कैलालीको गोदावरी नगरपालिका–१० खमैराका ३५ वर्षीय शेरबहादुर चौधरी मृत्यु प्रकरणमा दुई जनाविरूद्ध परिवारले कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छन्।
मृतक चौधरीका परिवारले छिमेकी ३२ वर्षीय लक्की मल्ल र उनका भाइ २६ वर्षीय विकास मल्लका विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले बताए।
असोज २३ गते राति मल्ल दाजुभाइ व्यक्तिगत रिसइबीलाई लिएर चौधरीको घरमा पुगेका थिए। उनीहरूले आक्रमण गरी ढोका फोडेर ज्यान मार्ने धम्की दिँदै लल्कार्दै गर्दा चौधरीले ज्यान जोगाउन मध्यरातिमा घरदेखि भागेका थिए। २४ गते बिहान शेरबहादुर नजिकैको खोलामा मृत फेला परेका थिए।
चौधरीको मुखबाट रगत बगेको अवस्था देखिएको थियो। यद्यपी उनको मृत्युको कारण पोष्टमर्टमको रिपोर्ट आएपछि मात्रै भन्न सहज हुने डिएसपी सिंहले बताए।
युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा ११ जना पक्राउ
कैलालीमा डडेल्धुराका एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।
कैलालीको गोदावरी नगरपालिका–४ स्थित ‘शुभम होटलमा’ खाना खाइरहेको समयमा आइतरबार राति एक समूहले डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गौरव ऐरमाथि खुकुरी प्रहार गरी सक्त घाइते बनाएको थियो। नेपालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ऐरलाई छिमेकी देश भारतमा पुर्याइएको छ।
ऐरमाथि खुकुरी प्रहार गरी भारततर्फ भाग्न खोजी रहेकामध्ये धनगढी उपमहानगरपालिका–२ का २९ वर्षीय भिम भनिने सन्नी नेपालीसहित ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनीहरूलाई सीमा नाकाबाट पक्राउ गरेको थियो।