दक्षिण अफ्रीकाविरुद्ध जारी टेस्ट सिरिजको दोस्रो खेलमा भारत पराजित भएको छ ।
बुधबार अन्तिम दिनको खेलमा २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमा अलआउट भएसँग १ सय ३५ रनले पराजित भयो। यो सँगै सिरिजमा दक्षिण अफ्रिकाले २-०ले कब्जा जमाएको छ ।
डेब्यू गरिरहेका तीव्र गतिका बलर लुंगी एनगिडीले ६ विकेट लिएपछि बुधबार भारतको इनिङ्स धराशायी भएको थियो। भारतका लागि रोहित शर्माले सर्वाधिक ४७ रन जोडे पनि अन्यले खेल्न सकेनन्। भारतका लागि मोहमद शामीले २८ तथा चेतेश्वर पुजारा र पार्थिव पटेलले समान १९ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न नसक्दा दक्षिण अफ्रिकालाई खेल सुम्पनुपरेको थियो।
पहिलो इनिङ्समा २८ रनको अग्रता लिएको दक्षिण अफ्रिकाले दोश्रो इनिङ्समा २ सय ५८ रन जोड्दै भारतलाई २ सय ८७ रनको लक्ष्य दिएको थियो । चौथो दिन मंगलबार २ विकेटको क्षेतिमा ९० रनबाट खेलअघि बढाएको घरेलु टोलीले सबै विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । अघिल्लो दिन ५० रनमा अविजित रहेका एबी डि भिलियर्सले ८० रन जोडे । डिन एल्गर ६१ र फाफ डु प्लेसिस ४८ रन बनाए ।
भारतका लागि मोहमद सामीले सर्वाधिक ४, जसप्रित बुमराले ३, इशान्त शर्माले २ र रविचन्द्रन आश्विनले १ विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ३ सय ३५ तथा भारतले कप्तान कोहलीको १ सय ५३ रनको मद्दतमा भारतले ३ सय ७ रन बनाएको थियो । तीन टेस्टको श्रृखंलामा दक्षिण अफ्रिकाले २–० को अग्रता लिएको छ । पहिलो टेस्ट घरेलु टोलीले ७२ रनले जितेको थियो ।
अन्तिम टेस्ट जनवरी २४ बाट जोहानेसबर्गमा सुरू हुनेछ।