रूकुम पश्चिममा शुक्रबार साँझ भएको जिप दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार उनीहरू 'मण्डली' मा सहभागी भएर घर फर्किँदै थिए।
त्रिवेणी गाउँपालिकाको सिमरूतस्थित चर्चको मण्डलीमा सहभागिता जनाएर घर फर्किँदै गर्दा दुर्घटना भएको आठबिसकोट नगरपालिका–२ का वडाध्यक्ष देवबहादुर ऐरीले बताए।
'सबै जना मण्डलीमा गएर फर्किरहेका क्रिश्चियन धर्मावलम्बीहरू हुन्। उनीहरूको दुःखद मृत्युले वडाबासी नै स्तब्ध भएका छन्,' वडाध्यक्ष ऐरीले भने।
उनका अनुसार अर्को जिपमा अरू स्थानीयहरू पनि मण्डलीमा सहभागी हुन गएका थिए।
दुर्घटनामा परेको जिपभित्र १९ जना र छतमा करिब ६ जना सवार रहेको उनले बताए। छतकाले हाम फालेर ज्यान जोगाउन सफल भएको पनि उनले जानकारी दिए।
स्यालाखाँदीबाट मुसिकोट जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप शुक्रबार साँझ साढे ५ बजे दुर्घटनामा परेको हो। जिप सडकबाट झन्डै ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको जिप स्थानीय प्रेम ऐरीको हो। उनकै अर्को जिपका चालक भुवन कुसारीका अनुसार उकालो उक्लिने क्रममा ढुंगामा ठोक्किएर जिपको मेनपट्टा भाँचिएपछि जिप पछाडि सरेर सडकबाट तल खसेको हो।
'उकालो निकै ठाडो थियो। ढुंगामा पट्टा भाँचिएपछि जिप ब्याक भएर खस्यो,' भुवनले भने, 'दुर्घटनाको खबर पाउनासाथ हामी अर्को गाडी लिएर घटनास्थल पुग्यौं। पाँच जना घाइतेलाई मैले अस्पताल पुर्याएँ।'
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।। उनले अहिले आफू अस्पतालतिर जाँदै गरेको र विस्तृत विवरण अनुसन्धानपछि खुल्ने बताए।
दुर्घटनामा मृत्यु भएका सात जनामध्ये ६ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।
मृतकमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, आठबिसकोट–२ का १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट–१५ की दिलमाया बुढा, आठबिसकोटकै १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक र २२ वर्षीय गोपाल वली छन्। एक मृतक महिलाको पहिचान भने खुल्न बाँकी छ।
प्रहरी निरीक्षक पुनका अनुसार घाइते १० जनाको पनि परिचय खुल्न बाँकी छ। सबै घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाइएको छ।