‘बालिका डुबेको खाल्डो मेलम्चीको होइन’


शुक्रबार स्कुलबाट फर्किएकी बालिका सत्या सापकोटा सामाखुसीको खाल्डोमा डुबेको घटनालाई लिएर राजधानीको सडक तथा ढल निकास बेथितिमाथि प्रश्न उठेको छ।

मेलम्ची खानेपानी आयोजना पछिल्लो समय सडक खन्ने कार्यमा सबभन्दा अगाडि छ। यही कारणले लामो समयदेखि निर्माणाधीन र राजधानीको धुलोधुवाँको कारण मानिएको मेलम्ची आयोजनालाई पनि शुक्रबारको घटनासँग जोडेर धेरैले औंला उठाए।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले भने उक्त खाल्डो मेलम्ची आयोजनाका क्रममा नबनाइएको बताएका छन्।

‘सामाखुसी क्षेत्रमा अहिले पाइप लैजाने हाम्रो योजनै छैन,’ ढकालले आइतबार सेतोपाटीसँग भने, ‘चक्रपथको ग्रिनबेल्टमा २७ किलोमिटर लामो रिङमेनको पाइप ओछ्याउने काम डेढ वर्ष पहिले नै सम्पन्न भइसकेको छ।’

बालिकालाई डुबाउने र बगाउने खाल्डो कसको हो भन्ने जानकारी आफूलाई पनि नभएको र यतिबेला यसै विषयलाई लिएर प्रधानमन्त्री कार्यालयमा डाकिएको बैठक निम्ति निर्देशनालयका निर्देशकसहित प्राविधिकहरु गएको ढकालले जानकारी गराए।

उनका अनुसार मेलम्चीको पाइप ओछ्याउने काम लगभग सकिइसकेको छ। ‘अब करिब ३–४ किलोमिटर मुख्य लाइन र ३०–४० किलोमिटर जति वितरणको लाइन मात्र ओछ्याउन बाँकी छ,’ प्रवक्ता ढकालले भने, ‘उपत्यकाभर छ सय १० किलोमिटर क्षेत्रमा सडक खनेर पाइप ओछ्याउने काम गरिसकेका छौं।’

ढकालका अनुसार वर्षातभरि सडक खन्ने काम नगर्ने निर्णयका कारण यतिबेला रोकिएको छ। अन्य प्राविधिक कामहरु मात्र भइरहेका छन्।
मेलम्चीको सुरुङ अब दुई किलोमिटरभन्दा केही मात्र बढी बाँकी रहेको अवस्थामा यता वितरणको प्रणाली पनि अन्तिम चरणमा पुगेको ढकालले बताए।

‘सुरुङबाट पानी आउनेबित्तिकै चावहिल र महांकालस्थित पुरानो रिजर्भ्वायर सञ्चालन गर्न तयार अवस्थामा जोडिसकेका छौं,’ ढकालले भने, ‘सुरुमा आएको पानीले एक चरण वासआउट र त्यसपछि डिसइन्फेक्सन गरेर पानी वितरण सुरु हुनेछ।’

सरकारले दसैंमा मेलम्चीको पानी खुवाउने घोषणा गरिसकेकोमा ढकालले भने दसैंबाट वितरण सुरु गर्न सकिने र त्यसको तीन-चार महिनाभित्रै उपत्यकाभर मेलम्चीको पानी पुगिसक्ने बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.