रूपन्देहीको बगौली गाविस वडा नं. ८ ओडवलियास्थित प्रहरी चौकीमा एक्कासी आक्रमण भएपछि आईतवार सो क्षेत्र तनावग्रस्त बन्यो। सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता र प्रहरी बिच शनिबार दिनभर झडप भएको सो क्षेत्रमा आईतबार पनि दिउँसो साढे १२ बजेदेखि झडप भएको हो ।
प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना प्रहरीको दरबन्दी रहेको ओडवलीया प्रहरी चौकीमा एक सय ५० जना भन्दा बढीको संख्यामा आएको समूहले एक्कासी ढुंगा मुढा प्रहार गरी आक्रमण गरेको प्रहरीले जनाएको छ।
प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक प्रेम कुमार श्रेष्ठले थोरै संख्यामा रहेको प्रहरीमाथि एक्कासी आक्रमण भएको जानकारी सेतोपाटीलाई दिए ।
लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले घटनास्थललाई नियन्त्रणमा लिएको बताए। एसएसपी थापाले आक्रमणको क्रममा प्रहरीबाट खोसेर लगेको एसएलआर फेला परेको र ग्याँस गनको खोजी भईरहेको जानकारी दिए। लुटिएको एसएलआर मर्चवारको बगौली ६ मा बेवारिसे अवस्थामा फेला परेको हो।
शनिबार दिनभर सिके राउतका कार्यकर्तासँग झडप भएको र आईतबार प्रहरी माथि भएको आक्रमण पनि सोही समूहले गरेको प्रहरीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन आईतबार पनि केही राउन्ड हवाई फायर र अश्रु ग्यांस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
प्रर्दशनकारीहरुले ओडवलीया प्रहरी चौकीमाथि ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको ईलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक पदमराज थापाले सेतोपाटीलाई जानकारी दिए। ओडवलियामा भएको दोहोरो झडपमा पाँचजना घाईते भएका छन्।
यसैबीच स्वतन्त्र मधेस गठवन्धनको नाममा अलग मधेसको माग गर्दै आएका सिके राउतका ६ जना कार्यकर्तालाई रुपन्देहीमा रज्य बिद्रोहको मुद्दा चलाईएको छ। शनिबार रुपन्देहीको मर्चवारबाट पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आईतबार जिल्ला अदालत रुपन्देहीमा राज्य बिद्रोहको संगठीत अपराध गरेको अभियोगमा राज्य विरुद्धको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक धर्मराज भण्डारीका अनुसार रुपन्देही बोगडी ५ का उदिप यादव, बयरघाट ४ का मक्बुल अन्सारी, लुम्बिनी सांस्कृतिक नगरपालिका १९ का विकास प्रसाद लोध, रोहीनीहवा ४ का परमेस्वर यादव, कमरीया ८ का मुकेस साहनी र कपिलबस्तु मोतीभारीका जितेन्द्र चौधरीबिरुद्ध राज्य बिद्रोहको मुद्दा चलाईएको छ।
पक्राउ परेका व्यक्तिहरू जिल्लामा रहेर राउतको अभियानलाई साथ दिदै राज्य बिरुद्ध संगठीत अपराध गरेको उनले बताए । मुद्दा चलाईएका मध्ये धेरै जसो यसअघि पनि पक्राउ परेर छुटेका थिए। पक्राउ गरेर सचेत गराउँदै छाड्दा समेत राज्य बिरुद्धको अभियान नछाडेपछि उनिहरुलाई मुद्दा चलाईएको प्रहरीले जनाएको छ।
शनिबार मर्चवारबाट राउतका दुई दर्जन बढी कार्यकर्ता पक्राउ परेका थिए। पक्राउ परेका अन्यलाई छानबिन पछि छाडिएको छ। मर्चवारमा शनिबार स्वतन्त्र मधेसको नाममा आमसभा गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेकालाई रिहाईको माग गर्दै राउतका कार्यकर्ताले आईतवार पनि मर्चवारमा प्रदर्शन गरेका छन्।
आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै नारावाजी गरीरहेको समूहले मर्चवारको ओडवलिया प्रहरी चौकीमा एक्कासी आक्रमण गरे पछि शनिवार जस्तै आईतवार पनि मर्चवार अशान्त बनेको थियो।
बिद्यार्थीहरुलाई अगाडि लगाएर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले संयमता अपनाएका कारण ठूलो क्षति हुन नपाएको अञ्चल प्रहरी प्रमुख थापाले जानकारी दिए ।