धनगढीमा पहिलो मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरू भएको छ।
बुधबार धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा सुरू भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन्।
प्रतियोगितामा बागमती, कोशी, गण्डकी र सुदूरपश्चिमका गरी चार प्रदेशका खेलाडी सहभागी छन्।
विभागीय टिम सशस्त्र प्रहरी पनि प्रतियोगितामा सहभागी छ। इपीमा २० वर्षमुनि उमेरका महिला र पुरूष दुवै विधामा खेल भइरहेका छन्।
यस्तै, सेबरमा खुलातर्फ महिला र पुरूष गरी जम्मा ७७ जना खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ।
फेन्सिङ खेललाई तरबार बाजी भनेर पनि चिन्ने गरिन्छ। यो एक पुरानो खेल हो। सन् १८९६ मा एथेन्समा भएको पहिलो ओलम्पिक खेलमा समावेश ५ मध्ये फेन्सिङ पनि एक थियो।
सुदूरपश्चिमका खेलाडीले फेन्सिङमा ८ औं राष्ट्रिय खेलकुदमा र प्रथम वीर गणेशमान सिंह राष्ट्रिय च्याम्पियनसिपमा कास्य पदक जितेका थिए।
यस्तै, ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा १ स्वर्ण, २ कास्य पदक जितेका थिए। केही दिन अगाडि पोखरामा सम्पन्न इपी विधामा सुपका खेलाडीले जुनियर खेलमा १ रजत र १ कास्य जितेका थिए।
मुख्यमन्त्री शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताए।
उनले खेलमा सहभागी हुन आएका सबैलाई सुदूरपश्चिममा स्वागत गर्दै खेल जगतलाई अगाडि बढाउने काम हुने बताए।
उनले खेलाडीको मनोबल र हौसला बढाउने काम गर्ने समेत बताए।
संघका कैलाली अध्यक्ष जलेन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका केन्द्रीय अध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना दिएका थिए।
प्रतियोगिताका फाइनल खेल बिहीबार हुनेछन्। विभिन्न विधामा प्रथमले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो र चौथो हुने खेलाडीले ५/५ हजार पुरस्कार पाउने छन्।