राम्चे–ग्राङ सडकखण्ड चालु


गए रातिको वर्षाबाट अवरुद्ध भएको पासाङल्हामु राजमार्गको राम्चे– ग्राङ सडकखण्ड आज बिहानदेखि चालु भएको छ ।
यसैगरी दक्षिणी रसुवाका सस्र्युँ, भोर्ले र अम्वाबास जाने ग्रामीण सडकअन्तर्गत कालिका गाउँपालिकाको धोबीखोलाको पक्की पुल गए रातिको बाढीले बगाई पूर्णरुपमा क्षति बनाएपछि फराकिलो ठाउँबाट तर्ने व्यवस्था मिलाइएको छ ।

त्यस भेगका चार वटा वडाका सयौँ बासिन्दालाई यात्राका क्रममा वर्षायामभर सावधानीपूर्वक खोला तर्न आग्रह गरिएको प्रजिअ हीरादेवी पौडेलले बताइन्।

यसैबीच वर्षायामको भलपानीले ग्रेगर बगाई थुनिएको राम्चे–ग्राङ सडकखण्ड नाला डोजरको सहायताले सफा गरिने भएको छ ।

नेपाल चीनको एक मात्र चालु व्यापारिक मार्गका रुपमा रहेको पासाङल्हामु राजमार्गको नालीमा पानी जम्दा सडक भत्किने समस्या देखिएकाले डिभिजन सडक कार्यालयमार्फत डोजरको सहायताले नियमित नाला सफा गराउने व्यवस्था मिलाइएको पनि प्रजिअ पौडेलले जानकारी दिइन्। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.