यी हुन् आईपिएलमा रिटेन हुन नसकेका यी ८ स्टार खेलाडी


ईन्डियन प्रिमियर लिग (आईपिएल) को ११ औं संस्करणका लागि सहभागी सबै ८ टोलिले खेलाडी रिटेन गरिसकेका छन्।

दुई बर्षको प्रतिबन्ध खेप्दै चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्स आईपिएलमा फर्किएका छन्।

प्रत्येक टोलिले अधिकतम ३ जना खेलाडी मात्र रिटेन गर्न पाउने व्यवस्था अनुसार सबै ८ टोलिले केहि दिन अघि मात्र एक समारोह मार्फत खेलाडी रिटेन गरेका हुन्।

विराट कोहली, एबी डीभिल्लर्स, रोहित शर्मा, महेन्द्रसिंह धोनी, स्टिभ स्मिथ, डेभिड वार्नर जस्ता खेलाडीहरुलाई टिमहरुले रिटेन भए।

कार्यक्रममा रोयल च्यालेन्जर्स बैंगलोरले कोहलीलाई भारतीय रुपैया १७ करोड तिर्दै पुनः आफ्नै टिममा रोकेको हो। योसँगै अब विराटले अर्को तीन वर्ष बैंगलोरको टोलीबाटै खेल्ने भएका छन्। विराटसँगै बैंगलोरले दक्षिण अफ्रिकी सुपरस्टार एबी डीभिल्लियर्सलाई पनि रिटेन गर्‍यो।

अक्सन अघि ३ खेलाडी मात्र रिटेन गर्न पाएपनि, सन् २०१७ को १० औं संस्करणमा आफ्नो टोलिमा रहेका खेलाडीलाई अक्सनका समय “राईट टु म्याच” (आरटिएम) प्रयोग गरि किन्न सकिने प्रावधान छ। “राईट टु म्याच” भन्नाले, यदि अघिल्लो संस्करणमा आफ्नो टोलीमा रहेका खेलाडीलाई अन्य कुनै टोलीले किन्न लागेको खण्डमा अर्को टोलीले तिर्न लागेको नै मूल्य तिरेर किन्न सक्ने व्यवस्था हो।

तर खेलाडी रिटेन गर्दाको केहि निणर्यले भने सारा आईपिएल समर्थकलाईनै चकित बनायो। आईपिएलका केहि स्टार खेलाडीलाई आफ्नो फ्रेन्चाइजले रिटेन गरेनन्।

जसलाई आफ्ना टोलीले रिटेन गरेनन् :

क्रिस गेलः

वेस्ट ईन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेललाई रोयल च्यालेन्जर्स बैंगलोरले रिटेन गरेन। टी-२० क्रिकेटमा विश्वकै सबैभन्दा खतरनाक ब्याट्सम्यानका रुपमा गेललाई लिने गरिन्छ। बैंगलोरका लागि पनि धेरै बिष्फोटक पारि खेलेका छन्। टी-२० क्रिकेटमा १०,००० रन बनाउने पहिलो खेलाडी पनि हुन् गेल।

गौतम गम्भीर :

आईपिएलकै सबैभन्दा सफल कप्तान मध्येका एक मानिने गौतम गम्भीरलाई यसपटक कोलकत्ता नाईट राईडर्सले रिटेन गर्न उचित ठानेन। सौरभ गांगुलीको स्थानमा कप्तान बने यता गम्भीरले कोलकत्तालाई आईपिएल इतिहासकै एक सफल टोली बनाएका छन्। तर आफ्नो सफल कप्तानलाईनै रिटेन नगर्नु कोलकत्ताको आश्चर्यजनक निर्णय रह्यो।

युवराज सिंह :

सनराईजर्स हैदराबादको रिटेनेशन सूचिमा नपरेका अर्का स्टार खेलाडी हुन् युवराज सिंह। बायाँहाते बिष्फोटक ब्याट्सम्यान युवराजले आईपिएल क्रिकेटमा एक “म्याच विनर” को रूपमा आफूलाई स्थापित गरेका छन्। अल-राउण्ड प्रदर्शनको क्षमता राख्ने युवराज आफ्नो एक्लो प्रयासमा खेल जिताउन सक्षम खेलाडी हुन्। सन २०१६ मा सनराईजर्स हैदराबादले आईपिएल ट्रफी जित्दा, युवराजको भूमिका महत्वपूर्ण थियो।

शिखर धवन :

बायाँ हाते बिष्फोटक ब्याट्सम्यान शिखर धवनलाई सनराईजर्स हैदराबादले यस पटक रिटेन गरेन। भारतका नियमित ओपनर धवन, पछिल्लो केही समयदेखि उत्कृस्ट लयमा रहेका छन्। अघिल्लो सिजनको आईपिएलमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको सूचिमा शीर्ष ३ मा अटाएका धवन यसपटक अक्सनमा गएका छन्।

ग्लेन म्याक्स्वेल :

यस सिजनको आईपिएलमा रिटेन हुन नसकेका अर्का टि-२० का स्टार खेलाडी हुन् ग्लेन् म्याक्स्वेल। किंग्स एलेभेन पन्जावका लागि पछिल्ला केही सिजनदेखि खेल्दै आएका म्याक्स्वेल अहिले भने लयमा देखिएका छैनन्। खतरनाक अष्ट्रेलियन ब्याट्सम्यान म्याक्स्वेल भर्खरै मात्र अष्ट्रेलियाको राष्ट्रिय टोलिबाट पनि ड्रप भएका छन्। केहि समय किंग्स एलेभेन पन्जावको कप्तानी समेत गरेका म्याक्स्वेल यस पटक भने अक्सनमा जानेछन्।

डेभिड मिलर :

दक्षिण अफ्रिकी बिष्फोटक ब्याट्सम्यान डेभिड मिलरलाई पनि यसपटक किंग्स एलेभेन पन्जावले रिटेन गरेन। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने ब्याट्सम्यानको किर्तिमान भर्खरै मात्र आफ्नो नाम गरेका मिलरले आईपिएलमा समेत शतक बनाईसकेका छन्। पन्जावका लागि एक्लो प्रयासमा केहि खेल जिताईसकेका मिलरले अघिल्लो सिजनमा भने खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।

हाशिम आम्ला :

किंग्स एलेभेन पन्जावले यसपटक रिटेन नगरेका अर्का टी-२० का स्टार खेलाडी हुन् हाशिम आम्ला। आम्लाले अघिल्लो सिजन किंग्स एलेभेनबाट खेल्दै प्रतियोगितामा दुई शतक बनाएका थिए। क्लासिकल ब्याट्सम्यानका रुपमा चिनिने आम्लालाई पन्जावले रिटेन नगर्दा सारा आईपिएल समर्थक चकित भए। टि-२० क्रिकेटमा पनि क्लासिकल ब्याट्सम्यानको भूमिका हुन्छ भनेर आम्लाले प्रमाणित गरिसकेका छन्। अब आम्लापनि जनवारीको २७ र २८ तारिखमा हुने अक्सनमा जानेछन्।

डव्येन ब्राभो :

वेस्ट ईन्डिजका स्टार टि-२० अल-राउण्डर डव्येन ब्राभो पनि रिटेन नभएका एक प्रमुख खेलाडी हुन्। इनिङको अन्त्यतिर आई ठूला सट प्रहार गर्न र आफ्नो चतुर बलिङका लागि चिनिने ब्राभो रिटेन हुन सकेनन्। चेन्नई सुपरकिंग्सबाट २०१५ को सिजन खेलेका ब्राभोले चेन्नई प्रतिबन्धित भएपछि भने गुजरात लायन्सबाट खेलेका थिए। तर यसपटक चेन्नईले महेन्द्र सिंह धोनी, सुरेश रैना र रबिन्द्र जडेजालाई रिटेन गर्‍यो। उत्कृष्ट अल-राउण्ड क्षमतासँगै खेलमा पृथक शैलीको कारणले गर्दा पनि ब्राभो आईपिएलमा परिचित छन्। उनको च्याम्पियन डान्स विश्वभरिका क्रीकेट समर्थकमाझ निकै प्रख्यात छ।

 

 

यी ८ खेलाडी बाहेक अन्य केहि त्यस्ता खेलाडी छन् जो रिटेन नहुँदा सारा क्रिकेटप्रेमी अचम्मित रहे।

ती हुन्- यजुभेन्द्र चहल, केएल राहुल, रबिचन्द्रन आश्विन, ब्रेन्डन मैक्कलम आदि खेलाडी रिटेन हुन सकेनन्।

यी खेलाडीहरूमाथि आगामी जनवरी २७ र २८ मा हुने अक्सनमा मोल गरेर टिमले भित्र्याउनेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.