सुर्खेतमा खाल्डोमा डुबेर दाजु-बहिनीको मृत्यु भएको छ।
वीरेन्द्रनगर नगरपालिका–९ मा ७ वर्षीय खेमराज र ५ वर्षीया दिपिका कटुवालको मृत्यु भएको हो। उनीहरू टेकबहादुर कटुवालका छोराछोरी हुन्।
सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–९ चिलखायाको कटुवला परिवार सुर्खेतमा बस्दै आएको थियो। बालबालिका आफूहरू बस्ने घर नजिकै निर्माणाधीन नयाँ घरको कम्पाउन्डमा खेल्दै पुगेका थिए।
खेल्ने क्रममा दाजु-बहिनी पानी भण्डारणको लागि खनिएको खाडलमा पसेको प्रहरीको अनुमान छ।
सोमबार साँझ दाजु-बहिनी सोही खाडलमा डुबेको अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले खाडलबाट अचेत अवस्थाका दुई बालबालिकालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्याएको थियो।
चेकजाँचपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।