सल्यानमा बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ।
जिल्लाको कालिमाटी गाउँपालिका– ६ हात्तीढुंगाका ६५ वर्षीय चन्द्रबहादुर खप्पतडीको शव मंगलबार बिहान सवा ११ बजेतिर फेला परेको हो।
घरदेखि अन्दाजी २ किलोमटिर उत्तर पूर्वको शान्ति सामुदायिक वनमा दायाँ खुट्टाको भाग घुँडासम्म खाएको अवस्थामा शव फेला परेको छ।
प्रहरी चौकी घुइँयाबारीमा खोजीका लागि घर परिवारले खबर गरेपछि प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको कमाण्डमा तीन जनाको प्रहरी टोली र बाँके राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट घुइँया बारीबाट जमदार यज्ञबहादुर कुमालको कमान्डमा सात जना नेपाली सेनाको टोली र स्थानीयबासी खोजी कार्यमा जाँदा शव फेला परेको हो।
प्रहरीका अनुसार सोमबार दिउँसो १२ बजेतिर खप्ततडी घरदेखि करिब तीन सय मिटर टाढा रहेको घट्टमा पिठो पिसाउनका लागि भनेर गएका थिए। तर, उनी फर्किएर आएका थिएनन्। घर परिवारले उनी बाघको आक्रमणमा परेको आशंकासहित राति पौनै १० बजेतिर मात्रै प्रहरीमा खबर गरेका थिए। खोजी गर्ने क्रममा बाघले खाएको अवस्थामा बिहान शव फेला परेको हो।
सल्यानकै कालिमाटी गाउँपालिका–७ पर्सेनीकी ४२ वर्षीया धनसरी रावतको पुस २५ गते घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट मृत्यु भएको थियो।
शुक्रबार मात्रै बिहान ८ बजेतिर घरबाट हरियाली सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी थिइन्।
दिउँसो सवा ३ बजेतिर घर परिवारले धनसरी बाघको आक्रमण परेको हुन सक्ने भन्दै प्रहरी चौकी घुइँयाबारी, सल्यानमा जानकारी गराएका थिए।
सूचनाको आधारमा साढे ३ बजेतिर प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको नेतृत्वमा प्रहरी टोली स्थानीयवासी सहित खोजीमा गएको थियो।
उक्त टोलीले बेलुकी ५ बजेतिर घरदेखि पाँच सय मिटर दक्षिणमा पर्ने हरियाली सामुदायिक वनमा शरीरको बायाँ खुट्टा र मलद्वार पूरै खाएको अवस्थामा धनसरीको शव फेला पारेको थियो।
त्यस्तै सोही बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र पुस २३ गते सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानीकी ५७ वर्षीया गंगा सारूको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो।
बुधबार बिहान स्थानीय सालघारी वनमा घाँस काट्न गएका गंगाका दुई नातिनीले गंगाको लगाउने कपडा, चप्पल फेला पर्नुका साथै रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यो सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बबईबाट प्रहरी टोली, नेपाली सेनाको टोली, वनको कर्मचारी र स्थानीय जनप्रतिनिधि गरी २५ जनाले खोजीमा गएको थियो।
बिहान साढे १० बजेतिर कपडा फेला परेको ठाउँदेखि करिब ६०० मिटर पूर्वतर्फ गंगाको टाउको फेला परेको थियो। रगतका दागहरू पच्छ्याउँदै जाने क्रममा साढे ११ बजेतिर ३०० मिटर पश्चिममा बायाँ खुट्टा, बायाँ हात र कम्मरको भाग मासु खाएको अवस्थामा फेला परेको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए। घर परिवारका अनुसार मंगलबार बिहान ८ बजेतिर गंगा घरबाट निस्केकी थिइन्। गंगाको कपडा फेला परेको स्थान उनको घरदेखि जम्मा १०० मिटर उत्तरमा थियो।
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका – १ सौरी ६१ वर्षीय मरिचमान भण्डारीको गाई वस्तु चराउन गएको समयमा पुस २१ गते बाघको आक्रमणबाट मृत्यु भएको थियो।
बर्दियामा यही वर्ष एकै महिनामा तीन जनाको त्यस्ता हिंस्रक जन्तुको आक्रमणबाट मृत्यु भएको तथ्यांक छ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका पदाधिकारी तथा सरोकारवालाका बीचमा यो विषयमा छलफल भई समस्या ग्रस्त तथा त्यस्ता हिंस्रक वन्यजन्तुलाई नियन्त्रणमा लिने निर्णय भएको थियो।
केही दिन पहिले जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफलबाट त्यस्ता समस्याग्रस्त तथा हिंस्रक बाघ तथा चितुवाको तत्काल पहिचान गरी नियन्त्रणमा लिने तथा व्यवस्थापन गर्ने निर्णय भए पनि त्यो अनुरूप काम हुन सकेको छैन। घटना भएका ठाउँमा मानिसमाथि आक्रमण गर्ने बाघको पहिचान गर्न क्यामरा जडान गरिँदै आएको बताइन्छ।
सरोकारवाला निकायबीच समन्वय गरी क्यामरा प्रयोग गरेर हिंस्रक वन्यजन्तुको पहिचान गर्ने, नियन्त्रणमा लिने र व्यवस्थापन गर्ने निर्णय त्यो छलफलले निष्कर्ष निकालेको थियो। उनीका बीचमा स्थानीय प्रहरी, नेपाली सेना लगायत परिचालन गर्ने जस्ता भएको सहमति अनुसार काम भइरहेको बताइए पनि बाघ र मानव बीचको द्वन्द्व भने थप चुलिँदो मात्रामा देखिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरूङ, बर्दियाका सहायक प्रजिअ अशोककुमार भण्डारी, डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ता, बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल छलफलमा सहभागी थिए।
त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक राम, डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरी, बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति बाँकेका अध्यक्ष लोकेन्द्रबहादुर खत्री, बाँके र बर्दियास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिका बीचमा उक्त छलफल भएको थियो।