पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्डहलमा शनिबारदेखि राष्ट्रिय हक्की प्रतियोगिता सञ्चालन भइरहेको छ।
प्रतियोगिताका दौरान आइतबार दिउँसो नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश बीचको खेल दोस्रो हाफ चल्दै थियो। खेल शुरु भएको २ मिनेटमै कभर्ड हलको देब्रेतर्फ छानामा आगो देखियो।
आयोजक नेपाल हक्की संघले तत्काल खेल स्थगित गरेर आगो नियन्त्रण गर्न दमकल बोलायो। कभर्डहलको देब्रे छानामा जिप्सन जोडिएको ठाउँमा आगलागी भएको संघका बरिष्ठ उपाध्यक्ष हिमाल खड्काले सेतोपाटीलाई जानकारी दिए। खड्काका अनुसार बिजुलीको लाइन सर्ट भएर आगलागी भएको हो।
‘अहिले आगो नियन्त्रणमा आइसकेको छ,’ उनले भने, ‘हामी प्रतियोगिता शुरू गर्न गइरहेका छौ।’
राष्ट्रव्यापी हक्की प्रतियोगिता पहिलो पटक आयोजना गरेको खड्काले बताए। जहाँ विभागीय टिमसहित सात वटा प्रदेशका टिम सहभागी छन्।
आइतबार सकिने प्रतियोगितामा आगलागीले केही समय अवरोध पारेको उनले बताए।
पोखरास्थित बहुउद्देशीय कभर्डहलमा सबै सुविधा रहेको र आधुनिक भएकाले प्रतियोगिता पोखरामा आयोजना गरेको उनको भनाई छ। ‘यतिको कभर्डहल नेपालमा अर्को छैन, त्यही भएर हामीले पोखरा रोजेका हौं,’ उनले भने।