रोहित शर्माले एक दिवसीय क्रिकेटमा तेस्रो दोहोरो शतक पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन्।
नियमित कप्तान विराट कोहलीको अनुपस्थितिका कारण श्रीलंका विरुद्ध एक दिवसीय शृंखलामा कप्तानीको भूमिकामा रहेका शर्माले अविजित २०८ रन बनाउँदै बिश्व क्रिकेटमा तेस्रो दोहोरो शतक बनाउने किर्तिमान बनाए।
रोहितले १५३ बल खेल्दै १३ चौका र १२ छक्का प्रहार गर्दै २०८ रन बनाए। यस क्रममा उनले शिखर धवनसँग पहिलो विकेटको लागि ११५ रनको, दोस्रो विकेटको लागि ऐएरसँग २१३ रनको साझेदारी गरेका थिए।
पहिलो ५० रन पूरा गर्न रोहितले ६५ बल लगाएका थिए भने १०० रन ११५ बलमा पूरा गरेका थिए। त्यसपछि आफ्नो गेम परिवर्तन गरेका रोहितले १५० रन १३३ बलमा पूरा गरेका थिए भने खेलको अन्तिम ओभरमा दोहोरो शतक पुरा गर्न उनले १५१ बल लगाएका थिए।
४९ ओभर सकिंदा रोहितको स्कोर १९१ रन थियो। ५० औं ओभरको पहिलो बलमा थिसारा परेराको बलमा छक्का प्रहार गरेका रोहितले दोस्रो बलमा २ रन लिँदै स्कोर १९९ पुर्याएका थिए। लगत्तै तेस्रो बलमा २ रन लिँदै रोहितले ऐतिहासिक दोहोरो शतक पूरा गरेका थिए।
दोहोरो शतक पूरा गरेपछि उनले हावामा उफ्रदै सेलिब्रेट गरेका थिए।
एक दिवसीय क्रिकेटमा तेस्रो पल्ट दोहोरो शतक बनाउने उनी एक मात्र व्याट्सम्यान हुन्। उनले सन् २०१३ मा पहिलो पल्ट अस्ट्रेलिया विरुद्ध २ सय ९ रन बनाएका थिए। सन् २०१४ मा उनले श्रीलंका विरुद्ध नै कोलकाताको इडेन गार्डेनमा २ सय ६४ रन बनाएका थिए।
दोहोरो शतक बनाउने ब्याट्सम्यानहरु रोहित शर्माको यो शतक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं दोहोरो शतक हो। यसअघि पहिलो पटक सन् २०१० मा सचिन तेन्दुलकरले दक्षिण अफ्रिका बिरुद्ध पहिलो पटक दोहोरो शतक (२००*) पूरा गरेका थिए।
त्यसपछि विरेन्द्र सेहवागले सन २०११ मा वेस्ट इन्डिज बिरुद्ध दोहोरो शतक (२१९) पूरा गरेका थिए।
सन् २०१३ मा रोहित शर्माले अस्ट्रेलियाबिरुद्ध २०९ रन बनाउँदै दोहोरो सतक बनाएका थिए। यस्तै सन् २०१४ मा शर्माले नै श्रीलंका बिरुद्ध २६४ रनको इनिङ खेल्दै दोस्रो दोहोरो शतक पूरा गरेका थिए।
त्यसपछि २०१५ मा क्रिस गेलले जिम्बाबे बिरुद्ध दोहोरो शतक (२१५) प्रहार गरेका थिए।
मार्टिन गुप्तिलले सन् २०१५ मै वेस्ट इन्डिज बिरुद्ध २३७ रनको इनिङ खेलेका थिए।