शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा सम्पन्न लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाईं प्रथम भएका छन्।
मदन भण्डारी स्पोर्ट्स् एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बिहीबार लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता आयोजना गरेको थियो।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका अधिकारीले २१ किलोमिटरको दूरी १ घण्टा ६ मिनेट २ सेकेन्डमा पार गर्दै पुरूषतर्फ प्रथम बनेका हुन्।
त्यस्तै, महिलातर्फ नेपाल प्रहरीकी पछाईंले सोही दुरी १ घण्टा २४ मिनेट २ सेकेन्डमा पार गर्दै प्रथम बनेकी हुन्।
प्रतियोगितामा पुरूषतर्फ प्रथम भएका अधिकारीले १ लाख ५० हजार तथा महिलातर्फ प्रथम भएकी पछाईंले १ लाख ५१ हजार रुपैयाँसहित सिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा पुरूषतर्फ एपिएफका गोपीचन्द्र पारखीले १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए भने त्रिभुवन आर्मीका मुकेश पालले १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए।
पुरूषतर्फ नै त्रिभुवन आर्मीकै नरेन्द्र रावलले १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै चौथो भए।
त्यस्तै, महिलातर्फ एपिएफका विन्द्रा धान्के श्रेष्ठले १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन् भने नेपाल प्रहरीका रेखा विष्टले १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तेस्रो र र त्रिभुवन आर्मीकी पूर्णलक्ष्मीले १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै चौथो भइन्।
महिला र पुरूष दुवैतर्फ दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै, दुवै विधातर्फ पाँचौंले २० हजार, छैटौंले १० हजार, सातौले ७ हजार तथा आठौं, नवौं र दशौंले ५/५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
पुरूषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौं, महिनदेव जोशी छैटौं भए भने एपिएफका राजेन्द्र तामाङ सातौं, त्रिभुवन आर्मीकै जितेन्द्र दनुवार आठौं, प्रेमबहादुर बस्नेत नवौं र टंक कामी दशौं भए।
यस्तै, महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा पाँचौं, एपिएफका आशा रावल छैटौं, त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौं तथा खुलाबाट सुर्खेतकी बिन्दु हमाल आठौं भइन्।
त्यस्तै, नवौंमा त्रिभुवन आर्मीकी निर्मला पुन र शारदा शाही दशौं भइन्।
प्रतियोगिताका विजेतालाई अपरान्ह आयोजना हुने मूल समारोहमा एकेडेमीका संरक्षक समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गर्ने छन्।
प्रतियोगितामा देशभरका २ हजार ५ सय जनाले म्याराथनमा सहभागिता जनाएको एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले बताए।
यसअघि बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको शान्ति दीपबाट मसाल बालेर ओलम्पिक कोच चन्द्र बहादुर घले र बिमला रानालाई हस्तान्तरण गर्दै ओलीले म्याराथनको उद्घाटन गरेका थिए।
मायादेवी प्रवेशद्वारबाट सुरू भएको म्याराथनका सहभागीहरूले पर्साचौकबाट पुन महिलबार हुँदै लुम्बिनीको २ फन्का लगाएर २१ किलोमिटरको दूरी पार गरेका थिए। म्याराथनमा ओलीले समेत केहीबेर दौडिएर सहभागिता जनाएका थिए।