भैरहवालाई १ रनले हराउँदै विराटनगरले जित्यो इपिएल

तस्बिरः रवि महर्जन/सेतोपाटी


भैरहवा ग्लाडीयटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिगको उपाधि जितेको छ।

विराटनगरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले पुरै ओभर खेले पनि ९ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो।

भैरहवाका लागि कप्तान शरद भेषवाकरले अर्धशतक बनाउँदै ५२ रनको पारी खेले। ओपनर प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिए पनि टिमलाई जिताउन सकेनन्।

रन आउट हुनुअघि भेषवारकले ३९ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर प्रथम सालुन्कीले ३० रन बनाएका थिए। आरिफ शेखले २७ रनको विस्फोटक पारी खेलेका थिए।

भैरहवाको सुरूवात राम्रो थिएन। १९ रन हुँदा पहिलो विकेट गुमाएको भैरहवाका लागि कप्तान शरद भेषवाकर र प्रथम सालुन्कीले ६८ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए।  राहुल यादव र प्रदीप ऐरीले समान ६-६ रन बनाएका थिए।

विराटनगरका अंशुमन रथले एकै ओभरमा ३६ रन दिएपछि खेलमा फर्किएको थियो। विराटनगरका लागि पारस खड्काले ३ तथा अनिल साह र करण केसीले २-२ विकेट लिए। अन्तिम ओभरमा ९ रन आवश्यक परेकोमा भैरहवाले ३ विकेट गुमाउँदै ७ रन मात्र जोडेको थियो।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल खडा गरेको थियो।

विराटनगरका लागि प्रतियोगिताकै सर्वाधिक रनकर्ता अंशुमन रथले ४१ रनको योगदान दिए। पारस खड्काले २७ तथा अनिल कुमार साहले २२ रन जोडे।

विराटनगरको स्कोर ३४ रन हुँदा पहिलो विकेट गुमाएको थियो। आशिफ शेख सात रनमा आउट भए । त्यसपछि टिमको स्कोर ५८ रन हुँदा विराटनगरले दोस्रो विकेट गुमायो। प्रतियोगिताका सर्वाधिक रनकर्ता बावर हायात ११ रनमै यसपालि पभेलियन फर्किए।

टिमको स्कोर ८३ रन हुँदा आक्रमक खेलाडी अंशुमान रथ ब्यक्तिगत ४१ रनमा पेभेलियन फर्किएपछि तेस्रो विकेट गुमायो। यो प्रतियोगितामा खासै राम्रो खेल्न नसकेका कप्तान पारस खड्का ब्यक्तिगत २७ रनमा आउट भएपछि एक सय रनमा चौथो विकेट खेर फाल्यो।

त्यसपछि अनिलकुमार शाहले २२ रनको योगदान गर्दा प्रनित थापा मगरले १४ रन थपे। बलिङ तर्फ कृष्ण कार्की र हरिशंकर शाहले दुई दुई विकेट लिएका थिए।

अघिल्ला दुवै खेलमा विराटनगरले भैरहवालाई पराजित गरेको थियो।

प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको विराटनगरले लिग चरणमा पाँच खेल जित्दै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा भैरहवालाई नै पराजित गरेको थियो।

विराटनगरले उपाधि जितेसँगै एउटै प्रतियोगितामा भैरहवामाथि पारसको टिमको जित तथा शरद भेषवाकरको टिमको हारको ह्याट्रिक भएको हो।

प्रतियोगिताको म्यान अफ द म्याच ३ विकेट लिनुका साथै २७ रन बनाएका विराटनगरका कप्तान पारस खड्का भए।

यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएभल प्लेयर भैरहवाका रोहितकुमार पौडेल भए।

यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिज विराटनगरका बाबर ह्यात भए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.