बाराको सिमरामा प्रदर्शनमा उत्रिएका जेनजी युवा समूह र सुरक्षाकर्मीबीच झडप हुँदा चार जना घाइते भएका छन्।
घाइते हुनेहरूमा निशान्त श्रेष्ठ, सन्देश घिमिरे, सुमित चौधरी, निलहरी सापकोटा छन्।
४ जना घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ भने दुई जनाको सिमरामै रहेको सिमरा अस्पतालमा उपचार भइरहेको छ।
अहिले सिमरामा कर्फ्यु लगाइएको छ।
अहिले १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
वीरगञ्ज पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्कापुलसम्म राजमार्गको दाया बायाँ ५ सय मिटर र सिमरा विमानस्थलको ५ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र (ख) अनुसार ती स्थानमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा उल्लेख छ।
जेनजीका अगुवालाई कुटपिट गर्ने एमालेको भ्रातृ संगठन युवासंघका कार्यकर्ताहरूलाई कारबाहीको माग राख्दै उनीहरूले बिहीबार पनि प्रदर्शन गरेका थिए।
जेन–जी युवाहरूले सिमरा चोकमा प्रदर्शन गरेपछि त्रिभुवन राजपथको वीरगञ्ज पथलैया खण्डमा यातायात अवरूद्ध छ।
सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले झडपको क्रम रोकिए पनि युवाहरूले प्रदर्शन जारी राखेको बताए।
उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार केही सेल अश्रुग्यास प्रहार गरिएको थियो।
राजमार्गमा प्रदर्शन जारी रहेका कारण सवारी आवागमन ठप्प छ।
देशकै प्रमुख भन्सार वीरगञ्ज भन्सारबाट छुट्ने मालवाहक सवारी साधन र वीरगञ्जबाट देशका विभिन्न स्थानका लागि छुट्ने र वीरगञ्ज आउने सवारी साधन बाटोमा रोकिएका छन्।