सामाखुसी क्षेत्रमा वर्षेनी ‘डुबान’ किन?

रानीबारी उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद न्यौपाने र शुक्रबार नालामा डुबेकी स्कुले विद्यार्थी सत्या सापकोटा आइतबार घटनास्थलमा। तस्बिर: अनिश रेग्मी/सेतोपाटी


बर्खामा बेलाबेला राजधानीका सडक नदीजस्ता बन्छन्। केही बेरको भारी वर्षाले नै सडक कता नाला कता हो मेसो पाउन नसकिने अवस्था बन्छ। त्यसमाथि अचेल चक्रपथ विस्तार र मेलम्चीको पाइप बिछ्याउन खनेका खाल्डा, ठाउँठाउँमा राखिएका निर्माण सामाग्रीले झन् काठमाडौंका सडकलाई जोखिमयुक्त बनाएका छन्।

शुक्रबार साँझ सामाखुसी चोकमा स्कुलबाट घर फर्किरहेकी सत्या सापकोटा पानी भरिएको सडक छेउको नालामा डुबिन्। सामाखोसी, रानीबारी लगायत गोंगबु क्षेत्रमा बर्खा लाग्दा सडक मात्र होइन, पानी घरको आँगनसम्मै भरिएर आउँछ।

रानीबारी उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद न्यौपाने यसरी सामाखुसी क्षेत्र डुबानमा पर्नुका दुईवटा कारण रहेको बताउँछन्।

‘नारायण गोपाल चोकदेखि यताको पानीको निकास सामाखुसी खोलाबाट हुन्थ्यो,’ न्यौपानेले आइतबार सेतोपाटीसँग भने, ‘अहिले खोला सबै अतिक्रमित भएको छ, पानी आफ्नो प्राकृतिक ठाउँबाट बग्नै पाउँदैन अनि बस्तीतिर पस्छ।’

उनका अनुसार गत वर्ष पनि बर्खामा पानी आँगनसम्म पुगेको थियो।

देवीप्रसाद न्यौपाने

‘अर्को कारण सडकका दुवैतिर निर्माण सामग्री राखिएको छ, त्यो क्षेत्रमा पर्ने पानी अन्त बग्न पाउँदैन अनि सडकमै जम्मा हुन्छ,’ न्यौपानेले भने, ‘भएको एउटा नालामा पनि फोहोर थुपार्नाले पानी चाँडै बग्न पाउँदैन।’

एकातिर डुबानको समस्या, अर्कातिर खुला नाला भएपछि दिनदिनै २०/२५ जना डुब्ने बताउँछिन् सामाखुसी चोकमा ब्युटीपार्लर चलाउने मेनुषा गुरुङ।

‘यो वर्षमात्र हो र, वर्ष वर्षै यस्तै हुन्छ यहाँ त,’ उनले भनिन्, ‘कोही बाइकसँगै लड्छन्, कोही हिलोबाट जुत्ता निकाल्न सक्दैनन्। कोही दिनभरि रमिता हेरेर बस्छन्।’

मेनुषा गुरुङ

उपभोक्ता समितिका अध्यक्ष न्यौपाने शुक्रबार सत्या नालामा डुबेपछि यो कुराले राष्ट्रिय चासो पाएकाले अब यो क्षेत्रको डुबान हटाउन काम गर्नुपर्ने बताउँछन्। ‘यो त एउटा खतराको घन्टी भयो,’ न्यौपानेले भने, ‘अझ पनि सामाखुसी खोलाको अतिक्रमण रोकिएन र सडकको अवस्था सुधार भएन भने यस्ता अरु धेरै घटना हुन सक्छन्।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.