पोखरा म्याराथनको उपाधी केन्याली धावक स्टेफेन कोस्गेइले जितेका छन्।
शनिबार पोखरा रंगशालाबाट सुरू भएको म्याराथन प्रतियोगितामा स्टेफेनले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरा गरेर उपाधी जितेका हुन्।
उनले गत वर्षपनि उक्त उपाधी जितेका थिए। गत वर्ष उक्त दुरी स्टेफेनले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए।
प्रतियोगिताको दोस्रो स्थानमा पनि केन्याली धावक जुलियस ओहोमेले जितेका छन्। दोस्रो स्थानमा आएका जुलियसले उक्त दुरी २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पुरा गरे। तेस्रो स्थानमा भने नेपाली सेनाका धावक होमलाल श्रेष्ठ आएका छन्। श्रेष्ठले सोही दुरी २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पुरा गरे।
यस्तै, महिलातर्फ हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाई पहिलो भएकी छिन्। उनले २१ किलोमिटर दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गरिन्। दोस्रो स्थानमा सशस्त्र प्रहरी क्लबकी बृन्दा श्रेष्ठले उक्त दुरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पुरा गरेकी थिइन्।
महिलातर्फको हाफ म्याराथनमा नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले सोही दुरी १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पुरा गरेर तेस्रो स्थान हासिल गरेकी छिन्।
प्रतियोगितामा पुरुषतर्फ विजेता स्टेफेनले पुरस्कार स्वरुप नगद ५ लाख, दोस्रो जुलियसले ३ लाख र तेस्रो स्थान हासिल गरेका होमलालले २ लाख पुरस्कार पाएका छन्।
महिलातर्फ हाफ म्याराथनमा पहिलो भएकी राजपुराले १ लाख ५० हजार, द्धितीय भएका बृन्दाले १ लाख र तेस्रो भएकी पूर्णलक्ष्मीले ७५ हजार पुरस्कार पाएकी छिन्।
भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगितामा सातवटै प्रदेश र विभिन्न देशका खेलाडी सहभागी भएका थिए। प्रतियोगिता विगत १७ वर्षदेखि आयोजना हुँदै आएको छ।