बिना मिलेमतो तस्करीको सुनले कसरी पार गर्न सम्भव छ १३ सुरक्षा चौकी?

५ वर्षमा ५ सय किलो भन्दा बढी सुन बरामद


प्रहरी तथ्थाङ्कका अनुसार पछिल्लो ५ वर्षमा ५ सय ५७ किलो भन्दा बढी सुन तस्करी भएको छ। पछिल्लो एक वर्षको बिचमा १ सय ८० किलो भन्दा बढी सुन बरामद भएको छ।

सबैभन्दा धेरै चीन, त्यसपछि युएई, थाइल्याण्ड र मलेसियाबाट सुन तस्करी हुने गरेको छ।

यो त पछिल्लो पाँच वर्षमा बरामद भएको सुन मात्रै हो। पाँच वर्षदेखि लगातार सुन बरामद भइरहनुको अर्थ हो, सुन तस्करी पनि लगातार भैरहेको छ। जुन मात्रामा सुन बरामद भइरहेको छ, त्यसले देखाउँछ त्यो भन्दा धेरै मात्रामा तस्करी भइरहेको छ। यसलाई यसरी पनि हेर्न सकिन्छ यति धेरै बरामद हुँदा पनि सुन तस्करीको ब्यवसाय फष्टाउनुको अर्थ हो, यसमा अझै नाफा छ।

किन हुन्छ सुन तस्करी? प्रहरीले आक्कल झुक्कल बरामद गरे पनि किन यसलाई नियन्त्रण गर्न सकेको छैन?

सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीका अनुसार सुन ओसारपसार गर्न निकै सहज छ, त्यही भएर पनि यो ब्यवसाय फष्टाएको छ।

‘सानो ठाउँमा हालेर भए पनि सुन तस्कर गर्न सकिन्छ। सुन बोक्नका लागि ठूलो श्रमको खाँचो पर्दैन,’ उनी भन्छन्।

सुन तस्करीमा प्रहरी मिलेमतोको प्रतिवाद गर्दै कार्कीले भने, ‘इतिहास हेर्ने हो भने नेपालमा सुन तस्करी प्रहरीकै मिलेमतोमा धेरै भएको देखिन्छ। अहिले त्यो क्रम हटिसकेको छ।’

पहिला पहिला प्रहरी सामेल भएका थिए होलान् उनले भने अहिले त्यसका केही अवशेष मात्र बाँकी छन्।

‘तर आजको प्रहरीले सुन तस्करीलाई संरक्षण दिदैन,’ उनले भने।

चेकिङ प्वाइन्टहरुमा देखिएको कमजोरीमा प्रहरीलाई मात्र दोष दिन नहुने उनको तर्क छ।‘भन्सारका पनि कर्मचारीहरु खटेका हुन्छन् नी’, उनले भने।

बरू कानुनी कमजोरीका कारण सुन तस्करी नियन्त्रण गर्न गाह्रो भएको उनको तर्क छ।

‘सुन समातिएपछि कानुनी अड्चनका कारण कतिपय तस्कर धरौटीमा छुट्ने गरेका छन्। अदालतले पनि धेरै प्रमाण खोज्ने हुँदा प्रहरी सुन तस्करहरूको सञ्जाल भत्काउन चुक्छ,’ उनले भने।

नेपाल सुन व्यवसायी संघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य प्रहरी मात्र हैन राजनीतिक नेतृत्वको पनि सरंक्षणका कारण नेपालमा सुन तस्करी भइरहेको बताउँछन्।

‘सुन तस्करहरुलाई राजनैतिक संरक्षण नभए कसरी एकै पटक ८८ किलो सुन ल्याउने आँट गर्छन्,’ उनले प्रश्न गरे।

राजनीतिक संरक्षणकै कारण सुन तस्करीको बाटोमा सुरक्षा चेकजाँच पनि निकै फितलो रहेको उनले आरोप लगाए।

केरुङबाट काठमाडौ आईपुग्नेबाटो रहेका १३ सुरक्षा जाँच नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले चेक गर्ने गर्छन् ।

‘ती चेकिङ प्वाइन्ट नाम मात्रका छन्,’ शाक्यले भने, ‘तस्करहरुले त्यसैको फाइदा उठाउने गरेका छन्।’

अहिले नेपाल मार्फत हुनेगरेको सुन तस्करीको सञ्जालमा दुई ठूला छिमेकी भारत र चीन पनि जोडिएका छन्। तीन देशलाई जोड्ने यो तस्करी फष्टाउनुको मुल कारण सुनको यी देशमा कायम माग र आपूर्तिको सम्बन्ध हो।

पहिले नेपालमा सुनको माग र आपूर्तीको अवस्था हेरौं। नेपाल राष्ट्र बैंकले बिभिन्न ‘क’ बर्गका बैंक मार्फत दैनिक २० किलो सुन आयात गरेर ब्यापारीहरुलाई बेच्ने गर्छ।

शाक्यको तर्क छ— औसत दिनको २० किलो सुन आयातले नेपालको माग धान्दैन।

‘कम्तिमा पनि नेपाली बजारमा दैनिक ३५ किलो सुन खपत हुने गर्छ,’ उनले भने।

शाक्यका अनुसार नेपालमा करिब २४ हजार सुनचाँदी ब्यवसायी छन्। त्यसमध्ये एक तिहाइ दर्तानै नगरी चलिरहेका छन्। यसरी दर्तानै नभएका सुनचाँदी पसलले बैंकबाट बैध रुपमा सुन किन्न पाउदैनन्।

‘तर यस्ता सुनचाँदी पसल पनि चलिरहेका छन् भन्नुको अर्थ उनीहरुले अवैध रुमपा भित्रिने सुननै प्रयोग गरिरहेका छन्,’ शाक्यले भने।

नेपालमा भन्दा सुनको ठूलो अभाव भारतमा छ। तेस्रो मुलुकबाट तस्करी भएर आउने धेरै सुन भारतनै निकासी हुने कार्की र शाक्य दुबैको मत छ।

‘भारत देश पनि ठूलो र गहनाको पनि बढी माग भएकोले त्यहाँ सुनको माग आपूर्ती भन्दा धेरै छ’, शाक्य भन्छन्, ‘त्यहाँ पनि सरकारले माग अनुसार सुन आयात गर्दैन, त्यसैले सुनको अभाव भैरहन्छ।’

चीनमा भने तुलनात्मक रुपमा सुन सहजै र जति पनि किन्न पाईन्छ। सम्पतिको श्रोत खुलेको छ भने चीनमा सुन किन्न रोकटोक छैन। त्यस बाहेक, त्यहाँ पनि सुनको दुई नम्बरी बजार सक्रिय रहेको ब्यवसायीहरू बताउँछन्।

सुनको तस्करी निरन्तर जारी रहनुको कारण भने यो सँग जोडिएको पैसानै हो।

नेपालमा १ किलो सुन किन्दा ४ लाख २० हजार रूपैयाँ कर तिर्नुपर्छ। तस्करी गरि सुन ल्यायो भने कर तिर्नु परेन।

त्यसको अर्थ एक किलो सुन तस्करी गर्यो भने कम्तिमा पाँच लाख फाइदा हुने भयो। सुन तस्करीसँग जोडिएको यहि पैसाको तागतले राजनीति र प्रहरीलाई निरन्तर प्रभावित गर्छ जसका कारण चेकजाँच छल्दै ‘लाह्साको सुन’ काठमाडौं आइपुग्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.