पोल्यान्डका खेलकुद तथा पर्यटन मन्त्रीले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ओलम्पिक गेम्स बहिस्कार गर्न सक्ने चेतावनी दिएका छन् ।
इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) ले रूस र बेलारुसका खेलाडीलाई सहभागिता गराउने विभिन्न उपायहरू खोज्दै गरेको बताएपछि पोल्यान्डका खेलकुद तथा पर्यटन मन्त्री कमिल बोर्टनिक्जुकले करिब ४० देशले ओलम्पिक बहिस्कार गर्न सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
रूस र बेलारुसका खेलाडीलाई सहभागी गराउने आईओसीको योजनालाई पोल्यान्ड, लिथुनिया, इस्टोनिया र लाटभियाले संयुक्त रुपमा अस्वीकार गरेपछि बोर्टनिक्जुकको यस्तो भनाइ सार्वजनिक भएको हो।
रुस र बेलारुसका खेलाडीलाई सहभागी गराए पेरिस ओलम्पिक बहिस्कार गर्ने युक्रेनले यसअघि नै चेतावनी दिइसकेको छ। तर आईओसीले भने रुस र बेलारुसलाई खेल्न रोके केवल खेलाडीहरुलाई सजाय दिएझै हुने जिकिर गर्दै आएको छ।
बोर्टनिक्जुकले बेलायत, अमेरिका र क्यानाडासम्मिलित ४० देश मिलेर आईओसीलाई सो निर्णय लिनबाट रोक्न संयक्त रुपमा अघि बढ्नुपर्ने बताए।
‘हामीले ओलम्पिक अघि कडा निर्णयहरूको सामना गर्नेछौं र यदि हामीले खेल बहिष्कार गर्ने हो भने ओलम्पिकलाई व्यर्थ बनाउन पर्याप्त हुनेछ’, उनले भने।
आईओसीको निर्णयमा बेलायत सरकारले यो योजना युद्धको वास्तविकताबाट टाढाको संसार भएको प्रतिक्रिया दिएको छ।