प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा आज साँझ ४ बजे हुने बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
सरकारले निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न बिहिबार निर्देशन दिएसँगै रूष्ट बनेको मोर्चासँग प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन्। यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १० गतेभित्र निर्वाचन गर्ने गरी तयारी थाल्न आयोगलाई निर्देशन दिने निर्णय गरेको थियो।
मधेसी मोर्चा नेताहरूले संविधान संशोधन विधेयक टुंगो नलगाई चुनाव मिति घोषणा गर्न सरकार अघि सरेर आफूहरूलाई धोका दिएको आरोप लगाएका छन्। उनीहरूले संविधान संशोधन नभएसम्म निर्वाचन हुनै नदिने चेतावनीसमेत दिएका छन्। उनीहरूले समझदारी भंग गर्ने काम सरकार आफैंले गरेको बताएका छन्।
‘मोर्चासँग तीनबुँदे सम्झौताको आधारमा यो सरकार गठन भएको थियो, त्यही उल्लंघन गरी प्रधानमन्त्री चुनावमा जानुभयो,’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सेतोपाटीलाई भने, ‘संशोधन विधेयक पारित नहुँदासम्म र स्थानीय तह पुन:संरचना आयोगको प्रतिवेदन फेरबदल नहुँदासम्म हामी चुनावमा जाँदैनौं।’
महतोले सरकारले घोषणा गरेको चुनाव बहिष्कार गर्नेसमेत चेतावनी दिए।