आईसीसी विश्वकप छनोटको वार्मअप खेलमा अफगानिस्तानले वेष्टइन्डिजलाई हराएको छ।
टस हारेर पहिले ब्याटिङ गर्दै अफगानिस्तानले १६३ रन बनाएको थियो। वर्षाले प्रभावित खेल त्यसपछि हुन सकेन र वेष्टइन्डिजलाई ३५ ओभरमा १४० रनको नयाँ लक्ष्य दिइयो।
१४० रनको लक्ष्य पछ्याएको वेष्टइन्डिज २६.४ ओभरमा अलआउट हुँदै ११० रनमा समेटियो।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले खराब सुरूवात गर्दै ८० रनमा ८ विकेट गुमाइसकेको थियो। नवौ विकेटका लागि सामुल्लाह सेनवारी र गुल्वादिन नाविदले ९१ रनको साझेदारी गरेपछि अफगानिस्तान सम्मानजनक स्कोरमा पुगेको थियो।
नाविदले ३८ बलमा ४८ रन बनाएर आउट भए भने सेनवारीले ५५ बलमा ४२ रन बनाउँदै नटआउट रहे।
यसअघि मोहम्मद नाबीले १४, सराफुदिन असरफ र नासिर जमलले समान १३ तथा रामद साहले १० रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
वेष्टइन्डिजका लागि कोट्रेलले ३ तथा होल्डर र विलियम्सले २-२ विकेट लिएका थिए।
१४० रनको लक्ष्य पछ्याएको वेष्टइन्डिज २६.४ ओभरमा अलआउट हुँदै ११० रन मात्र बनाउन सक्यो। इभिन लेविस र मार्लोन स्यामुअलले ४४ रनको साझेदारी गर्ने क्रममा क्रमशः १३ र २८ रन बनाउनु बाहेक अन्यले अफगानी बलरसामू खेल्न सकेनन्। ओपनर क्रिश गेल ९ रनमा आउट भएपछि खेल अफगानिस्तानको पक्ष्यमा ढल्किएको थियो।
अफगानिस्तानका लागि दाउलत जर्दानले ४ तथा सराफुदिन असरफ र रासिद खानले २-२ विकेट लिए।
यस्तै आजै भएको अर्को खेलमा हङकङलाई नेदरल्याण्डले ८ विकेटले हरायो।
टस हारेर पहिले ब्याटिङ गर्दै हङकङले दिएको १५७ (नयाँ लक्ष्य ४६ ओभरमा १५३) रनको लक्ष्य नेदरल्याण्डले ३५.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो। उसका लागि वेस्ली वारेसीले ४७ तथा म्याक्स ओ डोल्डले ४५ र बेन कोपरले नटआउट ४४ रन बनाए।
हङकङका निजाकात खान र वाक्स वारकाटले १-१ विकेट लिएका थिए।
यसअघि हङकङले ४१ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। उसका लागि कप्तान बाबर हायातले ८५ रन बनाए पनि अन्यले खेल्न सकेका थिएनन्।
यस्तै आजै भएको तेस्रो खेलमा पिएनजीलाई स्कटल्याण्डले ७ विकेटले हरायो।
टस हारेर पहिले ब्याटिङ गर्दै पिएनजीले बनाएको १९६ रनको लक्ष्य स्कटल्याण्डले ३६.४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो। उसका लागि म्याथ्यु क्रसले नटआउट १०१ रन बनाएका थिए। केल कोइतजेरले ४६ रन बनाएका थिए।