चितवन प्रशासनले शनिबार साँझ ६ बजेदेखि नारायणघाट–मुग्लिन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रातको समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर सवारी आवागमनमा रोक लगाइएको जानकारी दिए।
आइतबार बिहानसम्मका लागि यातायात बन्द गर्ने निर्णय गरिएको हो। आइतबारको बसहानको अवस्था हेरेर थप निर्णय गरिने जानकारी अर्यालले दिए।
सवारी साधन रोकिँदा अलपत्र परेका यात्रुहरूलाई २५ प्रतिशत मात्रै कोठा भाडा लिएर राख्न होटल व्यवसायी संघ चितवनसँग सहमति भएको उनले बताए।
चितवनका एसपी गोविन्द पुरीका अनुसार अहिले सडकमा ४०–५० वटा गाडी रोकिएका छन्। दुई सय जनाभन्दा बढी यात्रु अलपत्र परेका छन्।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष कृष्ण भट्टले अलपत्र यात्रुको व्यवस्थापनमा सहजीकरण गर्ने बताए।
'यात्रुको अवस्था हेरेर अझै धेरै सहयोग गर्न सकिन्छ। २५ प्रतिशत मात्रै भाडा लिएर कोठा उपलब्ध गराउने त सहमति भइसकेको छ,' उनले भने, 'हामीसँग तीन सय होटल छन्। १२ सय जनाभन्दा बढी यात्रुलाई राख्ने क्षमता छ।'
क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष सुवास चन्द्र गौतमले पनि यात्रुहरूको व्यवस्थापनमा सघाउन तयार रहेको बताए।
उनले आफ्नो होटल 'साथी' मा ४० जना यात्रुलाई निःशुल्क राख्ने व्यवस्था मिलाउने बताए। अन्य होटल व्यवसायीलाई पनि अनुरोध गर्ने उनले बताए।