भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनी आगामी सन् २०१९ मा हुने विश्वकपसम्म टिममा रहने भएका छन्।
धोनीको विकल्पका रुपमा रहेका कुनै पनि विकेटकिपरले सोचेजस्तो राम्रो प्रदर्शन नगरेका कारण धोनीको विश्वकप यात्रा पक्का भएको भारतीय क्रिकेट टिमका मुख्य छनोटकर्ता एमएसके प्रसादले जनाउ दिएका छन्।
अहिलेको भारतीय क्रिकेट टिममा धोनी सबैभन्दा उत्कृष्ट विकेट किपर हुन्। यसअघि अगष्टमा प्रसादले धोनीले राम्रो खेल नखेले उनको विकल्पको बारेमा सोच्ने बताएका थिए। प्रसादको यस्तो बयानपछि धोनीका समर्थकहरुले सामाजिक सञ्जालमा उनको चर्को विरोध गरेको बिबिसी हिन्दीले जनाएको छ।
प्रसादको यस्तो प्रतिक्रियापछि ३२ वर्षीय दिनेश कार्तिकलाई दोस्रो बिल्पको रूमा विकेटकिपिङ गर्ने मौका मिलेको छ। शनिबार दक्षिण अफ्रिकाविरुद्धको खेलका लागि टिम घोषणाका क्रममा सोध्दा प्रसादले भने, ‘हामीले केही विकेटकिपर तयार गरिरहेका छौँ । तर विश्व कपसम्म धोनी नै विकेटकिपर रहनेछन् । त्यसपछि मात्र हामी अर्को विकेटकिपर तयार गर्न सुरु गर्नेछौँ ।’ प्रसादले भने, ‘महेन्द्र सिंह धोनी अहिले पनि विश्वकै एक नम्बरका विकेटकिपर हुन् । उनले दोहोर्याए, ‘भारतीय क्रिकेटमा मात्र होइन दुनियामै अहिले धोनी बराबरको कोही विकेटकिपर छैनन् ।’
पछिल्लो समय श्रीलंकाबिरूद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका धोनीले यसअघि अष्ट्रलिया र चेन्नई वान डेमा पनि राम्रो खेलेका थिए।
श्रीलंकाविरूद्धको सिरिज ५-० ले जितेको भारतका लागि धोनोको योगदान महत्वपूर्ण छ।
प्रसादको यो बयानपश्चात् २०१९ मा हुने विश्वकप क्रिकेटमा भारतीय टिमका विकेटकिपर धोनीनै हुने निश्चित छ ।प्रसादको यो कुरा ऋषभ पंत र संजू सैमसन जस्ता विकेटकिपरका लागि चिन्ताको विषय बन्न सक्छ । तर प्रसादले भने, ‘म स्पष्ट रुपमा भन्छु कि धोनी अहिलेसम्म हामीले सोचेको स्तरमा पुग्न सकेको छैन । फेरि पनि हामी मौका दिदैँछौँ । हेरौँ भविष्यमा कस्तो प्रदर्शन गर्न सक्नेछ ।’