नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ।
सोमबार पत्रकार सम्मेलनमा आयोजक नेपाल ब्यायाम मन्दिरले काठमाडौं महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो। यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो। यस्तै २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए।
१६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने छन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधा तर्फ योनै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता हो। यसअघिको संस्करणमा बिजेताको पुरस्कार राशी ५ लाख रहेको थियो।
२०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ। शारीरिक सुगठनको पुरानो प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ। जसमा महिला तथा पुरुष फिजिक्स बिधालाई थप गरिएको छ।
२०७९ वैशाख २३ र २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ। फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ। प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।
प्रत्येक बिधामा प्रथम स्थान हासिल गर्ने खेलाडी बिचमा अन्तिम प्रतिस्पर्धा गराई बिजयी हुनेलाई धर्मश्रीको उपाधिसहित सम्मान गरिनेछ। प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन्।
यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैठौंले ९० हजार र सातौं हुनेले ८० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रूपैयाँ प्रदान गरिनेछ।
महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ। प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ।