आगामी जेठ तेस्रो सातामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए स्पोर्टस) तयारी तिब्र पारेको छ।
कान्छो विभागको रूपमा गत आठौं राष्ट्रियबाट सहभागी एनआरएनएले यसपटक राखेपले प्रस्ताव गरेका ३६ मध्ये १८ खेलमा सहभागी हुने एनआरएन स्पोर्टस एकेडेमीका कार्यवहाक सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए।
‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ। राखेपले तोकेको मितिसम्म खेलाडी हामीले दर्ता गर्छौं,’ उनले भने।
आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागीता जनाउँदै छ।
यो पटक फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ।
क्रिकेटको टिम इंग्ल्याण्ड (युके) बाट आउनेछ। यसैगरी भलिबलको टिम अष्ट्रेलिया र युकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अष्ट्रेलियाबाट आउनेछ।
यस्तै, फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई जिम्मा दिएको र उनले अष्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने भएका छन्।
एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफू निकै उत्साहित रहेको बताएका छन्।
विदेशमा बसेका नेपालीलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन्।
खेलकुदका लागि एनआरएनएका तीन जना युवा उपाध्यक्षहरु हिमाल गुरुङ, राज रेग्मी र रोशन थापा सहित संयोजकहरु अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरुसँग समन्वय गरिरहेको कार्यबहाक सदस्य सचिव गिरीले जानकारी दिए।