सन् २०१६ मा भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो खेलाडी आयशा शाक्य रजत पदकमै सीमित भइन्।
६२ केजी तौल समूहको फाइनलमा भारतकी मार्गरिटा रेगीसँग पराजित हुँदा आयशाको लगातार दोस्रो स्वर्ण जित्ने सपना चकनाचुर भयो। आशयाले सन् २०१० मा बंगलादेशमा भएको एघारौं सागमा स्वर्ण जितेकी थिइन्।
घरेलु भूमिमा आयोजना हुने १३औं सागलाई आशाले जीवनकै महत्वपूर्ण प्रतियोगिताको रूपमा लिएकी छिन्। किनभने आयशाले यसपटक आफ्ना सन्तानका लागि खेल समर्पण गरेकी छन्।
'पहिला देश र आफ्ना लागि खेल जित्ने हो भन्ने लाग्थ्यो,' ६ वर्ष र २ वर्षका छोराकी आमा आयशा भन्छिन्, 'अहिले छुट्टै इच्छाशक्ति बढेको छ। मेरो बच्चाहरूका लागि पनि जित्नु पर्छ भन्ने लाग्छ।'
स्वर्ण जितेर विवाहित महिलाले पनि सफलता हात पार्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने आयशाको अर्को लक्ष्य हो।
'एउटा विवाहित महिलाले बच्चा पाइसकेपछि पनि अप्ठ्यारलाई कसरी ट्याकल गर्नु पर्छ भन्ने उदाहरण प्रस्तुत गर्न चाहन्छु,' उनले भनिन्, 'आमा भएकालाई प्रोत्साहन होस् भन्ने कारणले मैले राम्रो खेल्नु पर्छजस्तो लाग्छ।'
विवाह भएपछि अभ्यासमा भने अप्ठ्यारा झेल्नु पर्ने उनले बताइन्। आमा बनेपछि स्टामिना र शारिरीक अभ्यास घट्ने उनले महसुस गरेकी छिन्।
'कहिले बच्चा बिरामी भइदिन्छ, कहिले के काम पर्छ,' उनले भनिन्, 'नियमित अभ्यास गर्न नपाउँदा दैनिक तालिकामा असर गर्छ। त्यतिबेला प्रशिक्षण गर्न पाइन भनेर नरमाइलो महसुस हुन्छ। अझ शारिरीक रूपमा असर पर्छ कि भन्ने सोच दिमाखमा आउने रहेछ।'
श्रीमान् पनि तेक्वान्दो प्रशिक्षक भएकाले पारिवारिक रूपमा भने सहज भएको आयशाले बताइन्।
सन् २०१० मा ढाका सागमा स्वर्ण जितेको एक वर्षपछि आयशा र तेक्वान्दोका कीर्तिमानी खेलाडी दिपक बिष्टको प्रेमसम्बन्ध विवाहमा परिणत भएको थियो।
'तिमीले जे गरिरहेकी छौ, राम्रो गरिरहेको छौं, फेरि स्वर्ण पदक जित्नु पर्छ भनेर सधैं हौसला दिनुहुन्छ,' आयशाले श्रीमान् प्रशिक्षक भएको फाइदा बताइन्।
प्रशिक्षण बेला भने श्रीमान् श्रीमती सँगै हुँदैनन्। किनभने आयशाले अहिले विधा परिवर्तन गरेकी छिन्।
'उहाँ ग्योरेगी (फाइट)को प्रशिक्षक र म पुम्से (कला प्रदर्शनी) को खेलाडी भएकाले सँगसँगै त हुँदैन। सँगै भए पनि फरक त पर्दैन नी ' उनले भनिन्।
अघिल्लो सागसम्म ग्योरेगीमा प्रतिस्पर्धा गरेकी आयशाले यसपटक पुम्से व्यक्तिगत (३० वर्ष माथि ) र पुम्से जोडी (३० वर्षमाथि) मा गरी दुई विधामा प्रतिस्पर्धा गर्दैछिन्।
यसअघि आयशाले दशौं सागमा ग्योरेगीबाट रजत, ११औं सागमा स्वर्ण र १२औंमा रजत जितेकी थिइन्। यस्तै आयशा एसियाली खेलकुदको पनि पदक विजेता हुन्। सन् २००६ मा कतारमा १५ औं एसियाली खेलकुदमा उनले ५९ केजीमा कास्य जितेकी थिइन्।
पहिलो पटक तेक्वान्दोको फरक विधामा प्रतिस्पर्धा गर्दा आयशाले भारतलाई मुख्य प्रतिद्वन्द्वी मानेकी छिन्।
यस्तै घरेलु भूमिमा खेल्दा सकारात्मक र नकारात्मक असर गर्ने उनले बताइन्।
'सन् १९९९ मा १४ वटा स्वर्ण जितेर इतिहास बनाएका थियौं। यसपटक त्यस्तै प्रदर्शन गर्न सक्दैनौ कि भनेर भन्ने डर र चिन्ता हुन्छ,' उनले भनिन्, 'यसपटक विधा बढी भएकोले जित्न सक्ने विश्वास सकारात्मक पक्ष हो।'