बुधबार साँझ पोखरा रंगशाला परिसरको पुरानो ब्याडमिन्टन हलमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जिम्नास्टिको पदक वितरण भइरहेको थियो। जसमा उद्घोषकले विभिन्न ६ विधाका पदक विजेताको नाम लिँदा राजु राईको नाम दोहोरिन्थ्यो।
त्रिभुवन आर्मी क्लबका राजुले जिम्नास्टिको ६ विधामध्ये ५ विधामा स्वर्ण जितेका थिए। एउटा विधामा भने रजत जितेका उनले टिम र सर्वोत्कृष्ट गरी थप दुई स्वर्ण पनि थापे।
७ स्वर्ण र १ रजत गरी कुल ८ पदक गलामा झुण्डाएका राजु निकै हर्षित थिए। हुन त राष्ट्रिय खेलकुदमा पछिल्ला दुई संस्करणमा पनि राजुलाई टक्कर दिने कोही निस्किएका थिएनन्। यसपटक पनि उनले सहजरूपमै ७ स्वर्ण जित्न सफल भए।
२०६८ सालमा भएको छैठौं राष्ट्रिय खेलकुदमा पहिलो पटक भाग लिएका राजुले त्यतिबेला एक रजत मात्र जित्न सफल भएका थिए।
२०७३ को सातौं राष्ट्रिय खेलकुदमा उनले ७ स्वर्ण जिते। आठौंमा इभेन्ट्स घटाइएका कारण उनीले ५ स्वर्ण मात्र जित्न सके।
११ वर्षदेखि राष्ट्रिय प्रतियोगितामा सहभागी भएका राजुले कहिल्यै पर्याप्त अभ्यास गर्न पाएनन्। न त पर्याप्त प्रतियोगिता नै खेल्न पाए।
गण्डकी प्रदेशमा भइरहेको नवौंमा पनि उनले धित मरुन्जेल अभ्यास नगरी प्रतिस्पर्धामा भाग लिए। जिम्नास्टिक संघको त्रिपुरेश्वरको हलमा अभ्यास गर्ने पर्याप्त सामग्री छैनन्। त्यसैले उनी आफ्नै पैसाले सामग्री खरिद गरेर अभ्यास गर्न बाध्य भए।
‘जिन्नास्टिक हलमा अभ्यास गर्ने पर्याप्त सामग्री छैन। त्यसैले व्यक्तिगत खर्चमा चीनबाट मगाएर आफ्नै क्लबमा अभ्यास गर्ने गरेको छु,’ उनले दुखेसो पोखे।
तीन राष्ट्रिय खेलकुद गरी कुल १९ स्वर्ण जितेका राजु गुमनाम छन्। गुमनाम हुनुको कारण पनि उनलाई राम्रैसँग थाहा छ।
‘किनभने जिम्नास्टिकका प्रतियोगिता हुँदैनन्। पर्याप्त प्रतियोगिता आयोजना नहुँदा मैले आप्नो प्रतिभा देखाउन पाएको छैन,’ उनले भने, ‘राष्ट्रिय खेलका लागि तयारी गर्दा जिम्नास्टिक खेलमा सबै खेल सामग्री थिएनन्। कतिपय इभेन्ट्समा त तीन चार वर्षअघि गरेको अभ्यासकै भरमा अहिले सिधै प्रतियोगितामा आएर प्रतिस्पर्धा गर्नुपर्यो।’
बाल्यकालदेखि जिम्नास्टिक खेले पनि पर्याप्त प्रतियोगिता नहुँदा उनले अहिले आएर अन्य विधाको खेल खेल्नुपर्ने बाध्यता छ।
उनी बडिबिल्डर खेलाडी पनि हुन्। केही महिनाअघि माल्दिभ्समा भएको एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा फिटनेस फिजिक्समा उनले कास्य पदक जितेका थिए।
नेपालमा खेल जीवन निकै नै कठिनाइ भएको उनको अनुभव छ। ‘डाइट र अभ्यास खर्च समेत पुगेको छैन। जसले गर्दा हाम्रो प्रदर्शनमा समेत असर गरेको छ। हामीले पर्याप्त अभ्यास गर्न नपाउँदा हामीमा प्रतिभाको कमी भएको छ। त्यसैले हामी पछि परिरहेका छौं,’ उनले भने।
उनले आर्थिक समस्या पनि झन् भोगिरहेका छन्। ‘यसै त जिम्नास्टिकका खेल नै हुँदैनन्। प्रायोजक पनि हत्तपत्त पाइदैन,’ उनले भने, ‘भाग्यवस मैले भने प्रायोजक पाएको छु। अरु खेलाडीलाई भने गाह्रो छ।’
काठमाडौंमा जन्मिएका राजु दाइको प्रेरणाले गर्दा जिम्नास्टिमा प्रवेश गरेका हुन्।
लगातार चार राष्ट्रिय खेलकुदमा सहभागी भएर उत्कृष्ट प्रदर्शन गरेका उनी जिम्नास्टिकलाई मात्र निरन्तरता दिने सोचमा छैनन्। उनले अब जिम्नास्टिक र बडिबिल्डिलाई एकसाथ अघि बढाउने योजना बनाएका छन्।
‘अब जिम्नास्टिक र बडिबल्डिङ दुवैलाई एक साथ अघि बढाउने सोचमा छु। जिम्नास्टिकले गर्दा बडिबल्डिङमा धेरै सहयोग पुगेको छ। जिम्नास्टिक खेलेकै कारण बडिबिल्डिको धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशलाई चिनाउन सफल भएको छु,’ उनले भने।
हेर्नुहोस् भिडिओ :