एउटै खुट्टाले साइकल चलाउँदै काठमाडौंको एक फन्को

तस्बिर: नारायण महर्जन/सेतोपाटी


काठमाडौं कोरामा झन्डै तीन हजार साइकल यात्रीले शनिबार उपत्यकाको एकसाथ चक्कर लगाए। उस्तै उस्ताको हुलमुलमा सबै एकैनासे देखिन्थे। तर, एक जनाको कुरा अर्कै थियो।

उनी साइकल हाँकुन्जेल मानिसले फरक भेउ पाउँदैन थिए। जब साइकल रोकिन्थ्यो, अरुले दुईवटा खुट्टा टेकिरहेका बेला उनले भुइँमा टेक्ने देब्रेतर्फको एउटा मात्र खुट्टा देखिन्थ्यो। दाहिनेतर्फ जाँघबाट साढे आठ इन्च तल गएपछि उनको खुट्टा थिएन। त्यसैले रोक्नेबित्तिकै त्यो साइकल नै उनको बैशाखी बन्थ्यो।

एउटा मात्रै, त्यो पनि देब्रे खुट्टाले साइकल कसरी हाँकिएला? एकपटक सोच्नुस् त!

पाइडल थिचेर त तल लैजानुहुन्छ। तर, दाहिने पाइडल थिचिएन भने त्यो देब्रे पाइडल कसरी माथि आउँछ?

त्यस दिन ती साइकल यात्रीले ती बाँकीका तीन हजार यात्रीजस्तै साइकल चलाएनन् मात्र, थोरै यात्रीले मात्र पूरा गर्न सकेको ५० किलोमिटरको दुरी हाँकेर उपत्यकालाई पूरै फन्को लगाए। र, पदक लिन सफल भए।

हो, यही संघर्षबाट सुरु हुन्छ यामलाल रसाइलीको आँट र लगनशीलताको गाथा। त्यसैले त कैलालीदेखि त्यो साइकल उत्सवमा भाग लिनकै निम्ति राजधानी आएका यामलाल सबैको जिज्ञासाका केन्द्र थिए।

ललितपुरको मंगलबजारबाट सुरु भएर मंगलबजारमै सकिएको त्यो साइकल यात्रामा धेरै सहभागीले यामलालसँगै बसेर फोटो खिच्दै सामाजिक सञ्जालमा हाले। सहरी पूर्वाधारबारे चासो राख्ने वातावरणविद् भुषण तुलाधरले एक खुट्टाले उभिएका यामलाललाई अँगालो हालेर फोटो खिच्दै ट्विट गरे, ‘जहाँ इच्छा हुन्छ–त्यहाँ बाटो पनि निस्कन्छ।’

यामलालले खुट्टा कसरी गुमाए? र, कसरी सुरु भयो उनको इच्छा? अनि कसरी निस्कियो बाटो?

यी जिज्ञासा त छँदै थिए, तर सबैभन्दा पहिले उनी किन साइकल भनेपछि यति हत्ते गर्छन्?

‘साइकललाई माया गर्नेहरु मिलेरै यहाँ साइकल हाँक्ने वातावरण तयार पार्न घच्घच्याउनुपर्छ,’ सोमबार बिहान फोनमा कुरा गर्नेबित्तिकै एउटा पाइतालाले पाइडल ठेल्दै आइपुगिहालेका यामलाल भन्न थाले, ‘विद्यार्थी, कर्मचारी, व्यापारी…भएभरका सबैले साइकल हाँक्न थाले भने सोच्नुस् त यो सहर कति राम्रो देखिन्छ।’

तस्बिरहरु: नारायण महर्जन/सेतोपाटी

काठमाडौं कोराजस्तो आयोजनाले तन्नेरीहरुलाई कार र मोटरसाइकलजस्ता साधनको पछि नलागेर साइकल प्रयोगका निम्ति आकर्षित गर्ने यामलालको धारणा रहेछ।

‘त्यसैले त म जानकारी पाउनेबित्तिकै कैलालीदेखि आइपुगेँ,’ सात वर्षदेखि आयोजना भइरहेको कोरामा पहिलोपटक भाग लिन आएका लम्कीका यी वासिन्दा भन्न थाले, ‘अब बर्सेनि आउँछु।’

काठमाडौंमा धेरै चिनजान नभएको, फेसबुक राम्ररी चलाउन नथालेको र आफूसँग गतिलो साइकल पनि नभएका कारण यसभन्दा अघिल्ला आयोजनाबाट आफू परै रहन पुगेको उनले सुनाए। शनिबारको कोरामा भने २५ सय साइकलयात्रीले त दर्ता नै गरेका थिए। दर्ता नगरेका पनि धेरै त्यहाँ साइकल गुडाउँदै आइपुगेका थिए।

‘मंगलबजारबाट निस्कँदा त आँखाले भ्याएसम्म सबैतिर साइकल मात्र देखिएको थियो,’ उनले भने, ‘यस्तो हुलमा सरिक भएर साइकल कुदाउनुको आनन्दै बेग्लै।’

उनीहरुले पूरै चक्कर लगाएर बौद्ध पुगेपछि दिउँसोको खाना व्यवस्था गरिएको थियो। त्यसपछि फेरि मंगलबजार फर्किनुपर्ने। ‘बाटैमा केही साथीले मंगलबजारमा मेडल सकिन लागेको हल्ला सुनाइदिए,’ उनी भनिरहेका थिए, ‘त्यसपछि त सास रोकेरै कुदाउन थाल्यौं।’

तै, ५० किलोमिटरको यात्रा पूरा गर्ने सबैलाई आयोजकले मेडलको बन्दोबस्त गरिदिए।

यस्तो माहोलमा आउँदा यामलाल सबै तितोहरु बिर्सन्छन्। नत्र भने त उनको विगत कहाँ यति रमाइलो थियो!

उनी नजन्मँदै पर्वतस्थित पुर्ख्यौली थातथलो छाडेर उनका बा भारतमा लाहुरे बनेका थिए। पल्टनमै रहँदा २०३४ सालमा उनको जन्म भएको थियो। चार वर्षको हुँदा उनीहरु भैरहवा आएर घरजम गर्न थाले। बुवा अझै भारतमै थिए।

‘भैरहवा आएलगत्तैको त्यो तिहार म कहिल्यै बिर्सन सक्दिँन,’ उनले भने, ‘दाइहरुसँगै पछि लागेर म भैली खेल्न गएको थिएँ।’

खुट्टामा चोट लागेपछि उनलाई दाइले पिठ्युमा बोकेका थिए। उनी पिठ्युमै सुते। मध्यरातमा भैली सकिएपछि उनलाई घरमा ल्याएर सुताइयो। भोलिपल्ट त दाहिने खुट्टा पूरै सुन्निएको थियो भने ज्वरो पनि हनहनी आइरहेको थियो।

‘त्योबेला के गर्ने र कसो गर्ने भन्ने बा आमालाई भेउ पनि मिलेन,’ उनी सम्झन्छन्, ‘टोलका मुखियासँग सोध्दा उनले जे अर्ती-उपदेश दिए त्यही लागू हुन्थ्यो।’

उनलाई झारफुक गर्नेकहाँ लगिएछ। धामीले बालक यामलाललाई ‘तिनहुँको मसान लाग्यो’ भनेर निष्कर्ष सुनाए। रातभर दाइसँग भैली खेल्दा तिनहुँ भन्ने खोलाको मसानले समातेको ठहरसँगै मसान धपाउने काम गरिएछ।

तर, निको त भएन।

त्यसको तीन दिनपछि त्यो विश्वकर्मा परिवार वैद्यको शरणमा पुगेछ। वैद्यले साँप्राको हड्डी भाँचिएको छ भन्दै रुखका पात र जराहरुको लेप बनाएर लगाइदिनुका साथै बाँसका टुक्राले काप्रा पनि बाँधिदिएछन्।

तैपनि ठीक भएन।

यामलाल दिनरात दुखेर रोइरहेको देखेर त्यसको पाँच दिनपछि उनलाई बल्ल बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल पुर्याइयो। उनको खुट्टाका छाला पाकिसकेका रहेछन्। जथाभाबी खुट्टा बाँधिएकाले रक्तसञ्चार पनि बन्द भएको रहेछ।

बुटवलमा पनि उपचार सम्भव नभएपछि उनलाई दौडादौड पाल्पास्थित मिसन अस्पताल लगियो, जहाँका डाक्टरले उनको खुट्टा तत्काल काट्नुपर्ने निष्कर्ष निकाले।

यसरी चार वर्षकै उमेरमा सामान्य दुर्घटनापछिको हेलचेक्र्याइँकै कारण यामलालले दाहिने खुट्टा सदाका निम्ति गुमाउन पुगे।

त्यत्रो दिनसम्म घाइते बालक छटपटाउँदा पनि सही सल्लाह दिन नसक्ने टोलछिमेकले यसरी खुट्टा काटेर फर्केपछि चाहिँ ‘पूर्वजन्ममा पाप गरेकाले यस्तो फल मिलेको’ भनेर सुनाएछन्। त्यतिन्जेल भारतीय सेनामा राजीनामा दिएर फर्केका यामलालका बुवालाई त्यसपछि त्यो समाजमा बस्न मन लागेनछ।

‘बुवाले एक्लो महशुस गर्नुभयो,’ उनी भन्छन्, ‘त्यसपछि बुवाआमा, चारभाइ र दुई बहिनीको हाम्रो परिवार भैरहवाबाट बसाइ सरेर काका बसोबास गर्दै आउनुभएको कैलाली आइपुग्यौं।’

तातो ताप्केबाट झरेपछि भुंग्रोमा भनेजस्तो यो नयाँ ठाउँले पनि उनीहरुको बसोबासलाई सुखद बनाएन।

‘एक त दलित भनेर असाध्यै हेप्ने गरिन्थ्यो,’ उनी भन्छन्, ‘त्यसमाथि मैले टेक्ने बैशाखी कता कता हुर्याइदिन्थे।’

स्कुलमा सबै केटाकेटीले घरबाट लगेको खाना बेन्चमा बसेर खान पाउँथे, यामलाल र उनका दाइलाई भने भुइँमा बस्न लगाइन्थ्यो। त्यतिले नपुगेर बाँकीका केटाकेटीलाई पानी ल्याइदिने स्कुलका पिउनले उनीहरुलाई चाहिँ त्यही पानी दिन मान्दैन थिए।

एकातिर जातपातको यस्तो हेपाइ, त्यसमाथि खुट्टाको अवस्थाले असाध्यै कुण्ठा बढ्न थालेपछि यामलालले स्कुल जान बन्द गरे।

‘बाटोमा हिँड्दै गरेका मानिस पनि बैशाखी टेकेर हिँड्दै गरेको मलाई देखेपछि साइत बिग्रियो भनेर अप्ठेरो अनुहार लगाउँथे,’ यामलाल भन्छन्, ‘यस्तोमा सहेरै भए पनि पढ्नुपर्छ भन्ने बुवा र दाइको दबाब हुँदाहुँदै पनि मैले स्कुल जान छाडेँ।’

त्यसपछि बुवा र दाइ मिलेर उनलाई नेपाल अपांग संघको कैलाली शाखामा पुर्याए, जहाँ सिप विकास तालिम दिइन्थ्यो। ०४६ सालताका उनले त्यहाँ सिलाइकटाइ तालिम लिन सुरु गरे। २०५२ सालमा त उनी त्यसै स्थानमा प्रशिक्षक भइसकेका थिए।

त्यतिबेला चौमालास्थित उनको घर र तालिम केन्द्रको बीचमा २४ किलोमिटरको दुरी थियो। उनलाई दाइ वा काकाले साइकलमा लगिदिन्थे। अरु बेला बस चढ्नुपर्थ्यो। यसरी बस चढ्ने अपांगता भएकाहरुले पैसा दिँदैनन् भन्ने मानसिकताले होला, उनीहरुले जति रोक्न खोजे पनि सार्वजनिक यातायातका साधन रोक्न मान्दैन थिए।

एकदिन यामलालले सामान्य मानिससँग सहयोग मागे। ती मानिसले बस रोकिदिए। रोकिएपछि यामलाल चढ्न मात्र के खोजेका थिए, बसका खलासीले राजमार्गमै लड्ने गरी बसभित्रैबाट यामलाललाई बाहिर धकेलिदिए र बस कुदिहाल्यो। यामलाललाई त्यस दिन असाध्यै नरमाइलो लाग्यो। उनले बसको नम्बर टिपेका थिए। सरासर जिल्ला प्रशासन कार्यालय पुगेछन्। सिडियोसँग भेटेछन्। तर, सिडियोले त उल्टो ‘बस चढेपछि पैसा दिनुपर्छ भन्ने थाहा छैन? सित्तैमा चढ्न खोज्नेलाई त्यस्तै गर्छन्’ भनेर पो फर्काइदिए।

यामलालले दाइसँग साइकलमा सवार रहँदा देब्रे खुट्टाले पाइडल चलाउने प्रयास थालिसकेका थिए। त्यस्तो बेला दाइले पछाडि क्यारियरमा बसेर ह्याण्डिल र देब्रे खुट्टाको पाटो सम्हालिदिन्थे। त्यसबाहेक पनि दाइको आँखा छलेर उनले एक्लैले साइकल सिक्न पनि थालिसकेका थिए।

राजमार्गको त्यो घटनापछि भने उनको अठोट झनै बढ्यो।

उनी बैशाखी र साइकल सम्हाल्दै घर नजिकैको ओह्रालोमा जान्थे। ओह्रालो सुरु भएपछि साइकलमा चढेर तलैसम्म गुड्थे। तर, जब साइकल रोकिन्थ्यो त्यसपछि भने अगाडि बढाउने कुनै उपाय थिएन। किनभने देब्रे खुट्टाले थिचेर तल गएको पाइडल फेरि माथि ल्याउन सकिन्न थियो। यस्तोमा उनले पाइडलमा चप्पल बाँधेर चलाउने कोशिस गरे। सकेनन्। दाहिने खुट्टा राख्ने ठाउँमा लठ्ठी बाँधेर हातैले थिच्ने कोशिस गरे। तै पनि सकेनन्।

‘साइकल चलाउने कोशिसमा कतिपटक लडेँ भन्ने कुनै संख्या नै छैन,’ उनी भन्छन्, ‘जतिपटक लडे पनि अर्कोचोटि फेरि कोशिस गर्छु भनेरै उभिन्थेँ।’

उनका काकाको साइकल बनाउने पसल थियो। उनी त्यहीँ गएर बसिरहन्थे। साइकलको सामान्य मर्मतसम्भारदेखि पन्चर टाल्ने कामसम्म उनी गरिदिन्थे। एक दिन उनले दाहिने पाइडलमा भारी राखेर फिट गरिदिए। त्यसपछि उतातिरको पाइडल भारीले जहिल्यै तल झर्ने भएकाले जतिबेला पनि देब्रे पाइडल थिच्न मिल्ने अवस्थामा रहन्थ्यो। उनले जीवनमा पहिलोपटक मजाले साइकल हाँके।

‘त्यो खुसीको सिमाना थिएन,’ उनी भन्छन्, ‘घरमा लगेर आमा र दाइलाई देखाएँ। सबै दंग पर्नुभयो।’

२०५१ सालमा यामलालले अपांगता भएकाहरुको खेलकूद कार्यक्रममा भाग लिन पहिलोपटक काठमाडौं आउने मौका पाएका थिए। त्यो तीन दिनको बसाइमा खेलकुदबाहेक उनले पशुपतिको दर्शन पनि गर्न पाए। अधिकांश समय त उनीहरुलाई राखिएको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमै बित्यो।

त्यतिबेला दुई सय मिटर दौड प्रतियोगितामा उनले बैशाखी टेकेरै पनि बाँकी सबै प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण पदक जितेका थिए।

त्यतिबेला त खेलकूदमा भाग लिएर उनी फर्किहाले। तर, कसैगरी काठमाडौं आउन पाइयो भने यहाँ धेरै अवसर छ भन्ने उनको मनमा लागिरह्यो।
त्यसको चार वर्षपछि उनका दाइ वैदेशिक रोजगारी निम्ति जाँदै थिए। उनले भाइलाई काठमाडौंमै बोलाए। उनी आए। उनको निम्ति भने काठमाडौंमा रोजगारी सजिलो भइदिएन।

बल्लतल्ल बागबजारमा एउटा टेलरमा काम पाइयो। बस्ने ठाउँ थिएन। रेडक्रसबाट चिठ्ठी लेखाएर ल्याएकाले भृकुटीमण्डपस्थित ब्लड बैंकमा राति ८ बजेपछि सुत्ने ठाउँ दिइयो। उनी दिनभरी बागबजारमा काम गर्थे र रात परेपछि ब्लडबैंकमा पुगेर सुत्थे। लगत्तै उनलाई साहुले नै बस्ने बन्दोबस्त गरिदिए।

त्यसै क्रममा उनको जिल्लाबाट जितेका सांसद पुष्करनाथ ओझा काठमाडौंमा मन्त्री भएका थिए। उनले सिफारिस गरिदिएपछि काठमाडौं महानगरपालिका र सेभ द चिल्ड्रेनले उनलाई साइकल किन्ने पैसा जुटाइदियो।

त्यो साइकल किनेलगत्तै उनलाई जण्डिस भयो। बिरामी पर्न थालेपछि छ महिनामै उनी कैलाली फर्किए। कैलाली फर्किए पनि अब चाहिँ उनीसँग व्यवस्थित साइकल थियो। उनले २०५९ सालमा कञ्चनपुरको गड्डाचौकी (नेपालको पश्चिमी सिमाना) बाट साइकल हाँकेरै ३१ वटा जिल्लाको भ्रमण सिध्याए। त्यो यात्रामा दुई महिना १८ दिन लगाएपछि उनी फेरि फर्केर कैलाली पुगे।

यसबीच उनले बिहे पनि गरिसकेका छन्। श्रीमतीको पनि दाहिने खुट्टा सात इन्च छोटो छ। उनीहरुका सात वर्षे छोरी र पाँच वर्षे छोरा पनि छन्। श्रीमान श्रीमती मिलेरै उनीहरुले कैलालीको लम्कीमा ‘मुनलाइट टेलरिङ’ पसल खोलेका छन्। त्यो पसलबाटै घरको सम्पूर्ण खर्च बेहोरिन्छ।

कैलालीमा बसेरै पनि यामलालको सम्पर्क काठमाडौंमा साइकल हाँक्नेहरुसँग बढ्दै गएको छ। मधेस घुम्ने अभियानमा हिँडेका एक तन्नेरी इशान त केही वर्षअघि उनको घरैमा पुगेका थिए। उनैले बोलाएपछि यामलाल फेरि काठमाडौं आए। नेसनल कलेजमा एउटा कार्यक्रम राखेर इशानले आफूले चढ्ने साइकल यामलाललाई उपहार दिए। त्यसपछि १५ वटा कलेजमा लगेर यामलाललाई प्रवचन पनि दिन लगाए।

‘अहिले त म वक्ता पनि भइसकेको छु,’ उनले हाँस्दै थपे, ‘मेरो संघर्षको कुरा सुनेर मानिस प्रभावित भएको देख्दा आनन्द लाग्छ।’

पछिल्लो समय भने चार महिनाअघि असनस्थित काठमाडौंकै सबैभन्दा पुरानो साइकल पसल ‘प्याङ बाइक’ ले यामलाललाई सुविधाजनक साइकल दिएको छ। सुविधाजनक अर्थात् देब्रे पाइडलमा एउटा हुक छ जसको सम्पर्क जुत्तामा रहेको अर्को हुकसँग हुन्छ। यसरी त्यो साइकल र जुत्ताको हुक जोडिएपछि एउटै खुट्टाले साइकल कुदाउन कुनै समस्या पर्दैन।

‘सुरु सुरुमा यो हुक समयमै नछुट्टिदाँ साइकलसहित लडिन्थ्यो,’ उनी भन्छन्, ‘अब चाहिँ बानी परेर सजिलो भएको छ।’

यामलालको अबको सपना भनेको ‘पारा साइक्लिङ’ लाई नेपालमा पनि भित्र्याउने हो। त्यसैका माध्यमबाट अघि बढ्दै गएर पारा ओलम्पिकसम्मको प्रतिस्पर्धामा भाग लिने उनले उद्देश्य बोकेका छन्।

‘हातखुट्टा नभएर केही फरक पर्दैन,’ उनी प्रवचनकै शैलीमा बोले, ‘दिमाग सकारात्मक हुने हो भने सोचेको सपना पूरा हुन्छ।’

आफूले सफलता पाएर देखाइदिएको खण्डमा सन्तानमा अपांगता हुनेबित्तिकै दुःखमनाउ गर्ने र घरभित्र लुकाएर राख्ने अभिभावकहरुको मनोदशामा परिवर्तन आउने उनलाई विश्वास छ। आफ्नो लक्ष्यमा उनी थामिएका छैनन्। केही महिनापहिले मात्र ‘ओल्ड साइकल सेन्टर अफ्रिका’ ले यसै अगस्तदेखि सेप्टेम्बरसम्मका निम्ति पारा रोड साइकल ट्रेनिङ आयोजना गरेको थियो। नेपाल साइकल एशोसिएसनको सहयोगमा उनले आवेदन पनि दिए। तर, अहिलेसम्म ‘युनाइटेड साइकल युनियन’ ले आयोजना गरेको एउटै प्रतियोगितामा आफू सहभागी नभएकै कारण उनी छनौट प्रक्रियामा पर्न सकेनन्।

त्यस्तो प्रतियोगीता नेपालमा आयोजना हुँदैन।

‘भारतमा हुन्छ रे भन्ने सुनेको छु,’ उनले भने, ‘अब फेरि आयोजना भएछ भने जसरी भए पनि भारत पुगेर भाग लिनेछु।’

पोलियोका कारण एउटा खुट्टा छोटै भए पनि साइकल चलाउने केही मानिस नेपालमा छन्, तर आफूजस्तो एउटा खुट्टै नभए पनि साइकल चलाउने मानिस अरु कोही नभएकाले यस्ता कुरामा संगठित भएर लाग्न मुश्किल हुने गरेको उनले सुनाए। तै पनि उनले भेटेसम्मका कुनै पनि साइकलका अवसर छाड्ने गरेका छैनन्।

केही महिनाअघि उनले बुद्ध जयन्तीका अवसरमा आयोजना गरिएको ‘टुर द लुम्बिनी’मा पनि सहभागिता जनाएका थिए। काठमाडौंबाट साइकल हाँकेरै चन्द्रागिरि, चित्लाङ, पालुङ, हेटौंडा हुँदै लुम्बिनीसम्म ४ सय ७५ किलोमिटरको दुरी उनले साइकलमा छिचोलेका थिए। त्यतिबेला उनीबाहेक अन्य सबै ७५ जना नै सहभागी सामान्य अवस्थाका चालक थिए।

‘तै पनि म कोहीभन्दा कम थिइनँ,’ उनले थपे, ‘सँगसँगै यात्रा सम्पन्न गरेका थियौं।’ त्यसैगरि केही समयअघि धरानमा आयोजित ‘क्रसकन्ट्री रेस’ मा पनि उनले सामान्य साइकलयात्रीसँगै सरिक भएर सफलताका साथ पूरा गरेका थिए।

यसपटक काठमाडौं कोरामा भाग लिँदा उनले नयाँ कुरा के अनुभव गर्न पाए?

‘०५५ सालमा यो काठमाडौंमा मैले भर्खर साइकल चलाउन सिक्दा पनि सजिलै ओहोरदोहोर गर्न सकिन्थ्यो,’ उनी भन्छन्, ‘धुलो, धुवाँ र साघुरो हुँदै गएको बाटोले साइकल हाँक्नेहरुका लागि काठमाडौं एकदमै अप्ठ्यारो सहर बन्दै गएको छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.