बारा पर्सा औद्योगिक करिडोरका उद्योगका कारण प्रदूषित सरिसवा (सिर्सिया) नदी बचाउन वीरगञ्ज युवा जागरूक भएका छन्।
उनीहरूले नदी प्रदूषणबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराउन शनिबार बिहान नदीको पानी संकलन गरेका छन्।
वीरगञ्जको रानीघाट स्थित छठघाट परिसरबाट युवा अभियानीहरूले प्लास्टिकको बोतलमा नदीको पानी संकलन गरेका हुन्। त्यो पानी लगेर जिल्ला प्रशासन कार्यालय, पर्सा र वीरगञ्ज महानगरपालिकालाई बुझाइएको युवा अभियानी किसु सर्राफले जानकारी दिए।
उनीहरूले शनिबारदेखि ‘सिर्सिया नदी बचाउ अभियान’ सुरु गरेका छन्। नदीलाई प्रदूषणमुक्त बनाउन निरन्तर दबाब दिने उनीहरूको भनाइ छ।
वीरगञ्जको प्राकृतिक धरोहर सिर्सिया नदी बचाउन अभियान सञ्चालन गरिएको युवा अभियानी राजन श्रीवास्तव बताउँछन्।
उनीहरूले शुक्रबार सामाजिक सञ्जालमा ‘सिर्सिया नदीको आवाज सुनौँ, प्रदूषणको अन्त्य गरौँ’, ‘कसले सुन्ला हाम्रो पुकार ?’ ‘सिर्सिया नदीमाथिको अत्याचार, जवाफ दे सरकार।’ लगायतका नारा सहितको फोटो पोस्ट गर्दै दबाबमूलक अभियानका लागि आह्वान गरेका थिए।
०६७ सालमा गठन भएको सिर्सिया नदी अनुगमन समितिले नदी प्रदूषणमा संलग्न रहेका उद्योगको नाम सहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएको थियो। वीरगञ्ज महानगरपालिकाले गठन गरेको सिर्सिया अनुगमन समितिले पनि पटक पटक अनुगमन गरेको छ।
महानगरका उपप्रमुख इम्तियाज आलम नेतृत्वमा गठित सिर्सिया अनुगमन समितिले विभिन्न उद्योगको स्थलगत अनुगमन गर्दा अधिकांश उद्योगले फोहोर तथा रसायनयुक्त फोहोर पानी प्रशोधन नगरी नदीमा खसाल्दै आएको पाइएको थियो।
सिर्सिया बाह्रै महिना बग्ने नदी हो। बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ स्थित रामवन झाडीमा यसको मुहान छ। परवानीपुरको दक्षिणमा कियासुत नदी आएर मिसिन्छ। बौदी खोलाको पानी पनि सिर्सियामा आउँछ। तर, नदी बगेर वीरगञ्ज आउँदै गर्दा औद्योगिक प्रदूषणको चपेटामा पर्छ।
सिमरा, जितपुर, नितनपुर, छातापिपरा, परवानीपुर र वीरगञ्ज क्षेत्रमा उद्योग–कारखाना बाक्लिँदै जाँदा सिर्सिया प्रदूषित हुने क्रम बढेको हो।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका छाला, स्टिल, सिमेन्ट, डिस्टिलरी, टेक्सटाइल, घ्यू, साबुन, औषधि उद्योगबाट निस्कने रसायन तथा विकार प्रशोधन नगरी नदीमा खसालिन्छ। छाला उद्योगबाट निस्कने लेदो शुद्धीकरण नगरी नदीमा बिसर्जन गर्ने गरेको आरोप लाग्दै आएको छ। स्थानीयले पनि फोहोर नदीमै फाल्छन्।
वीरगञ्ज रानीघाटका पन्नालाल साहले उद्योगहरूले नदीलाई नालामा परिणत गरेको गुनासो गरे।
‘फ्याक्ट्रीको फोहोर पानी नदीमा खसाउँछन्, त्यसैले पानी कालो छ, पानी यस्तै हुन्छ ? नाला जस्तै छ,’ उनले भने।
उद्योगहरूको स्थापनापछि नदी नालामा परिणत भएको उनको भनाइ छ।
‘वीरगञ्जका मेयरले पनि नदीमा सुधार हुन्छ भनेका थिए। तर हुन सकेको छैन। उद्योग पानी प्रशोधनका लागि खर्च गर्न तयार छैन। कसरी सुधार हुन्छ थाहा छैन,’ पन्नालाल भन्छन्, ‘भन्दै–भन्दै हामी त थाकिसक्यौँ, अब बुढो पनि भयौँ।’
अब नदीको अवस्थामा युवाले नै सुधार ल्याउन सक्ने उनको भनाइ छ।
तस्बिरहरूः
-ink-1766211099.jpeg)
-ink-1766211097.jpeg)
-ink-1766211098.jpeg)
-ink-1766211098.jpeg)
-ink-1766211098.jpeg)