सहासिक खेलको सम्भावना नेपालमा धेरै छ। भौगोलिक बनोटमा धनी नेपालमा यसै साता पोखरामा पहिलो हिमालयन एक्सट्राइ ट्रायथलोन सम्पन्न भएको छ।
फेवातालबाट सुरू भएको यात्रा करिब १७ घण्टाको अविधि पछि मात्र सकिएको थियो। स्वीडेनका जोन हसलमार्कले निर्धारित दूरा समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरे।
प्रतियोगिताले नेपालमा एक्सिट्रम ट्रायथलोन सम्भव छ भन्ने सन्देश दिएको छ। ‘एक्स्ट्रिम वल्र्ड टुर ट्राइयाथल’ को साहसिक ट्रायथलोन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ नेपालमा पहिलो पटक शुरु पनि भएको छ।
झिसमिसे उज्जालो हुँदै गर्दा केही खेलाडीले आवश्यक सामग्री सहित फेवातालमा हाफ फालेर सुरू भएको पहिलो हिमालयन एक्सट्राई ट्रायथलोन यसै साता पर्यटकीय नगरी पोखरमा सम्पन्न भएको छ।
विश्वका १७ देशका प्रतिस्पर्धीले सहभागिता जनाएको प्रतियोगितामा स्वीडेनका जोन हसलमार्कले बाजी मारे। करिब एक साता पोखरामा अभ्यास गरेका प्रतिस्पर्धीलाई साथ दिन ३० जना सहयोगी सहित ४७ जना पोखरा आएका थिए।
१६ प्रतिस्पर्धीलाई उछिनेका जोन हसलमार्कले ३.८ किमि पौडी, १ सय ८० किमि साइक्लिङ र ४० किमि दौड समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन्। सो क्रममा उनले फेवातालमा सम्पन्न ३.८ किमि पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १ सय ८० किमि साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमि दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए।
उपाधि जिते पछि स्वीडिस हसलमार्कले प्रतियोगिता अन्य देशको भन्दा निकै कठिन र रोमाञ्चक भएको र यस्ता प्रतियोगिताबाट सहभागिताले धेरै नयाँ कुरा सिक्ने र अनुभव गर्ने अवसर मिल्ने बताए।
त्यस्तै चेक गणतन्त्रका फिलिप सोल्क दोस्रो भए। सोल्कले १६ घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गरे।
चेक गणतन्त्रकै पिटर भाब्रोसेकले १६ घण्टा ४० मिनेट ५७ सेकेन्डको समयमा दौड पूरा गर्दै तेस्रो भए।
बिहान ४ बजे पोखराको फेवातालबाट प्रतियोगिता शुरु भएको थियो। जहाँ खेलाडीहरुले ३.८ किमीको दूरी पौडेका थिए। त्यसपछि १ सय ८० किमिको साइकल दौड सुरू भएको थियो।
साइकल रेस पोखरा भुपी शेरचन राजमार्ग हुँदै बाग्लुङको कालिका मन्दिर र त्यहाँबाट फर्केर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्रेमा पुगेर टुंगिएको थियो।
लुम्रेबाट ४० किमि उकाली ओरोली दौड शुरू भएको थियो। दौड पर्यटकीय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रेस्थित ल्वाङमा पुगेर अन्तिम दूरी पूरा भएको थियो।
४ हजार मिटरको उचाईमा दौडिने भएकोले यसलाई विश्वकै कठिन दौड मानिएको हो।
यसै गरी नेपालबाट सहभागी सन्तोष राईले २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै १० औं स्थानमा आए। रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरूङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४ हजार मिटरको उचाई छुन भने असफल भइन्।
प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले यस्ता प्रतियोगिता नेपालमा आयोजना हुनाले नेपालको पर्यटनमा टेवा मिल्ने बताए।
विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरूङले पुरस्कार वितरण गरे।
पुरस्कार वितरणपछि सदस्य सचिव तेज बहादुर गुरूङले यो प्रतियोगिताले गण्डकी प्रदेशलाई चिनाउन सहयोग र गण्डकी प्रदेश साहसिक खेलकुदको गन्तव्य हो भन्ने कुरालाई स्थापित गरेको बताए।
दुई वर्षअघि आयोजना हुने तय भएको प्रतियोगिता कोभिड महामारीका कारण स्थगित हुन पुगेको थियो। सन् २००३ बाट क्यानाडाबाट सुरू भएको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्राइयाथलन’ युरोप सहित अमेरिकाका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुँदै आएको छ।