मोहमद सलाहले जिते ‘बिबिसी अफ्रिकन वर्ष फुटबलर’

फाेटाे स्राेत: बिबिसी


लिभरपुलका फरवार्ड मोहमद सलाहले ‘बिबिसी अफ्रिकन वर्ष फुटबलर’ को उपाधि जित्न सफल भएका छन्। बीबीसीले प्रत्येक वर्ष अनलाइन मतको आधारमा प्रदान गर्दै आएको यो उपाधि सलाहले पहिलोपटक जितेका हुन्।

‘बिबिसी अफ्रिकन वर्ष फुटबलर’ को मनोनयनमा परेका अन्य चार प्रतिस्प्रधीलाई पछि पार्दै इजिप्टका सलाहले उपाधि जितेका हुन्। अफ्रिकन वर्ष फुटबल खेलाडीको मनोनयनमा जर्मन क्लब बोरुसिया डर्टमुण्डका पिएर एमरिक, लिभरपुलकै साडियो माने, चेल्सीका भिक्टोर मोसेस र जर्मन क्लब आरबी लेपजिङका नेबी केइटा मनोयनमा परेका थिए।

मनोनयनमा परेका पाँच खेलाडीलाई भोटको लागि बीबीसीले आफ्नो वेबसाइटमा  पोल बनाएको थियो। एक महिना भित्र भोटिङ पोलमा आएको मतको आधारमा सलाहलाई बिबिसीले उपाधि दिएको हो।

सलाह अफ्रिकन वर्ष खेलाडीको मनोनयनमा पनि पहिलोपटक परेका हुन्। उनले यो वर्ष इजिप्टलाई विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। आफ्नो क्लब लिभरपुलमा समेत उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनी यसै सिजन मात्र इटालियन क्लब रोमाबाट लिभरपुल गएका थिए। उनले लिभरपुलको लागि यो सिजन १३ गोल गरिसकेका छन्।

गत वर्षका यो अवार्ड लेस्टर सिटीका रियाद महरेजले जितेका थिए तर यसपटक भने उनी मनोनयनमा परेका थिएनन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.