बाढी-पहिरोले इटहरीमा ७ जनासहित १४ को मृत्यु, दर्जनौं बेपत्ता, सयौं विस्थापित


शुक्रबार रातिदेखि परिरहेको मुसलधारे वर्षाले सुनसरीको इटहरी उपमहानगरपालिकामा सात जनाको ज्यान गएको छ।

अविरल वर्षाले स्थानीय बूढी खोलामा बाढी आउँदा सात जनाको मृत्यु भएको र केही व्यक्ति हराइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका प्रमुख डिआइजी रमेश भट्टराईले जानकारी दिए।

क्षेत्रीय प्रहरी कार्यालयका अनुसार पानीमा डुबेको अवस्थामा सात जनाको शव फेला परेको हो। भोजपुर घर भई इटहरी–४ को गौरीगाउँमा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत फेला परेका छन्। उनकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने ४० वर्षका ईश्वर सुनवार, इटहरी–४ को गौरीगाउँ बस्ने वर्षीया माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०/३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

‘पूर्वी क्षेत्रका चार तराई जिल्ला सप्तरी, सुनसरी, झापा र मोरङका लगभग आधाजसो भाग जलमग्न छ, भौतिक तथा मानवीय क्षतिको क्रम बढेको छ,’ डिआइजी भट्टराईले शनिबार सेतोपाटीसँग टेलिफोनमा भने, ‘हामी उद्धारमा खटिएका छौं। बाढी प्रभावित क्षेत्रमा कहाँ–कहाँ मान्छे फसेका छन् भनी खोज्ने र प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम तीव्र पारेका छौं।’

पूर्वी पहाडी जिल्ला तेह्रथुम र पाँचथरमा पनि पहिरोमा परेर मानवीय क्षति भएको उनले जानकारी दिए।

अहिलेसम्म प्राप्त सूचनाअनुसार इटहरीसहित पूर्वी क्षेत्रका चार तराई जिल्लामा बाढीपहिरोका कारण १३ जनाको ज्यान गइसकेको छ। करिब एक दर्जनभन्दा बढी हराइरहेका छन्। सयौं घरपरिवार विस्थापित छन्। पूर्वका विराटनगर, दमक, भद्रपुर, बिर्तामाड, इटहरी, राजविराज लगायत बजार जलमग्न छन्। यसले सवारी आवागमन ठप्प छ।

मोरङमा अहिलेसम्म २ जना र झापा, सप्तरी, तेह्रथुम र पाँचथरमा १/१ जनाको ज्यान गएको डिआइजी भट्टराईले बताए।

मोरङमा पहिराले घर पुरिँदा लेटाङ नगरपालिका–१ मा शनिबार बिहानै एक महिलाको मृत्यु भएको हो। दुई दिनदेखि लगातार परेको वर्षापछि पहिरो जाँदा ४० वर्षीया गोपीमाया तामाङ घरसहित पुरिएको वडाका कार्यालय सचिव धनमान तामाङले जानकारी दिए। उनका अनुसार मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयवासीले उद्धार गरेर बचाएका छन्।

तेह्रथुममा पनि स्थानीय जलविद्युत आयोजनामा पहिरोले क्षति पुर्याएको छ। यसमा एक जनाको शव फेला परेको र तीन जना हराइरहेको डिआइजी भट्टराईले बताए।

दाङमा एकको मृत्यु

बाढीकै कारण घर भत्किएर दाङ, तुलसीपुर–१३ की सावित्रा सुनारको मत्यु भएको प्रहरीले जनाएको छ। तुलसीपुरबाट एक किलोमिटर पर रहेको सोते खोलाले सडक भत्काएसँगै बाढी बस्तीमा पसेको थियो।

शुक्रबार रातिदेखि परेको लगातार वर्षाका कारण दाङको तुलसीपुर–घोराही सडक खण्ड भत्किएको छ। मोतीपुरे सोते खोलाले सडक खण्ड भत्काएपछि बाटो अवरूद्ध भएको हो। बाढीका कारण तुलसीपुरमा खानेपानी पनि अवरूद्ध भएको छ।

दाङकै तुहीसोता खोलामा आएको बाढीले स्थानीयका ११ घर भत्काएको छ भने अम्बिकेश्वरी मावि डुबानमा छ। बबई नदीमा आएको बाढीले बाँके र रहरपुरमा ४० भन्दा बढी घर डुबानमा छन्। डुबानमा परेका उनीहरू निमावि बाँकेमा आश्रित छन्। कलम खोलाको बाढीले थप तीन घर भत्काएको प्रहरीले जनाएको छ।

गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड पनि शनिबार बिहानदेखि अवरुद्ध छ। मुसीकोट नगरपालिका– ६ अन्तर्गत भुवाचिदी नजिकै पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो। यसले गुल्मीबाट पाल्पा, बुटवल, काठमाडौंसम्म छुट्ने सबै सवारी ठप्प भएको मुसीकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटले जानकारी दिए।

जनकपुर जलमग्न

जनकपुर उपमहानगरपालिका अविरल वर्षाले जलमग्न भएको छ। पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ।

एकीकृत सहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापर्बाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय परिसर डुबानमा परेका छन्।

जनकपुर अञ्चल अस्पतालमा दुई फिटभन्दा अधिक पानी जमेको छ भने रासस र हुलाक कार्यालयका कोठामा पानी पसेर कागजात भिजेका छन्। अञ्चल अस्पतालमा पानी जमेका कारण बिरामीले सास्ती भोग्नुपरिरहेको छ। यहाँका नालाका पानीले परिसर दुर्गन्धित भएको छ।

महोत्तरीमा १७ घर विस्थापित

महोत्तरीका दुई गाउँमा वर्षाले १७ घर विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअुनसार लगातारको वर्षाका कारण जिल्लाको पिपरा गाउँपालिका– ४ पासवान टोलमा स्थानीय वृहस्पति पासवान, नथुनी पासवान, दिनेश पासवान, मला पासवान र पिपरा– २ का इब्राहिम राईनका घर पूर्ण रुपमा ढलेर विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतकाअनुसार पिपरा पासवान टोलका पाँचै जनाको घर भत्किँदा उनीहरुको घरबार र घरभित्र रहेका अन्नपातसहित सात लाख रुपैयाँको क्षति भएको छ।

वर्षाका कारण विस्थापित भएका पिपराका पासवान केही छिमेकीको घर र केही स्थानीय विद्यालयमा शरण लिएर बसेका छन्। त्यस्तै, लगातारको वर्षाकै कारण जिल्लाको सम्सी गाउँपालिका– ४ गैंढाभेटपुरमा १२ घर मुसहर र दुसाध विस्थापित भएका छन्।

गाउँभन्दा दक्षिणपट्टी एउटा साने टोलमा स–साना छाप्रा बनाएर बसिरहेका उनीहरुको घररघरमा बर्षाका पानी पसेर– चार जनाको घर भत्किएको र अन्य सबै जनाको घरको सबै सरसामान डुबानमा परेको स्थानीय ललन झाले बताए।

वर्षाको पानी घररघरमा पसेको र केही व्यक्तिको घरसमेत भत्किएपछि १२ जनालाई स्थानीयवासीले सार्वजनिक माध्यमिक विद्यालयमा उद्धार गरी अस्थायी बास दिलाएका छन्।

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
अविरल बाढीले सडक र पुल कटान गर्दा पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको छ। अविरल वर्षापछि सुन्दरहरैँचा नगरपालिका–४ स्थित बूढी खोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो।

बाढीले पुल नै जोखिममा परेपछि राजमार्ग भएर आवतजावत नै बन्द गरिएको सुन्दरहरैँचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले बताए।

जाजरकोटमा विद्युत आपूर्ति बन्द
लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ। विद्युत् उत्पादनका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको हो।

लाखौं खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। त्रिवेणी नलगाड नगरपालिका –३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु जलविद्युत योजनाको नहर बगाएपछि विद्युत् सेवा ठप्प भएको छ।

कुलो बाढीले भत्काउँदा ६५ घरधुरी अध्यायारोमा बस्न बाध्य भएको त्रिवेणी नलगाड नगरपालिका – ३ का वडा अध्यक्ष प्रचण्ड बलीले बताए । सोही नपाकै वडा नम्बर– ९, तात्रामा रहेको ७२ लाख रुपैयाँ बराबरको १८ किलोवाट क्षमता भएको दोवीया खोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको वडा अध्यक्ष विष्णु विकले बताए।

यो विद्युत् अवरुद्ध भएपछि यहाँका ५० भन्दा बढी घर अन्धकारमा बस्न बाध्य भएका छन् ।

कुशें गाउँपालिका– २ मा रहेको झण्डै एक करोड ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको खाराखोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको छ । झण्डै ३६ किलोवाट विद्युत् खपत क्षमता भएको सो लघु जलविद्युत् आयोजनाको कुलो बाढीले भत्काएसँगै चारसय घरधुरीका स्थानीय बासिन्दाले अध्याँरो झेल्नुपरेको कुशें गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

बारेकोट गाउँपालिका –२ रोकायगाउँमा रहेको गाग्रा खोला लघु जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन रोकिएको हप्ता दिन पुगिसक्दा पनि निर्माण कार्यमा सरोकारवाला निकायले चासो नदेखाएको स्थानीय गोरख घर्तीले गुनासो गरे।

वर्षायाममा जताततै खोलामा पानीको मात्रा बढेका कारण सजिलै सामग्री ढुवानी गर्न समस्या भएको उपभोक्ताले बताएका छन्।

चितवनको माडी पनि डुबानमा

बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् ।

रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका दर्जनौं बस्तीका सयौँ घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिए।

उनले यहाँका तीन/चार सयभन्दा बढी घर डुबानमा परेको जानकारी आएकाले यससम्बन्धी विवरण संकलन भइरहेको बताए। मानवीय क्षति भने भएको छैन। माडीको वनकट्ठा, अमिलिया, सिमरा, धोवाह, रतनीका बस्ती डुबानमा परेका छन्। यहाँका ठाडा खोला र रिउ नदीमा बाढी आएको छ।

उनकाअनुसार डुबानमा परेका बस्तीको बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ र अहिले जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकायसहितको उद्धार टोली माडी पुगेको छ।

चितवनका प्रजिअ तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्टले बस्ती र लगाइको बाली डुबानमा परेको जानकारी दिँदै डुबान क्षेत्रमा पुगेर विवरण संकलन गरी जोखिमा परेकाको उद्धार जारी रहेको बताए।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बाढीले ३०/४० घरलाई पूर्ण रुपमा क्षति पुर्याएको छ भने २०० जति घरमा आंशिक क्षति पुर्याएको जानकारी दिए। उनका अनुसार माडीका विभिन्न क्षेत्रका माछापोखरीमा समेत बाढीले क्षति पुर्याएको छ। माडीमा विद्युत् सेवा बन्द भएको शनिबार २५ दिन पुगेको छ भने विद्युत् नहुँदा यहाँको फोन सेवासमेत प्रभावित भएको न्यौपानेले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.