाँहरू जस्ताको अनुभवबाट धेरै सिक्न सक्छु म,’ उनले भने।

मेडिकल लगायतका प्रक्रिया पुरा गरेपछि एक दुई दिन पछि ट्रेनिङमा सामेल हुने उनले जानकारी गराए।

‘एक्साइटेड छु। यो मेरा लागि राम्रो अवसर हो। नयाँ प्लेटफर्म छ। त्यहाँबाट धेरै कुरा सिकेर नेपाली क्रिकेटमा केही गर्ने सोच छ। सिनियर दाइहरूले यहाँसम्म पुर्याइ दिनुभयो। धेरै आभारी छु।’

प्लेइङ ११ मा पर्ने बारे पत्रकारले सोधेको प्रश्नमा उनले टिमको प्लानमा भर पर्ने बताए। ‘टिमको जुन बेस्ट कम्बिनेशन हुन्छ प्लेइङ एलेवेनको त्यसैले मौका पाउने हो। अनि कस्तो ‘सिच्युएसन’मा खेल्दैछौं। टिमको प्लान के छ त्यो चाहीँ त्यसमा डिपेन्ड गर्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.