गोरखाको पालुङटारमा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ।
लिगलिगकोटको ऐतिहासिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई झल्काउँदै पर्यटन विकास गर्ने उद्देश्यले लिगलिगे साइकल दौड वर्षेनी प्रतियोगिता आयोजना गरिँदै आएको छ।
शनिबार भएको उक्त प्रतियोगितामा नेपाली सेनाका हिमाल टमाटा प्रथम भएका छन्। यस्तै अच्युत कृष्ण खरेल दोस्रो र कुमार तामाङ तेस्रो भएका छन्।
लिगलिगकोटबाट सुरू भएको साइकल दौड आपँपिपल भञ्ज्याङ– हर्मी भञ्ज्याङ– मुकुन डाँडा–आँपपिपल अस्पताल–वनटार– भण्डारथोक–चेपेपुल–गरमवेशि–चेपेघाट दोभान–हवाइग्राउन्ड– तालपोखरी–कालमाटा–नगरपालिकाको कार्यालय–बाह्रपिर्के–लुइटेल–वटडाँडा–बोहोरागाउँ–बिजुलीडाँडा–खोल्ली हुँदै पुन: लिगलिगकोटमा आएर टुंगिएको हो।
प्रतियोगितामा पुरुष इलाइट, पुरुष मास्टर र स्थानीय गरी ३ विधामा पुरस्कारको व्यवस्था गरिएको छ।
कुल ५३ किलोमिटर साइकल दौडमा इलाइटतर्फ प्रथम भएका टमाटालाई ७५ हजार, दोस्रो भएका खरेललाई ५० हजार, तेस्रो भएका तामाङले ३० हजार नगदको साथमा मेडल पुरस्कार पाउँदैछन्।
चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई ७५ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ।
त्यस्तै मास्टर पुरूष तर्फप्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार पुरस्कार पाउने छन्।
पालुङटार, गोरखा, राइनस, भानु नगरपालिका र सिराचोक गाउँपालिकाका स्थानीयतर्फबाट सहभागी भएर प्रथम आन्ने प्रतियोगीले पाँच हजार, दोस्रो बन्नेले तीन हजार र तेस्रो बन्नेले दुई हजार पुरस्कार पाउने छन्।
पछिल्लो दुई वर्षदेखि गरिँदै आएको प्रतियोगितालाई यसपटक पनि निरन्तरता दिएको आयोजक भिलेज स्पोर्टसले जानकारी दिएको छ।
प्रत्येक वर्ष दौडेर राजा हुने परम्परा भएको लिगलिगकोट क्षेत्रको इतिहास, संस्कृति र प्रकृतिलाई साहसिक खेलकुदको माध्यमद्वारा उजागार गरी पर्वतीय पर्यटनको विकास गर्ने उद्देश्यले लिगलिग भिलेज स्पोर्ट्सका अध्यक्ष बिनोद श्रेष्ठले बताए।
'खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गराउने हाम्रो प्रमुख उद्देश्य हो,' उनले भने।
तस्बिरहरू: