रोहित शर्माले आफ्नो करियरको तेस्रो दोहोरो शतक प्रहार गरेपछि भारत र श्रीलंकाबीच जारि एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत फराकिलो अन्तरमा विजयी भएको छ।
पन्जाब क्रिकेट एसोसिएसनको मैदान, मोहालीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३९२ रनको विशाल योगफल बनायो।
उसका लागि कप्तान रोहित शर्माले अविजित २०८ रनको बिशाल पारी खेले। १५३ बल खेलेका शर्माले १३ चौका र १२ छक्का प्रहार गरेका थिए।
यस्तै ओपनर शिखर धवनले रोहितसँग ११५ रनको साझेदारी गर्दै ६८ रन बनाएर आउट भए। उनले पनि ६७ बलमा ९ चौका प्रहार गरे।
दोस्रो विकेटका लागि श्रेएस ऐयरसँग रोहितले २१३ रनको साझेदारी गरेका थिए। ऐयरले ९ चौका र २ छक्कासहित ८८ रन बनाए। भारतका लागि महेन्द्रसिंह धोनीले ७ रन तथा हार्दिक पाण्ड्याले ८ रन बनाए।
श्रीलंकाका लागि कप्तान थिसारा परेराले ३ विकेट लिए।
३९३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पाहुना टोली श्रीलंकाले पुरै ५० ओभरमा ८ विकेट गुमाएर २५१ रन मात्र बनाउन सक्यो। उसका लागि एन्जेलो म्याथ्युजले अविजित १११ रनको पारि खेले पनि अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो थिएन।
म्याथ्युजले १३२ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै असेला गुनारात्नेले ३४ रन बनाए भने निरोशन डीकेविल्लाले २२ रन बनाएका थिए। लाहिरु थिरिमानेले २१ रन बनाएर आउट भए।
भारतका लागि युज्बेन्द्र चाहलले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए। थप विकेट भुवनेश्वर कुमार, हार्दिक पाण्ड्य र वासिंगटन सुन्दरले लिए।
यसअघि पहिलो एकदिवसीयमा श्रीलंकाले भारतमाथि ७ विकेटको जित निकालेको थियो। सिरिजको अन्तिम खेल डिसेम्बर १७ मा बिसाखापट्नममा हुनेछ ।