नेपालका दुई वटा हात्तीहरू बुधबार कतार उडेका छन्। भैरहवा विमानस्थलबाट कतार एयरको विमान चढाएर उनीहरूलाई कतार लगिँदैछ।
२०८१ वैशाख ११ र १२ गते भएको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो। त्यसपछि हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्तीहरू कतारलाई दिन छनोट गरिएको थियो।
नेपालले अन्य देशलाई हात्ती उपहार दिएको पहिलो पटक हो। यसअघि विभिन्न देशलाई एक सिंगे गैंडा भने नेपालले उपहारका रूपमा पठाएको थियो।
७ वर्षकी रूद्रकली र ५ वर्षको खगेन्द्र प्रसादलाई खोरमा राखेर जहाज चढाइ बिदा गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए।
भैरहवा विमानस्थलमा नेपालले हात्तीहरू कतार सरकारलाई हस्तान्तरण गरेको थियो।

कतारले चार्टर विमानमार्फत हात्तीहरू लगेको हो। यसअघि सोमबार खोरसहित हात्तीहरूलाई ट्रक चढाएर चितवन सौराहाबाट भैरहवा पठाइएको थियो। सौराहामा वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाई हात्तीहरूलाई बिदा गरिएको थियो।
रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्र प्रसादका माउते पाचुखा थारू पनि उनीहरूसँग कतार गएका छन्। साथमा एक जना भेटेरिनरी प्राविधिकलाई पनि पठाउन लागिएको निकुञ्जले जानकारी दियो।
रूद्रकली र खगेन्द्रप्रसाद दुबैका बाबु जंगली हात्ती रोनाल्डो रहेको रेकर्ड प्रजनन् केन्द्रमा छ।
रूद्रकलीलाई पूजाकली र खगेन्द्र प्रसादलाई कोशीकलीले जन्माएका हुन्। पूजाकलीको रूद्रकलीलाई जन्माएको केही समयमा मृत्यु भएको थियो। त्यसपछि रूद्रकलीलाई चितवनकली नामको हात्तीको संरक्षणमा हुर्काइएको प्रजनन् केन्द्रका प्रमुख चौधरीले बताए।
खगेन्द्र प्रसादकी आमा कोशीकली प्रशीक्षक हात्ती हुन्। कोशीकली निडर हात्ती भएकाले छावाहरूलाई तालिम दिन प्रयोग गर्ने गरिएको चौधरीले बताए।
प्रजनन् केन्द्रमा अहिले ७ छावासहित १६ वटा हात्ती छन्। २०४४ सालमा भारतले उपहारस्वरूप दिएका १६ हात्तीलाई राखेर प्रजनन् केन्द्र सञ्चालनमा ल्याइएको थियो। त्यतिखेर हात्तीको बदलामा नेपालले भारतलाई ४ वटा एक सिंगे गैंडा दिएको थियो। नेपाललाई थाइल्याण्ड र बर्माले पनि २/२ वटा हात्ती दिएका थिए।
हालसम्म नेपालले विभिन्न देशलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ। एक सय २० वटा घडियाल र मगर गोहीका अन्डा पनि उपहार दिइएको छ।
नेपाल सरकारले हालसम्म चीन, भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रेलिया लगायत देशलाई गैंडा उपहार दिएको छ।
